काठमाडौं- सरकारले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक चिकित्सकहरूलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो।
यसअघि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले सोझै अध्यक्ष नियुक्त गर्ने परम्परा रहे पनि यसपटक भने सरकारले आवेदन माग गर्दै प्रतिस्पर्धात्मक विधि अपनाएको छ। अस्पतालको ऐन २०५३ को प्रावधान अनुसार अध्यक्ष बन्नका लागि चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। योग्यताका लागि क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएको वरिष्ठ चिकित्सक हुनुपर्ने मापदण्ड तोकिएको छ।
तीन वर्षे कार्यकाल रहने यस पदमा यसअघि डा. विजयराज न्यौपाने कार्यरत थिए। २० चैत २०७९ मा नियुक्त भएका न्यौपानेको कार्यकाल समाप्त भएसँगै रिक्त रहेको स्थानमा नयाँ नेतृत्व चयन गर्न लागिएको हो।