काठमाडाैं- बलिउड अभिनेता इरफान खानकाे निधन भएकाे छ। अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उनकाे आज निधन भएकाे हाे।
उनकाे ५४ वर्षकाे उमेरमा निधन भएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् इरफानलाई मुम्बईस्थित कोकीलाबेन अस्पतालमा आइसियूमा भर्ना गरिएको थियाे।
खान हालैमात्र क्यान्सरबाट पीडित भएका थिए। खानलाई न्युरोएडोक्राइन ट्युमर भएको थियो। इरफानको उपचार चलिरहेका कारण उनी लामो समयदेखि बलिउडबाट टाढा रहेका थिए।
हालैमात्र इरफानकी आमा सइदा बेगमको निधन भएको थियो। उनले आमाभन्दा टाढा भएकाले भिडियो कन्फ्रेन्सबाट आमाको अन्तिम दर्शन गरेका थिए।
हालै उनको फिल्म अंग्रेजी मिडियम रिलिज भएको थियो। कोरोना भाइरसका कारण उनको फिल्म व्यवसायिक रुपमा सफल भएको थिएन।
इरफानलाई लागेको रोग इन्डोक्राइन ट्युमर अर्थात एक दुर्लभ किसिमको रोग हो। जसले रक्तकोसिकाका लागि हर्मोन उत्पादन गर्ने कोषहरुमा प्रभाव पार्ने गर्दछ। यस सम्बन्धमा इरफानले आफू एक दुर्लभ रोगबाट ग्रसित भएको भन्दै पहिलोपटक मार्च ५ मा ट्विट गरेका थिए। यसपछि मात्रै उनलाई क्यान्सर भएको कुरा प्रकाशमा आएको थियो।
बलिउडका समानन्तर तथा कलामा आधारित स्वतन्त्र फिल्महरुमा फरक खालका भूमिकामार्फत् चर्चित, अभिनेता खानलाई अन्तर्राष्ट्रिय सिनेमाका क्षेत्रमा भारतका तर्फबाट प्रतिनिधित्व गर्ने उत्कृष्ट कलाकारको रुपमा समेत लिने गरिन्छ।
हलिउड फिल्मसहित उनले हालसम्म १ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। उनले लाइफ अफ पाई, जुरासिक वल्र्ड, स्लमडग मिलिनियरजस्ता चर्चित फिल्महरुमा प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन्।
इरफानले फिल्म ‘पान सिंह तोमर’का लागि सन् २०१३ मा भारतको राष्ट्रिय चलचित्र पुरस्कार हात पारेका छन्। सन् २०१३ मा नै फिल्म ‘लन्च बक्स’का लागि क्यानिज फिल्म फेस्टिबलमा उनले ‘भ्युअर चोइस अवार्ड’ पनि प्राप्त गरेका थिए।
यो पनि :
क्यान्सर भएपछि इरफान खानले लेखेको पहिलो पत्र: कसैले मेरो ढाडमा प्याट्ट हान्यो र भन्यो– तपाईंको स्टेशन आउँदैछ, कृपया ओर्लनोस्
केही महिना पहिले मात्र थाहा भयो कि, मलाई न्युरो- इन्डोक्राइन क्यान्सर भएछ। यो रोगको बारेमा मैले पहिलोपटक सुनिरहेको थिएँ। त्यसैले यसबारे मैले खोज गरें। र, पत्ता लगाएँ, यो क्यान्सरको बारेमा धेरै सोधखोज भएकै रहेनछ। रोगको यो एक दुर्लभ शारीरिक अवस्था मात्र होइन, यसको उपचार पनि अनिश्चित नै रहेछ।
अहिलेसम्म मेरो जीवनको गति राम्ररी नै चलिरहेको थियो। मसँगै योजना, आकांक्षा, सपना र इच्छा अगाडि बढिरहेका थिए।
यस्तो सौच्दै गर्दा कसैले मेरो ढाडमा प्याट्ट हान्यो र भन्यो, ‘तपाईंको स्टेशन आउँदैछ, कृपया ओर्लनुस्।’
मैले भेउ पाउन सकिनँ र भनें, ‘हैन, हैन, मेरो स्टेशन आउन अझै बाँकी छ।’ जवाफ आयो, ‘अगाडिको कुनै स्टेसनमा तपाईं झर्नुपर्ने हुन्छ। तपाईंको गन्तव्य आइसकेको छ।’
अचानक मलाई महसुस हुन्छ कि म कुनै त्यस्तो तैरिने वस्तु हुँ, जुन एउटा अन्जान सागरको तुफानी छालमा बगिरहेको छु।
यस्तो हतास, हड्बडाहट, बेचैनी र डरको अनुभूति म आफ्नो छोरालाई भन्दछु। आजको यो अवस्थामा म यति मात्र चाहन्छु, म यस्तो हडबडाहट र डरको स्थितिमा बाँच्न चाहन्नँ। मलाई कुनै पनि हालतमा मेरा पाउहरु चहियो, जसमा म उभिएर आफ्नो हालतमा तटस्थ बनाएर बाँच्न पाउँ। वास्तवमा म उभिन चाहन्छु।
यस्तो मेरो मनसाय थियो, मेरो योजना थियो....।
केही हप्तापछि म लन्डनको एउटा अस्पतालमा भर्ना भएँ। गहिरो दुखाइ महसुस भइरहेको थियो। दुखाइ हुन्छ भन्ने पनि थाहा थियो। तर यस्तो दुखाइ कि, सहन पनि गाह्रो पर्ने दुखाइ। दुखाइ मप्रति निर्मम थियो। यसले केही गरिराखेको थिएन। न त केही सान्त्वना, न केही भरोसा। दुखाइ सायद भएभरको निर्दयीपना लिएर आएको थियो। यस्तो दुखाइ सायद भगवानभन्दा पनि विशाल लागिरहेको थियो।
म जुन अस्पतालमा भर्ना भएको छु, यसमा एउटा बाल्कोनी पनि छ। यहाँबाट बाहिरको दृश्य अवलोकन गर्न मिल्छ। ‘कोमा वार्ड’ ठीक मेरो माथिपट्टि छ। सडकको एकापट्टि मेरो अस्पताल छ र अर्कोतर्फ लर्ड्स स्टेडियम छ। त्यहाँ विवियन रिचर्डस् मुस्कुराउँदै गरेको पोस्टर टाँसिएको छ। मेरो बालापनको सपना र भगवान उसलाई देख्नेबित्तिकै मलाई महुसुस नै भएन कि त्यो दुनियाँ सायदै मेरो थियो।
म दुःखाइले जेलिएको छु।
र, फेरि एक दिन यस्तो महसुस भयो कि म कुनै चिजको हिस्सा होइन। मभित्र केही बाँकी छैन भन्ने लाग्यो। न यो अस्पताल न स्टेडियम।
मनले भन्यो, केवल अनिश्चितता नै निश्चित हो।
यो अनुभूतिले मलाई समर्पण र भारोसाका लागि तयार गर्यो। अब चाहे जे भए पनि नतिजा आओस्। यसले जहाँसुकै लैजाओस्। आजभन्दा ८ महिनापछि या चार महिनापछि या फेरि २ वर्षपछि। चिन्ता पनि जाग्दै बिलाउँदै जान थाल्यो। फेरि मेरो दिमागबाट जिउने मर्नेको हिसाब निक्लियो।
पहिलोचोटी मलाई शब्द ‘स्वतन्त्र’ को बारेमा बोध भयो। सही अर्थमा एउटा उपलब्धिको बोध।
यस सृष्टिको खेलामा मेरो विश्वास नै पूर्ण सत्य बन्यो। त्यसपछि लाग्यो, यो विश्वास मेरो एक-एक कोषिकाभित्र पसिसकेको छ। समयले नै बताउनेछ कि त्यो बस्नेछ या छैन, तर अहिले भने म यही महसुस गरिरहेको छु।
यो यात्रामा सबै मानिस मलाई सञ्चो होस् भनेर प्रार्थना गरिरहेका छन्। म जसलाई चिन्दछु या जसलाई चिन्दिनँ उनीहरु सबैले अलग–अलग ठाउँ र समयरेखाबाट मेरो लागि प्रार्थना गरिरहेका छन्। मलाई लाग्छ उनीहरु सबैको प्रार्थना एकमुष्ट भएको छ, एउटा ठूलो शक्तिको रुपमा मभित्र प्रवेश गरेको छ। त्यो तीव्र रुपमा जीवनधारा बनेर मेरो स्पाइनको बाटो हुँदै शीरभित्र छिरी कपालबाट अंकुरित भएको छ।
यो अंकुरित भएर कहिले पत्र जस्तो, कहिले पात जस्तो त कहिले हाँगा बन्छ। मानिसहरुको प्रार्थनाबाट उम्रिएको हरेक रौंका हाँगा, हरेक पात, हरेक फूलले मलाई एउटा नयाँ दुनियाँ देखाउँछन्।