माधव भुषाल
पुस महिनाको जाडोले कठ्यांग्रिएको छेपारो धेरै जाडो भएकाले सुत्नै सक्दैन र मनमनै प्रतिज्ञा गर्छ, भोलि उज्यालो भएपछि एउटा न्यानो सिरक बनाउने, चिसो छिर्ने प्वालहरुमा छेकवार लगाउने र भुईंको चिसो रोक्न न्यानो ओछ्यान बनाउने छु।
बिहान सदा झैं उज्यालो हुन्छ। विस्तारै पारिलो घाम लाग्छ अनि छेपारो आफ्नो जिउ सेकाउँछ। यताउता गर्छ, खानाको जोहो गर्छ र यत्तिकैमा दिन ढल्छ। र, अघिल्लो रातजस्तै फेरि चिसोको कष्ट उस्तै व्यहोर्छ। अर्को दिनको उज्यालोमा जसरी पनि सिरक र ओछ्यानको जोहो गर्ने प्रण गर्छ अनि फेरि घाम लागेसँगै सबै बिर्सन्छ। त्यसरी नै छेपारोका सबै रातका अठोटहरु बिहानको न्यानो घामसँगै हराएर जान्छ।
यो कथाले निकै मार्मिक ढंगले हाम्रो समाजको चरित्रलाई बिम्वित गर्छ।
२०७२ वैशाखको महाभूकम्प र त्यसपछिको नाकाबन्दीको परिवेश अझै पनि मानसपटलमा ताजै छ। करिब ५ वर्ष अघिको त्यो समय यति सजिलै भुल्न पनि कहाँ सकिन्छ र? त्यसबेलाको इन्धन तथा अन्य अत्यावश्यक वस्तुको असहजता, सार्वजनिक सवारीमा सिन्की झैं मानिस खाँदिएको, खाना पकाउने ग्यास नभएर दाउराको जोहो गरेको यस्तैयस्तै।
त्यति बेलाका अखबारहरुमा विपद्का बेलामा पनि अवसरहरु हुन्छन् भन्दै चर्चा गरियो। देशलाई आत्मनिर्भर बनाउने, विश्वव्यापीकरणको हालको समयमा कुनै एउटा देश सम्पूर्ण उत्पादनमा आत्मनिर्भर हुन सम्भव नभए पनि आर्थिक रुपमा सफलता प्राप्त गर्नसक्ने क्षेत्रहरु पहिचान गरी उन्नति गर्ने, परनिर्भरता घटाउन इन्धनको खपत घटाई विद्युतको प्रयोग बढाउने, चीनसँगको नाका सुचारु गरी भारत वेष्ठित आयातको विकल्प तयार गर्ने लगायतका अवसरहरु छेपारोको कथा जस्तै नाकाबन्दी हटेसँगै विलिन भए वा चाहिएजति तदारुकता देखिएन।
कोरोना भाइरसको विश्वमहामारीले हायलकायल बनाइरहेको अहिलेको विषम परिस्थितिमा व्यापक त्रास छ। हालसम्म मानवीय क्षति प्रत्यक्ष कोरोनाको कारणले भने भएको छैन। तर कोरोना भाइरसको त्रासले समयमा उपचार नपाएर मृत्यु भएकाको तथ्यांक नभएकाले यकिन छैन। हालको विषम परिस्थितिसँगसँगै अवसरहरुलाई पनि सतहमा ल्याइदिएको छ। त्यसलाई पहिचान गर्ने र कार्यान्वयनमा तदारुकता प्रदर्शन गर्न नितान्त जरुरी देखिन्छ। त्यस्ता सम्भावनाको सूचीको विषयमा गहन छलफल हुन जरुरी छ र केही अवसरहरु यहाँ प्रस्तुत गर्न बान्छनीय देखिन्छ।
तथ्यांकको अभाव
चीनको वुहानमा कोरोना संक्रमण एकाएक फैलिँदा एकै पल्ट ठप्प पार्न त्यहाँको सरकारले आफ्नो संयन्त्रलाई निकै व्यवस्थित तरिकाले परिचालन गर्न सक्यो। स्रोत–साधन उपलब्ध भएरमात्र नभई त्यहाँ बस्ने सम्पूर्ण घरधुरीको पूरापुर तथ्यांक व्यवस्थित तरिकाले राखिएकोले सम्भव भएको हो। यहाँसम्मकि कुनकुन मानिसले दीर्घरोगको लागि कुन औषधि सेवन गरिराखेका छन्, को व्यक्ति साकाहारी होसम्मको तथ्यांक भएकाले सबैलाई ठप्प अवस्थामा खाना तथा औषधिको यथोचित व्यवस्थापन गर्न सहज भयो। भनिन्छ, तथ्यांक कुशल व्यवस्थापनको लागि अनिवार्य शर्त हो। यसको लागि सम्पूर्ण जनसंख्यालाई एकाइहरुमा विभाजन गरी सोही बमोजम तथ्यांक राखिएको थियो।
हाल नेपालमा कति जना औपचारिक श्रम बजारमा छन्, अनौपचारिक श्रम बजारमा कति छन्, भारतमा रोजगारीका लगि कति जना कहाँ छन्, अन्य देशमा कहाँकहाँ कति छन् भन्ने एकिन तथ्यांक छैन। भारतमा मात्र ३० देखि ४० लाख रहेको अनुमान गरेको पढ्न र देख्न पाइन्छ। अस्पतालहरुको क्षमता कति छ, कहाँ छन्, स्वास्थ्यकर्मीको संख्या कति छ, विशिष्ठ सिप भएका स्वास्थ्यकर्मीको तथ्यांक कहाँ कति छ आदि र यस्तै पूरापुर तथ्यांकले योजना बनाउन सहयोग गर्नेमात्र होइन, विपद्को बेलामा उद्धार गर्न नितान्त आवश्यक हुन्छ। चिकित्सक वा नर्सिङ विषेशज्ञको अभावमा उनीहरुले दिने सेवा निगरानीमा प्रदान गर्नको लागि तालिम दिइएका स्वास्थ्यकर्मीहरु जस्तै एनेस्थिेसिया असिस्टेन्ट, ओटी तालिम, क्रिटिकल केयर तालिम लिएकाहरुको अभिलेख र उनीहरुको तत्तत् स्थानबाट दिनुपर्ने सेवा दिइरहेको सुनिश्चित गर्न पनि तथ्यांक भएमा सहज हुन्छ। अहिलेको महामारीले हाम्रो तथ्यांकको अभावको हालतलाई उघारिदिएको छ। अब यसलाई व्यवस्थित गर्ने अवसरको रुपमा लिनुपर्छ।
भारतसँगको खुला सिमाना
अव्यवस्थित खुला सिमानाका कारण सुरक्षा चुनौती, चोरी तस्करी, रोगहरुको प्रसार, प्राकृतिक स्रोतहरुको चरम दोहन, चुरे क्षेत्रको विनास, मानव तस्करी आदि हुने गरेको छ। अनियन्त्रित खुला सिमानालाई पूरापुर तथ्यांक राखी आवत जावत गराउने, पशुपछी तथा मानव स्वास्थ्य जाँच र क्वारेन्टाइनलाई सदाको लागि व्यवस्थित गर्न यो अहिलेको लागि उपयुक्त अवसर हो। खुला सिमाना व्यवस्थापनको कुरा दुवै देशका प्रबुद्ध समूहले निष्कर्ष निकालेर सुझाव दिएको पनि थियो।
स्वास्थ्य उपचार सेवाको दुरुह अवस्था
कोरोना भाइरसको संक्रमण बढ्दै गएको खण्डमा तथा जटिल बिरामीहरुको उपचारको लागि अस्पतालहरुको तयारी कमजोर देखिन्छ। अनुमान अनुसार देशभरमा अहिले सरकारी तथा निजी गरी ५०० देखि ८०० सम्म भेन्टिलेटर रहेको त्यसमा पनि चालू हालतमा कति होलान्। त्यस्तै आइसियुको संख्या पनि सबै गरेर १५०० भन्दा बढी छैन र भएकालाई पनि प्रभावकारी र गुणस्तर कायम गरी सञ्चालन गर्न आवश्यक जनशक्ति, उपकरण तथा सामग्रीको व्यवस्थापन तिव्र गतिमा गर्नुपर्ने देखिन्छ।
अहिले नीति निर्माण तहमा रहेकालाई गुणस्तरीय स्वास्थ्य उपचार सेवाको सबै भूगोलमा समान वितरण र विकास कति आवश्यक रहेछ भन्ने घैंटोमा धाम लागेको अवस्था छ। यस विपद्मा निजी अस्पतालहरुलाई सँगै हिँडाउन र नियमन गर्न असहज भएको हालको अवस्थाबाट यसलाई आगामी दिनमा कसरी व्यवस्थित गर्ने भनेर मन्थन गर्ने अवसर प्रदान गरेको छ। सरकारी र निजी अस्पतालबाट प्रदान गरिने हरेक उपचार सेवालाई समान एकाई शुल्क निर्धारण गरी बिरामीमाथि आइपर्ने वित्तीय भारलाई कुनै संयन्त्र जस्तै अनिवार्य बिमा वा सरकारले लिने करबाट पूर्ति गर्ने गरी अगाडि बढ्ने र गुणस्तरीय उपचार सेवालाई सुनिश्चित गर्न भरपर्दो नियामक संयन्त्रको विकास गर्न अब ढिला गर्नुहुँदैन। यस्तो नियामक संयन्त्रले अहिलेको जस्तो कारबाही गर्ने, दर्ता गर्ने र कमिसन खाने तरिकाले नभई एक्रिडिटेसन प्रणाली अबलम्वन गर्ने र त्यसपछि मात्र सेवा दिन पाउने व्यवस्था गर्न सकिन्छ। अस्पताल एक्रिडिटेसन गर्ने प्रणाली तयार गर्न अन्तर्राष्ट्रिय अस्पताल एक्रिडिटेसन प्रणालीहरुबाट धेरै कुरा लिन सकिन्छ।
जनस्वास्थ्य सेवाको उपेक्षा
प्रत्यक्ष बिरामीको उपचारमा खटिने अस्पताल र त्यहाँका स्वास्थ्यकर्मीको उपचार सेवाको आफ्नै विशिष्ठता र अपार महत्व हुन्छ। त्यसैगरी जनस्वास्थ्य सेवाको क्षेत्र अलिक भिन्न र फराकिलो हुनुपर्छ, जसमा समग्र जनसंख्याको स्वास्थ्य अवस्थाको मूल्यांकन गर्ने, अध्ययन–अनुसन्धान गर्ने, योजना तर्जुमा गर्ने वा सो वर्गलाई सुझाव दिने, महामारी रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने, समुदाय परिचालन गर्ने लगायतका कार्य पर्छन्। संक्रामक रोगको रोकथाम, नसर्ने रोगबाट बचावटका उपाय अबलम्वन गर्ने, स्वस्थ जीवनशैलीको प्रवर्धन गर्ने, खाना, पानी, वायुको गुणस्तर सुधार, सडक सुरक्षा, मानसिक स्वास्थ्य प्रवर्धन लगायतका क्षेत्र ओगटेको जनस्वास्थ्य सेवालाई व्यवस्थित गर्ने अवसरको रुपमा लिन र तदारुकता देखाउन आवश्यक छ। विश्वका धेरै देशहरुले रोग रोकथाम र नियन्त्रणका लागि छुट्टै संयन्त्र बनाएका छन्। जसले यी माथि सुझाइएका कार्यहरु गर्दछन्।
साबुन पानीले हात धुने व्यवहार
यो विषय संक्रमण रोकथामको लागि सबैभन्दा महत्वपूर्ण उपाय हो। अस्पतालहरु उपचार गर्ने स्थलका रुपमा मात्र बुझिन्छ तर अस्पतालहरु नै त्यस्ता स्थानहरु हुन्, जहाँ बिरामीहरुले आफ्नो रोग सँगसँगै बोनसमा अन्य संक्रामक रोगहरु प्राप्त गरिरहेका हुन्छन्। सुविधासम्पन्न अस्पतालहरुमा विश्व स्वास्थ्य संगठनले सन् २००९ मा गरेको अध्ययनमा रोग प्रतिरोधी क्षमता कम भएका अस्पतालबाट संक्रमित भएकाहरुमध्ये ४० प्रतिशतलाई हात नधोई सेवा प्रदान गरेको कारण देखिएको थियो। ती अस्पतालहरुमा ६.७ देखि ७.४ प्रतिशतमा अस्पतालबाट संक्रमण सरेको पाइएको थियो। साबुन पानीले मिचिमिची हात धुनुको महत्व थाहा भए पनि व्यवहारमा नल्याउँदा संक्रमण सर्ने सम्भावना अधिक हुन्छ। अहिलेको यो महामारीले स्वास्थ्यकर्मी तथा अन्य जनहरुमा साबुन पानीले मिचिमिची हात धुने बानीको विकास हुने अवसर रहेको छ।
आशा छ, हामीलाई प्राप्त यी अवसरहरु न्यानो भएपछि छेपारोले अठोट भुले जस्तै लत्याउने छैनौं। आखिर एउटा माघले जाडो जाँदैन, यस्ता महामारीहरु आइरहन्छन्, महामारीभन्दा धेरै ठूला समस्याले थिचिएको हाम्रो स्वास्थ्य प्रणालीलाई धेरै सुधारको खाँचो छ। सधैं तदर्थ अवस्थामा चलेको सरकारी स्वास्थ्य सेवा र समस्याग्रस्त निजी स्वास्थ्य सेवालाई सुधार गर्न तदारुकता देखाउन ढिला भइसकेको छ।