सचिना पौडेल
विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जसरी फैलिएको छ, यस सम्बन्धी अफवाह पनि त्यसैगरी विश्वव्यापी बनिरहेको छ। सामाजिक सञ्जालमा आउने यस्ता कतिपय अफवाहलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), सेन्ट्रल फर डिजिज कन्ट्रोल (सिडिसी) लगायत विश्वका स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने संघसंस्थाहरुको नाम पनि उल्लेख गरिने गरिएको प्रशस्त पाइएको छ। मिथक, तथ्य तथ्याक र भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेर आफ्ना दर्शक (भ्युअर) बढाउन कतिपय अनलाइन पोर्टलहरु समेत संलग्न देखिने गरेका छन्।
वास्तवमा कोरोना (कोभिड–१९) के हो? यसको संक्रमण कसरी हुन्छ? संक्रमण फैलिन नदिन के गर्दा उपयुक्त हुन्छ? विश्वभर स्वास्थ्य क्षेत्रमा के–कस्ता प्रयोगहरु भइरहेका छन्? संक्रमण भएपछि के गर्नुपर्छ? विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस बारेमा के–कस्ता रणनीति बनाएका छन्? यी आदि विषय र सामाजिक सञ्जालमा भ्रम छर्नेगरी फैलिएका विषयलाई समेटेर आम नागरिकले कोभिड–१९ सँग जुध्न अपनाउनुपर्ने र नेपालको परिवेशमा अपनाउन सकिने विषयमा यो आलेखमा चर्चा गरिन्छ।
के हो कोरोना भाइरस?
कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्न सक्ने मानिएको संक्रमण रोग हो। यो रोग कोरोना भाइरसको नयाँ प्रजाति हो। योभन्दा अगाडिको चरणमा आएको यही प्रजातिको भाइरस सार्स कोभ–२ थियोे। पछिल्लो समयमा सन् २०१९ को अन्त्यमा पहिलो पटक चीनमा देखिएपछि यसको नाम कोभिड–१९ राखिएको हो। अनुवांशिक संरचनामा आरएनए भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोना भाइरस नामकरण गरेका थिए।
भाइरसको बाह्य रुप झट्ट हेर्दा श्रीपेचजस्तै भएकाले यसलाई किरिटाकार विषाणु वा जे भनेर पनि कोरोना भाइरस नै प्रचलित र सजिलै बुझिने नाम बनेको छ।
कोरोना भाइरस संक्रमण कसरी हुन्छ?
संक्रमित मानिसको श्वासप्रश्वास प्रणालीबाट बाहिर निस्किने थुक, खकार लगायतका छिटा (ड्रपलेट) बाट यो रोग निरोगी व्यक्तिमा सर्छ। मुख्यगरी नाक, मुख, आँखा लगायतका ज्ञानेन्द्रीयको बाहिरी छिद्रबाट मानव शरीरमा प्रवेश गर्ने यो भाइरसले फोक्सोमा पुगेर संक्रमण फैलाउने गर्छ। कुनै पनि स्थान वा सतहमा कैयौं घन्टासम्म कोरोना भाइरस जीवित रहन सक्छ तर सामान्य जीवाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कसरी थाहा पाउने?
सामान्यतयाः कोरोना संक्रमण भएपछि टाउको दुख्नु, सुख्खा खोकी लाग्नु, एक सय दशमलब ४ डिग्री फरेनाइट भन्दा बढी ज्वरो आउनु यसका लक्षण हुन भनिए पनि नेपालमा संक्रमण देखिने धेरै मानिसमा यस्ता लक्षण नै देखिएका छैनन्। त्यसैले नेपालको परिवेशमा अन्य संक्रमित मुलुकबाट आउने मानिसमा परीक्षण गरेर संक्रमितको पहिचान हुँदै आएको भए पनि पछिल्ला दिनहरुमा त्यस्तो कुनै भ्रमण इतिहास नभएका मानिसमा समेत कोरोना पोजेटिभ देखिन थालेको छ। सरकारले जारी गरेका न्यूनतम स्वास्थ्य मापदण्ड समेत नअपाइएका कारण पछिल्ला दिनहरुमा संक्रमितको कन्ट्याक्ट टे«सिङ समेत गर्न नसकिने अवस्था सिर्जना भइसकेको छ।
उपचार
कोरोनाको उपचार सम्बन्धमा पछिल्ला दिनमा सामाजिक सञ्जालहरुमा औषधि बनेको, भ्याक्सिन प्रयोग भइसकेको, २७ डिग्री सेन्टिग्रेडभन्दा माथिको तापक्रममा कोरोना सर्दैन, अदुवा, लसुन कोरोनाको लागि अचुक औषधि, होमियोप्याथी औषधि बनिसक्यो जस्ता विषयले सामाजिक सञ्चालमा प्राथमिकता पाउने गरेका छन्।
कतिपय यस्ता विषयमा विश्व स्वास्थ्य संगठनले स्पष्ट गरिसकेको छ। हामीले के कुरा जान्नुपर्छ भने कुनै पनि रोगको पहिलो असर जेष्ठ नागरिक, दीर्घरोगीमा पर्छ। त्यसैले पनि कोरोना संक्रमणमा पनि सबैभन्दा खतरा यिनै समूह हुन्छन् जो नियमित औषधि प्रयोग गर्छन्। जसको रोगप्रतिरोध क्षमता कमजोर छ, ती नै पहिलो आक्रमणको शिकार बन्ने निश्चित छ। त्यसैले पनि हामीले आफ्नो परिवारमा रहेका जेष्ठ नागरिक, स्वास्थ्य अवस्था जटिल भएका परिवारका सदस्य, सुत्केरी र गर्भवती आमाहरु, बालबालिकाको स्वास्थ्यमा पहिलो प्राथमिकता राख्नुपर्छ।
कोरोनो अन्य सरुवा रोग जस्तो लिन नजाँदा पनि आफैं आउने रोग होइन। यसलाई भित्र्याउन विवाह गरेर ल्याएकी दुलही जस्तै तामझाम त गर्नु पर्दैन तर, लिन भने जानु नै पर्छ। त्यसैले, कोरोना संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय लकडाउनलाई लिइएको हो।
सामाजिक सञ्जालमा सूर्यको प्रकाश वा २७ डिग्री सेन्टिग्रेडभन्दा माथिको तापक्रममा कोरोना भाइरस जीवित रहँदैन भन्ने देखिन्छ तर यो हाल प्रमाणित तथ्य होइन। यदि त्यस्तो हुुन्थ्यो भने गर्मी बढ्दै जाँदा संक्रमण यसरी फैलदैनथ्योे। हामीले के कुरा बुझन जरुरी छ भने कोरोना भाइरस न त २७ डिग्रीको तापक्रममा मर्छ नत माइनस तापक्रममै। विश्वभर हाल देखिएको संक्रमणलाई आधार मान्ने हो भने भारत र रसिया जस्ता देशमा पनि कोरोना उस्तै गतिमा संक्रमण भइरहेको यथार्थता हाम्रो सामु जगजाहेर छ।
कतिपय सामाजिक सञ्जालमा तातो पानीले नुहाएर कोरोना संक्रमण नहुने हल्ला पनि हुने गरेका छन्। हाम्रा प्रधानमन्त्रीले बेसार प्रयोग गर्ने भने जस्तै बेलारुसका राष्ट्रपतिले त साउना लिए कोरोना नलाग्ने बताएका थिए। यसलाई विश्व स्वास्थ्य संगठनले पूरै आधार विनाको विषय भनेर नमान्न भनेको छ।
कतिपय प्राकृतिक चिकित्सकको भनाइ भन्दै सामाजिक सञ्जालमा १० सेकेन्ड कुनै असहज महसुस बिना नखोकी श्वास रोक्न सक्नेलाई कोरोना भाइरस नभएको मानिन्छ भनेको पनि देखिन्छ। यो विषयलाई विश्व स्वास्थ्य संगठनले वास्तविकता होइन भनेर सचेत गराएको छ। यस्तो समस्या निमोनिया दम र अन्य रोगबाट समेत हुनसक्ने बताउँदै कोरोनामा सुख्खा खोकी लाग्ने र १०० दशमलब ४ डिग्री फरेनाइट ज्वारो आउनु कोरोनाको लक्षण भए पनि यसको किटान भने प्रयोगशाला परीक्षणबाट मात्र हुनसक्छ।
कोरोना भाइरस तातो पानीले नुहाउँदा, हात सुकाउने मेसिन वा कपाल सुकाउने मेसिनको प्रयोग, विकीरणको प्रयोगले मार्छ भन्ने सामाजिक सञ्जालमा आउने गरेको विषय गलत छ। कतिपय यस्ता प्रयोगले तपाईंमा हुँदै नभएको रोग निम्तिन पनि सक्छ। बाहिरी सतहमा दिइने तापक्रम, विकिरणको कोरोना भाइरस सम्बन्धमा कुनै अर्थ रहँदैन।
आफ्नो हात सफा राखौँ। हातले नाक–मुख छुन रोकौँ। संक्रमित व्यक्तिको नजिक नजाउँ, संक्रमित व्यक्तिको थुक वा खकारका छिटा आँखा, मुख र नाकसम्म नपुगोस् भनेर सतर्क रहौं। विश्व स्वास्थ्य संगठन, नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको मापदण्ड अनुसार मास्क लगाउने, हात सफा गर्ने र सामाजिक दूरी कायम गर्ने अभियानलाई दृढताका साथ पालना गरौं।
कतिपय सामाजिक सञ्जालमा कोरोनाबाट मुक्ति पाउन शरीरमा रक्सी वा क्लोेरिन छर्कने सन्देश पनि दिएका छन्। मानिसहरुले यो प्रयोग पनि गरिरहेका छन्। वास्तवमा यो गलत हो, रक्सी वा कोलोरिन छरेर बाहिरी सतहमा भएको भाइरस त मर्ला तर, शरीरमा संक्रमण प्रवेश गरिसकेको भए यसले काम गर्दैन। यस्ता वस्तु शरीरमा छर्दा नकारात्मक असर पार्न पनि सक्छ। यस्तो प्रयोगले सामग्रीलाई डिस्इन्फेक्ट गर्न मात्र सकिन्छ।
कोरोना र निमोनिया दुवै श्वासप्रश्वासमा असर पार्ने, फोक्सोमा इन्फेक्सन गराउने रोग हुन्। तर पनि यी दुई रोगमा उपचार गर्ने प्रक्रिया फरकफरक छ। जनस्वास्थ्यले निमोनियाको भ्यक्सिनले कोरोना संक्रमणबाट जोगाउने कुरा अहिलेसम्म पुष्टि गरेको छैन। विश्वभरका अनुसन्धानकर्ताहरुले भ्याक्सिन अनुसन्धान गरिरहेका छन्। अहिलेसम्म कोरोनाको लागि छुट्टै औषधि, उपचार पद्धतिको विकास भएको छैन। यसको उपचार लक्षणको आधारमा गरिँदै आएको छ।
लसुन, बेसार, अदुवाको प्रयोग गर्न सामाजिक सञ्जालहरुले मानिसलाई सल्लाह दिंदै आएका छन्। नेपालमा प्रयोग हुने मसलाहरुको प्रयोगकै कारण नेपालीलाई कोरोना संक्रमण कम भएको दाबी गरिँदै आएको छ। यी विषयलाई विश्व स्वास्थ्य संगठनले मानेको छैन। तर नेपालका प्रधानमन्त्रीले बेसार खान, हाछ्युँ गर्दैै कोरोना भगाउन सन्देशमार्फत सल्लाह पनि दिएका छन्। नेपालमा प्रयोग गरिने मसला र प्राकृतिक जडीबुटीको प्रयोगबाट जीवनाशक गुण प्राप्त हुन्छ। रोग प्रतिरोधक शक्ति वृद्धि गर्न सघाउँछ तर अहिलेको कोरोना भाइरसको संक्रमणबाट जोगाएको हालसम्म कुनै प्रमाण फेला परेका छैनन्।
संक्रमणपछिको उपचार
कोरोना संक्रमण भएको–नभएको खासै थाहा पाउने आधार छैन। नेपालमा देखिएका अधिकांश संक्रमितहरुमा अन्य देशमा जस्तो लक्षण छैन। सरकारले हालै पारित गरेको होम आइसोलेसन राख्ने कुरा सकारात्मक भए तापनि यो सबै नागरिकको लागि उपयुक्त नहुन सक्छ। किनकी नेपालको परिवेशमा अधिकांश संयुक्त परिवारमा बस्ने र छुट्टै्र कोठा र शौचालयको प्रयोग गर्ने सम्भावना ज्यादै न्यून मात्रामा हुन्छ।
चैत ११ देखि सुरु भएको १२० दिने लकडाउनपछि नेपालमा साउन ७ गतेबाट लकडाउन पूर्ण रुपमा खुला गरिएको अवस्था छ। तर कोरोनाको संक्रमण भने झनै बढ्दो छ। पछिल्ला केही दिनयता संक्रमितको संख्या र मृत्युदर समेत बढेको छ भने कतिपय संक्रमितलाई लक्षण पनि देखा पर्न थालेका छन्।
निष्कर्ष
भनिन्छ, रोगको उपचार गर्नभन्दा लाग्न नदिनु वेश। जुनसुकै रोग लाग्न नदिन मानिसले आफूलाई सक्षम बनाउनु पर्छ। त्यसमा त झन् विश्वव्यापी महामारी मच्चाएको कोरोना भाइरस (कोभिड–१९) को हालसम्म कुनै उपचार फेला नपरेको र यसको विरुद्ध लड्न सक्ने भ्यक्सिन समेत बनिनसकेको अवस्थामा यो रोग लाग्न नदिनु नै उत्तम उपाय हो। त्यसैले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम मानिसले पालना गर्नुपर्ने नियम बनाएको छ।
मास्क लगाउने, बारम्बार साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, भीडभाडमा नजाने, शंकास्पद बिरामीको सम्पर्कमा नबस्ने, घर बाहिर निस्कन परे न्यूनतम दुई मिटर सामाजिक दूरी कायम राख्दै आफ्नो काम गर्ने। यति हुँदाहुँदै पनि कोरोना संक्रमण भइहाल्यो भने भरखरै सरकारले जारी गरेको प्रोटोकलमा रहेर अस्पताल वा उपयुक्त स्थान भए सम्बन्धित स्वास्थ्यकर्मीको सल्लाहमा होम आइसोलेसन बस्ने।
केही दिनयता नेपालीका चाडबाड भित्रिइसकेका छन्। नाग पञ्चमी सकियो, जनै पूर्णिमा र कृष्णाजन्माष्टमीलाई भर्खरै बिदा ग¥यौं। केही दिनपछि तीज आउँदै छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा र उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड पनि सार्वजनिक गरेको छ।
अंग्रेजी अक्षरको एसएमएस शब्दको प्रयोग गरिएको छ। पहिलो एस सामाजिक दूरी कायम राख्ने, त्यसपछिको एमको अर्थ मास्कको प्रयोग हो भने तेस्रो एस साबुन पानी र स्यानिटाइजरको प्रयोग हो।
‘जीउ रहे घिउ खाइन्छ’ भने जस्तै अहिले आफ्नो स्वास्थ्यमा ध्यान दिने समय हो। अरु सबै कुरा खोजेर पाइन्छ तर, एक जुनीको मानव जीवन फेरिफेरि खोजेर पाइँदैन। त्यसैले, स्वास्थ्य मापदण्ड अपनाऔं आफूपनि बचौं, अरुलाई पनि बचाऔं।
(पौडेल भरतपुर महानगरपालिकाकी जनस्वास्थ्य अधिकृत हुन्।)