पुष्पा ढकाल
कोभिड-१९ रोकथामका निमित्त देशव्यापी रुपमा लागू गरिएको बन्दाबन्दी आंशिक रुपमा खुला छ। यसबीच कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै ज्यान गुमाउनेको संख्या पनि २८ पुगेको छ।
बन्दाबन्दीमा आफन्त भेटघाट ठप्प छl अध्ययन-अध्यापन बन्द छl डिजिटल साधनप्रतिको लत बढ्दो छl धेरैको आयआर्जनको माध्यम छुटेसँगै आर्थिक संकट विकराल बन्दैछl समयमा उपचार गर्नबाट बन्चित भएपछि तनाव बढ्दो छ। फलस्वरुप आत्महया पनि चुलिँदो छ।
संसारभर हरेक ४० सेकन्डमा १ जनाले आत्महत्या गर्छन् र २०२० सम्ममा यो दर हरेक २० सेकेन्डमा १ हुनेछ भनी अनुमान गरिएको थियो। आत्महत्याको तथ्यांक हेर्दा विश्वमा नेपाल ८१औं स्थानमा रहेको छl सेन्टर अफ डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन तथ्यांक अनुसार १२ देखि १८ वर्षका किशोरकिशोरीहरुको मृत्यु हुने कारणमा आत्महत्या दोस्रो स्थानमा छ।
आत्महत्या गर्ने सोच र व्यवहार सामान्य कुरा हुँदै होइनl जीवनमा जति नै अफ्ठ्यारा परिस्थिति आए पनि मृत्युको लागि सोच्ने, त्यसका लागि योजना गर्ने गर्दैनl यदि कसैले यस्तो गरेको पाइएमा शीघ्र उपचार चाहिन्छ। नेपालमा २०१२ मा गरिएको रिसर्च अनुसार ८७ प्रतिशत व्यक्ति जसले आत्महत्या गरेका हुन्छन्, उनीहरुमा कुनै न कुनै समयमा मानसिक समस्या हुन्छl
विश्व स्वास्थ्य संगठनको स्वास्थ्यको परिभाषा अनुसार स्वस्थ रहनु भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो। यसैलाई गहिरिएर हेर्दा मानसिक स्वास्थ्य एउटा अभिन्न अंगको रुपमा प्रस्तुत भएको पाउँछौँ। हाम्रो जस्तो विकासोन्मुख देशमा भने स्वस्थ हुनु भनेको शारीरिक तन्दुरुस्तीलाई मात्रै बुझ्ने गरिन्छl मानसिक स्वास्थ्यका बारेमा खासै वास्ता गरिएको छैन। विकसित मुलुकहरुले भने मानसिक स्वास्थ्यमा निकै ठूलो लगानी गर्ने गरेका छन्l
आत्महत्या के हो?
जानीजानी, आफूखुसी अर्थात् कसैको दबाबमा नपरी र सामान्यत: लुकिछिपी आफ्नो जीवनको अन्त्यको दुस्कर्म गर्नुलाई आत्महत्या भनिन्छ। चरम निराशा र तनाव उत्पन्न भएपछि मानिसले आत्महत्याको बाटो अँगाल्छ। अर्थात् जब व्यक्तिले बाँच्दाभन्दा मर्दा सजिलो वा सुखद ठान्छ, उसले आत्महत्याको बाटो रोज्छ l सेन्टर अफ डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन् २०१७ को तथ्यांक अनुसार पाँचमध्ये चार किशोरकिशोरी जसले आत्महत्या गर्छन्, तिनमा आत्महत्याका चेतावनी लक्षण स्पष्ट रुपमा देखिएको हुन्छl सामान्यत व्यक्तिले आत्महत्या गर्नु अगाडि पनि यस्ता प्रयासहरु पटकपटक गरेको हुन्छl बस घरपरिवार अनि समाजले कहिले नक्कल पारेको त कहिले नाटक गरेको र कहिले अन्तरमुखी ठान्छन् वा गिज्याउदै हाँसोमा उडाइदिन्छन्।
नेपालमा आत्महत्यालाई कानुनी दृष्टिकोणमा अपराधको रुपमा लिई जरिवाना र जेल चलान गरिने प्रावधान छ भने सामाजिक दृष्टिकोणमा यो एउटा कलंक मानिन्छ। आत्महत्याको प्रयास गरेका व्यक्ति र तिनका परिवारलाई पनि समाजले हेय भावले हेर्ने गरेको पाइन्छ। धार्मिक दृष्टिकोणमा त आत्महत्या गर्ने मानिस सिधै नर्कमा जान्छन् भन्ने मान्यता रहँदै आएको छ। मनोवैज्ञानिक दृष्टिकोणमा आत्महत्या एक प्रकारको मानसिक रोग हो। जुन दुर्घटना भएपछि मात्रै निर्क्योल गरिदिने प्रचलन छ। आत्महत्या लक्षण मात्र हो मूलभूत कारण त व्यक्ति मानसिक तवरमा स्वस्थ नहुनु हो।
जोखिममा को छन्?
आत्महत्याको घटनाबाट सबै उमेरका मानिसहरू प्रभावित छन्l आत्महत्याको बढी जोखिममा युवा र किशोरकिशोरीहरु हुन्छन्। विश्वव्यापी रूपमा हेर्दा पुरुषमा यसको दर उच्च देखिएको छ। आत्महत्या गर्नेको दर महिलामा भन्दा पुरुषमा बढी भए तापनि महिलामा भने आत्महत्याका प्रयास पुरुषमा भन्दा ३ गुणा बढी रहेको छ। नेपालमा आत्महत्या दर प्रति १ लाख मा ८.८ प्रतिशत रहेको छl यसलाई लैंगिक रुपमा हेर्दा पुरुषमा ९.७ प्रतिशत र महिलामा ७.९ प्रतिशत रहेको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार बन्दाबन्दीको बेला मात्र १४९ जना किशोरकिशोरीले आत्महत्या गरेका छन्।
आत्महत्याका कारण
आर्थिक तनाव
आत्महत्याका कारणहरु केलाउँदा आर्थिक अभाव, घरभित्र हुने झैझगडा र कलह मुख्य कारक हुन्। सामान्य रुपमा हेर्दा घरपरिवारको आर्थिक भार पुरुषमाथि रहेको देखिन्छ। यसैलाई पुष्टि गर्दै अछामको बयलपाटा अस्पतालमा कार्यरत कार्यालय सहयोगी २५ वर्षीय सिद्धार्थ आउजीले परिवार चलाउन कठिन भएका कारण शरीरमा आगो लगाएर आत्मदाह गरे। घरको आर्थिक अवस्थाको प्रभाव बालबालिकालाई स्वतः पर्न जान्छ। भारतको केरला राज्यमा कक्षा ९ मा अध्ययरत १४ वर्षीया छात्राले अनलाइन कक्षा लिनका लागि स्मार्टफोन नपाएपछि आत्महत्या गरेकी थिइन्। यी प्रतिनिधि घटना मात्रै हुन्l बन्दाबन्दी केही खुकुलो भए तापनि आर्थिक मन्दी रहिरहेमा आत्महत्याको सङ्ख्या अझै बढ्ने अनुमान सहजै लगाउन सकिन्छ।
सामाजिक एक्लोपन
सङ्क्रमण फैलन नदिन गरिएको बन्दाबन्दी पूर्ण रुपमा खोलिएको अवस्था छैन। मानिस अझै घरमा थुनिएर बस्न बाध्य छन्l सामाजिक दूरी बढेको अवस्थामै छl आंशिक रुपमा खोलिए तापनि मानिसहरुलाई हिँडडुल गर्न डर छl यसो हुनाले थुप्रै मनोवैज्ञानिक तथा मानसिक समस्या निम्तिएका छन्। व्यक्ति एक्लो हुँदा उसमा आत्महत्याका विचार आउने गरेको पाइन्छ। विशेषगरी युवाहरु आफ्ना साथीभाइहरुसँग बढी खुल्ने गर्छन्। खुलेर सबै कुरा आफन्तसँग भन्ने अवस्था घरभित्र नहुनाले अझै समस्या बढ्न सक्छ। जेष्ठ २२ गते द इकोनोमिक टाइम्स, दिल्लीमा प्रकाशित समाचार अनुसार लकडाउनको बेला भारतमा ३०० जनाभन्दा बढीले आत्महत्या गरेका थिए, जसमध्ये ८० जनाको आत्महत्यामा एक्लोपन र कोरोना पोजिटिभ आउने डर रहेको पाइयोl
उपचारको उपलब्धता र पहुँचमा कमी
एकतिर मानसिक बिरामीप्रति समाजले नकारात्मक दृष्टिले हेरिदिनाले समस्या भएका व्यक्तिहरु खुल्न रुचाउँदैन्l अर्कोतिर जब मानसिक रुपमा स्वस्थ हुने कुरा गर्छौं नेपालमा यस क्षेत्रमा विज्ञता हासिल गर्ने चिकित्सकहरुको संख्या नै न्यून छl प्रति एक लाख बिरामीको लागि ०.१३ जना डाक्टर मात्रै उपलब्ध हुनु ती पनि सहरी क्षेत्रमै सीमित छन्l मानसिक बिरामीलाई चाहिने मनोसामाजिक विमर्श र थेरापी विकेन्द्रित हुन सकेको छैनl मानसिक समस्यासँग जुधिरहेकालाई परामर्श महत्वपूर्ण र अत्यावश्यक हुन्छ त्यो पनि भइरहन पाएको छैनl भए पनि सबैको त्यसमा पहुँच छैन। प्रादेशिक अस्पतालमा पनि मानसिक विभाग नहुनु दु:खद कुरा होl कोभिडको उपचारमा खटिएको अवस्थामा अरु उपचार ओझेलमा पारिनुहुन्न तर अहिले यसमा सीमितता गरिएको देखिएको छl निजी क्लिनिकहरू त बन्द नै गरिएका थिए र आंशिक रुपमा मात्र खुल्न सुरु गरेका छन्l
डिजिटल साधनको प्रयोग
आजभोलि किशोरकिशोरीले अधिकतम समय डिजिटल साधन चलाउनाले एकोहोरिएका, घरपरिवारका सदस्यहरुसँग बोलचालमा कमी आएको, धेरै चिडचिड हुने गरेको अभिवावकहरुको गुनासो छ। फुर्सदको समय होस वा अनलाइन पढाइका सिलसिलामा नचाहिँदा साइटमा छिरी साइबर बुलिङको सिकार हुने सम्भावना बढ्दो छ। यस परिप्रेक्षमा आफ्ना बालबालिकाको मानसिक स्वास्थ्यप्रति अभिभावकको दायित्व अझै बढेर गएको छ।
अन्य रोग र अवस्था
लामो समयदेखि कुनै दीर्घरोग छ भने पनि त्यसले गर्दा व्यक्ति दिग्दार भएर आफ्नो जीवन अन्त्य गरी मुक्ति पाउन खोज्छl दीर्घ पीडा वा रोग भएका बिरामीले आफूलाई सम्हाल्न सक्दैनन् र आत्महत्या रोज्छन्।
आत्महत्याका लक्षण
प्रमुख लक्षण आत्महत्याको विषयमा बोल्नु अथवा आफूले आफैंलाई नोक्सान पुर्याउन खोज्नु नै हो l यदि यस्तो कहीँ कतै यस्तो भइरहेको छ भने तुरुन्तै विज्ञसँग परमर्श जरुरी हुन्छ।
चेतावनी लक्षण
मृत्युलाई लिएर मग्न भई सोचिरहनु, मृत्युसँग सम्बन्धित विषयवस्तु वा त्यस किसिमका झलक, उनीहरुका कलाकृति, लेखाइ, बोलाइ अनि भावहरुमा झल्कनु, क्रियाकलापमा परिवर्तन हुनु, महत्वपूर्ण लाग्ने विषयमा पनि ध्यान नदिनु वा ध्यान कम गर्दै जानु, कुलतमा लाग्नु, निन्द्रा बिग्रनु (सुत्न नसक्नु वा रातैभरि जागा हुनु), सिथिल देखिनु, एकाग्र हुन नसक्नु, स्पष्ट रूपमा सोच्न असमर्थ हुनु, चिडचिडाहट हुनु, खान नरुचाउनु र स्पष्ट रूपमा आफूलाई प्रस्तुत गर्न नसक्नु र स्कुल-कलेजमा गरिने क्रियाकलाप कम हुँदै जानु, नैरास्यता छाउनु, कोही व्यक्तिले आत्महत्या रोज्नु अगाडिका दैनिकीमा देखिने लक्षणहरु हुन्। नजिकका व्यक्तिहरु वा परिवारका सदस्यहरुले व्यक्तिले यस्ता लक्षण देखाइरहेको छ भने अभिभावकले चनाखो हुनुपर्छl
आत्महत्या रोकथामका लागि तत्काल गर्न सकिने उपाय
नेपाल सरकारले दिगो विकास लक्ष्यमा मानसिक स्वास्थ्यलाई प्रमुखतामा राखेको छ। नेपालले आत्महत्यालाई सन् २०३० सम्ममा प्रतिलाख जनसंख्यामा १६.५ बाट घटाएर ४.२ मा लैजाने प्रतिवद्धता गरेको छl आत्महत्या सम्बन्धी भएका अध्ययनहरुले आत्महत्या रोकथामको एकमात्रै उपाय सामाजिक घुलमिल मानेको छl थुप्रै चुनौतीका बाबजुद रोकथामका लागि सुरुवात नभएको भने हैन। तर पर्याप्त भने छैनन्l अहिले नै केही गर्न नसके स्थिति भयावह बन्न गई कोरोनाले गरेकोभन्दा बढी क्षति आत्महत्याबाट हुन सक्नेछ। दिगो विकास लक्ष्य अनुसारका क्रियाकलापहरुको कार्यान्वयन अहिले नै सुरु गरिहाल्नु पर्छl त्यसमाथि अहिलेको अवस्थाले थप जटिलता सिर्जना गरेको हुनाले थप क्रियाकलाप आवश्यक हुन सक्छन् भन्नेतर्फ पनि सोच्नुपर्छl
परिवारको भूमिका
किशोरकिशोरी रूख हुन् भने परिवार रूखको फेदमा हुने माटो र पानी। स्कुल, छिमेक, समुदाय र समाज सूर्य, वर्षा, किरा, चरा र जनावरको तुलना वातावरणसँग गर्न सकिन्छ। रूखहरूको विभिन्न विशेषता, माटोका गुणहरू र मौसम अवस्थाले रूखको स्वास्थ्य र वृद्धिलाई असर गर्न सक्छ। त्यस्तै प्रकारले किशोरकिशोरीहरूको विभिन्न गुण, उनीहरूका परिवार र वातावरणका विशेषताहरूले व्यक्तिको स्वास्थ्य र विकासलाई असर गर्न सक्छ।
लचिलोपन मानसिक स्वास्थ्यको एक महत्त्वपूर्ण पक्ष हो। लचिलो हुनु मानसिक रुपमा स्वस्थ हुनु हो। मानसिक स्वास्थ्यमा जीवनका शारीरिक, बौद्धिक, सामाजिक, भावनात्मक र आध्यात्मिक जस्ता विभिन्न पक्षहरूलाई सन्तुलन राख्नु जरुरी हुन्छl लचिलो व्यक्तिले तनाव र जीवनका चुनौतीपूर्ण परिस्थितिहरु प्रभावकारी रूपमा सामना गर्न सक्छ।
लचिलो हुनु भन्नाले सहयोगको खाँचो भएका व्यक्तिहरूको हेरचाहमा चासो देखाउने, व्यक्तिहरूको मतभेद स्वीकार्ने, आफूले गरेको कार्यहरूको लागि जिम्मेवरी लिने, अरूलाई सम्मान, दया, सहानुभूति राख्ने निष्पक्षता, इमानदारीको भावना विकास हुनु हो। त्यसैगरी साथीहरू बनाउने र राख्ने, आन्तरिक त बाह्य द्वन्द्वलाई सन्तुलित गर्ने र समूहमा मिलेर काम गर्ने सामाजिक कौशलहरूको विकास हुनु पनि हो l त्यसैले आफ्ना बालबालिकालाई लचिलो हुन सिकाउनुस्।
किशोरकिशोरीले व्यावहारिक ज्ञान र सिपमा जोड दिनु आवश्यक छ। सोचेअनुरुप सधैं नहुन सक्छ तसर्थ असफलतामा के गर्ने, कसरी सम्हालिने साथै असफलताले धेरै सिकाउँछ भन्ने शिक्षा दिन परिवारको ठूलो भूमिका रहन्छ।
दैनिक क्रियाकलापमा परिवर्तन
दैनिक रुपमा मर्निङ वाक, व्यायाम, योग, ध्यान गरी आफूलाई सन्तुलित राख्ने, सकारात्मक सोचको विकास गर्ने, मनोरन्जनको लागि रचनात्मक क्रियाकलापमा आफूलाई भुलाउने र अनलाइन तथा सोसल मिडियाबाट टाढा रहने।
भौतिक दूरी कायम गर्ने, नकी सामाजिक दूरी
लामो बन्दाबन्दीमा बसेका किशोरकिशोरीको स्कुल तथा कलेज बन्द छन् र अन्तिम परीक्षा स्थगन भएको छl उनीहरु साथीभाइसँग घुलमिल हुन पाएका छैनन्l खेलकुद तथा अरु गर्दै आएका क्रियाकलाप बन्द छन्l यस्तोमा डिप्रेसन हुने सम्भावना बढेर जान्छ। तसर्थ सामाजिक दूरी कायम गर्ने, जतिसक्दो आफन्तसँग समय बिताउने, चाहे त्यो कुनै पनि माध्यम प्रयोग गरेर किन नहोस। सामाजिक दूरीभन्दा पनि भौतिक दूरी कायम हुनुपर्छl आफ्ना बालबच्चा घरमा क्रियाशील राख्न अभिभावकको ठूलो महत्व छ।
टेलिमेडिसिनको व्यवस्था
कोभिडले अस्तव्यस्त बनाएको शिक्षा क्षेत्रमा वैकल्पिक तरिकाबाट सिक्ने/सिकाउने अभियान चलाएजस्तै अहिलेको सन्दर्भमा मानसिक स्वास्थ्यलाई बढावा दिन यस किसिमको प्रावधान मिलाउन सके धेरै व्यक्ति लाभान्वित हुन सक्छन्। कतिपय मानसिक समस्या मनोसामजिक विमर्शबाट नै ठिक हुन्छ र इन्टरनेटको मध्यमबाट यसलाइ बन्दाबन्दीकै समयमा पनि सहज बनाउन सकिन्छl
मानसिक स्वस्थ्या सेवा विस्तार गर्ने
विषम परिस्थितिले सामान्य मानिसको तनाब बढेर गएको छl समाजमा मानसिक स्वास्थ्यका बारेमा पर्याप्त जानकारी नहुनाले समस्या लुकाइने गरिन्छ। यसको लागि समुदायमा जनचेतना जगाउन जरुरी देखिन्छl यसका साथै मनोसामाजिक सहयोग, मनोविमर्श तथा मनोविदको सहयोग आवश्यक पर्ने भएको हुँदा यी सहयोग लिएर औषधोपचार गरेको खण्डमा आत्महत्या रोकथाम गर्न सकिन्छ।
हिँडडुलमा प्रतिबन्ध भएका कारण लकडाउनको समयमा आत्महत्याको शैली बदलिएको छ l विष खाएर र खोला वा नदीमा हाम फालेर गरिने आत्महत्याको संख्यामा कमी आएसँगै झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको छ। विशेषगरी किशोरकिशोरीमा साना कुरामा चित्त नबुझाएर विवेक गुमाई आत्महत्या गर्ने प्रवृत्ति बढेको छ। अहिले नै यकिन गर्न नसकिए तापनि कोरोनाको संकट सकिएपछि पनि समस्या यसको अवशेषझैं रहिरहने छ। सामाजिक दूरी जति लम्बियो, मानसिक रोगको मात्रा त्यति बढ्दै जान्छ। यस विषयलाई ध्यान दिएर उपचारको उचित प्रबन्ध गर्न ढिला गर्नु हुँदैनl
आत्महत्या रोकथामका लागि पाटन अस्पताल हेल्पलाइन: ९८१३४७६१२३
ट्रान्सकल्चरल साइकोसाजिकल संगठन: १६६००१०२००५
त्रि. वि शिक्षण अस्पताल हटलाइन: ९८४००२१६००
बसु आचार्य (मनोवैज्ञानिक): ९८५११७७३२०