काठमाडौं - सरकारको सुशासनको नीतिअनुसार स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउनका लागि वीर अस्पतालले बिरामीमैत्री सेवामा जोड दिएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेत अस्पताल प्रशासनले स्वास्थ्य सेवालाई पहुँचयोग्य तथा सहज बनाउनका लागि सुधारका विभिन्न कामहरू गरिरहेको बताउँछन्।
त्रिवि शिक्षण, गङ्गालाल लगायतका अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गरेपछि वीर अस्पतालमा बिरामीको बढ्दो चापलाई अस्पतालले सकेसम्म व्यवस्थित बनाउन प्रयास गरेको उनले जानकारी दिए।
‘ओपिडीमा आउने बिरामीको संख्या बढेको छ,’ उपकुलपति प्रा.डा. बस्नेतले भने, ‘यसलाई व्यवस्थित गर्नका लागि विभिन्न उपायहरू अपनाएका छौँ।’
वीर अस्पतालमा हाल सरसफाइमा जोड, टिकट काउन्टरलाई बढाएर पुरानो र नयाँ भवनका गरी १३ वटा पुर्याइएको, बैंकमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि क्यूआर प्रणालीको विकास तथा बैंक काउन्टर थप, अनलाइन प्रणालीबाटै ल्याब रिपोर्ट पाउन सक्ने व्यवस्था, स्वचालित रिपोर्ट मुद्रण प्रणाली, अनलाइन टिकटको व्यवस्था, बिरामी तथा आफन्तलाई अस्पतालमा आइसकेपछि बस्नका लागि कुर्सी थप गरिएको र फार्मेसी सेवालाई थप व्यवस्थित बनाउनका लागि जनशक्ति थप गरिएको उपकुलपति प्रा.डा. बस्नेत बताउँछन्।
शनिबार र आइतबार दुई दिन अस्पताल बन्द हुँदा रोकिने शल्यक्रिया लगायतका सेवालाई अन्य दिनका लागि व्यवस्थापन गरिएको उनले जानकारी दिए। दुई दिन बिदा हुँदा बिरामीलाई परेको मार कम गर्नका लागि अस्पताल केही छिटो खोल्ने विषयमा आन्तरिक छलफल गरिरहेको प्रा.डा. बस्नेत बताउँछन्।
२४सै घण्टा आकस्मिक शल्यक्रिया हुन सक्ने व्यवस्था, शल्यक्रियाका मितिहरूलाई पुन:स्थापन गरिएको तथा बिरामीलाई असुविधा नहोस् भन्नेमा अस्पताल प्रशासन सजग रहेको उनको दाबी छ। बिरामीले असहज तथा असुविधा महसुस गरेको अवस्थामा गुनासो पेटिकामार्फत प्रशासनलाई जानकारी गराउन सक्ने व्यवस्था समेत गरिएको छ।