कुनै–कुनै दिन यति यादगर हुन्छन्, जसलाई चाहेर पनि भुल्न सकिँदैन। २०६७ सालको कोजाग्रत पूर्णिमाको अघिल्लो दिन मेरो जीवनमा पनि यस्तै अविस्मरणीय दिन बनेर बसेको छ, जुन दिन मैले दोस्रो जीवन पाएको थिएँ।
दसैं मनाएर हामी सपरिवार काठमाडौ फर्कने क्रममा थियौं। त्यतिबेला फर्कनका लागि टिकट पाउन ज्यादै मुश्किल थियो, त्यसमा पनि हामी ६ जना भएकोले सिट पाउन धेरै गाह्रो थियो। गाडी कुर्दै गर्दा पोखराबाट एउटा खाली माइक्रो बस आयो। म माइक्रो चढ्न त्यति सहज महसुस नगर्ने भए पनि सो दिन बाध्यताले माइक्रोमा नै आउने निर्णय भयो।
हाम्रो यात्रा तय भयो। सिट भरिएको भए तापनि उनीहरु मुढा राखेर पनि यात्रु कोचिरहेका थिए। कुचुक्क परेको बस र यात्रु संख्या धैरै भएकाले त्यति सजिलो लागिरहेको थिएन। म झ्यालपट्टि बसेको थिएँ।
डुम्रेभन्दा अलि तल पुगेपछि बच्चा र उसका आमा–बा माइक्रोमा चढे। माइक्रोवालाले उनीहरुलाई मभन्दा पछाडिको सिटमा बस्ने व्यवस्था मिलाइदियो। बच्चा चढेदेखि नै रोइरहेको थियो र बच्चाको आमालाई बान्ता हुने रहेछ। उहाँले मलाई झ्यालको सिट छोडिदिन अनुरोध गर्नुभयो। केही समयसम्म त मैले मलाई पनि गाह्रो हुने कुरा भनें तर अलि गाह्रै भएको महसुस गरेपछि उहाँलाई झ्यालको सिट छाडेर म पछाडिको सिटमा गएँ।
माइक्रो बस एकदमै तीव्र गतिमा थियो र हामीले एक–दुई पटक विस्तारै चलाउन अनुरोध गर्यौं तर सुनुवाइ नभएपछि चुप लागेका थियौं।
मनकामना केवल कार कटिसकेपछिको एउटा मोडमा नसोचेको घटना भयो। काठमाडौंतिरबाट आएको अर्को माइक्रोसँग हामी चढेको माइक्रो चालक पछाडिको सिटबाट टाँस्सिदै अघि बढ्यो। हामी चढेको माइक्रोले जोडले ब्रेक लगाउँदा धेरै यात्रुहरु लडे, ठोक्किए। सबै यात्रुहरु तल झर्यौं र चालकलाई विस्तारै चलाउनुभन्दा नमानेकोमा गाली गर्यौं।
म अगाडि बसेका आमा र बच्चालाई सिसाले काट्यो। केही सिसाका टुक्राले मेरो पनि टाउकोमा काटेछ। बच्चाको टाउको र हातबाट रगत बग्न थाल्यो। बच्चा रुन थाल्यो। बच्चाका आमा–बाबु पनि सारै आत्तिए। मैले छोडेको सिटमा भएको बच्चालाई मलाई लाग्ने चोट लाग्यो भन्ने अनुभूति भयो।
त्यति नै बेला मैले उहाँहरुलाई सम्झाउँदै बच्चाको टाउकोबाट रगत बगेको ठाउँमा हातले दबाब दिन लगाएँ। प्राथमिक उपचार सामग्री त साथमा थिएन यद्यपि रुमाल वा केही पातलो कपडाको खोजी भयो। एक जना यात्रुले रुमाल दिनुभयो र बच्चाको अर्को झोलामा रहेको भोटोको भित्री कपडा च्यातेर गजको रुपमा प्रयोग गरी सो रुमालले बाँधिदिएर बच्चाको टाउकोबाट बगेको रगत रोक्ने प्रयास गरें।
त्यही समयमा मेरो टाउकोबाट पनि रगत चुहिएछ। मेरो आमा र श्रीमान् निकै आत्तिनुभयो। तर मैले मेरो चोट सामान्य रहेको आकलन गरें किनकी बच्चाको जस्तो धेरै रगत बगेको थिएन। बच्चाको हातको रगत भने हात उठाई सामान्य दबाब दिएकाले रोकिइसकेको थियो, सायद घाउ ठूलो थिएन।
बच्चाको आमा–बाबुलाई छिट्टै अस्पताल वा मेडिकलमा लैजानु भनी हामी अर्को (एउटैमा नअटेकाले दुई वटामा) बस प्रयोग गरी काठमाडौं आयौं र सिधै मेडिकलमा गयौं। मेरो टाउकोमा पनि काटेको रहेछ तर सिसा त्यहीं गाडिएकाले रगत नबगेको रहेछ। मेडिकलमा आएपछि सिसा निकालेर ड्रेसिङ गरेर घर आइयो।
यसरी नचाहँदानचाहँदै माइक्रो बसको यात्रा गर्दा भएको दुर्घटना र आफूले प्राथमिक उपचार गर्न जानेको हुँदा बच्चालाई गर्न सकेको सहयोग म कहिल्यै बिर्संन्न। प्राथमिक उपचारको महत्वलाई यो घटनाले अझ बढी उजागर गराउँछ। हरेक पटक यो बाटोबाट यात्रा गर्दा त्यो ठाउँमा पुगेपछि यही घटनाले झस्काउँछ।
धेरै वटा प्राथमिक उपचार प्रशिक्षणको दौरानमा भन्ने गरेको स्थानीय सामग्रीको प्रयोग कसरी गर्ने भन्ने कुरा घटना परेपछि आफैं आउँदो रहेछ भन्ने पनि अनुभूति भयो।
प्राथमिक उपचारकले यसको सिद्धान्त अनुसार शान्त रहेर घटनास्थलको अवस्थालाई राम्रोसँग आकलन गरी घाइतेलाई चरणवद्ध रुपमा सहयोग गरी व्यवस्थापन गर्न सकेमा सानो सहयोगले पनि ठूलो परिणाम ल्याउँछ जस्तो लाग्छ।
(खनाल नेपाल रेडक्रस सोसाइटीकी उपनिर्देशक हुन्।)