जन्मेपछि मृत्यु अकाट्य छ तर पनि कोही मृत्युलाई पर धकेल्न खोज्छन् त कोही आफैं मृत्युलार्इ समीप ल्याउन खोज्छन्। जन्म र मृत्युको यो बीचमा बाँचेर हेर्दा अनेक अनेक देख्नु र भोग्नुपर्ने रहेछ। कोही अनेक कष्ट सहेर भए पनि जीवन जोडन खोज्दैछन् भने कोही आँगनमा आएको खुसी र सुखलाई तोड्दैछन्।
मेरो बुझाइमा गाँस, बास र कपास मात्रै नभई मनको शान्ति पनि जिउने महत्वपूर्ण खुराक हो। यतिखेर कोरोनाको कहरको अग्रपंक्तिमा रहेर नागरिकको सुरक्षाका लागि लड्ने क्रममा के मेरो लडाइँ कोरोनासँग मात्र हो र? कदापि होइन। छोरा जन्मँदा हर्षबढाइँ मनाउने तर छोरी जन्मँदा कालो अनुहार लगाउने त्यो विभेदकारी सोचसँग पनि हो। जीवन संघर्ष हो भन्ने थाहा हुँदाहुँदै पनि समस्याहरूसँग जुध्न नसकी आत्महत्यालार्इ रोज्न खोज्ने ती कायरहरूप्रति पनि हो। बिरामी भएपछि तुरून्त अस्पताल नल्याई धामी-झाँक्रीलाई देखाउँदा केही सिप नलागेपछि अबेर भइसकेपछि अस्पताल ल्याउने अन्धविश्वाससँग पनि हो। सानै उमेरमा विवाह गरी बच्चा जन्माउन नसकी आमा र बच्चाको ज्यान जोखिममा पुर्याउने अज्ञानतासँग पनि हो। यी समग्र घटना स्वास्थ्य सेवा प्रणालीसँग जोडिएकाले पनि जीवन र मृत्युमा तराजुको काँटा भई उभिने मेरो पेसाले आज धेरै दिनपछि भावुक बनाइछाड्यो।
आज कोरोनाले संसार बर्बाद मात्र बनाएको छैन, बनाएको पनि छ सायद। नमस्कार गरेर हात जोड्ने बानी बसाइदियो, बारम्बार साबुनपानीले हातधुने बनाइदियो। धुलो-धुँवा र मानिससँग सिधा सम्पर्कबाट बच्न मास्क लगाउने बनाइदियो भने सुरक्षित रूपमा बस्नका लागि सामाजिक दूरी कायम गर्न सिकायो। स्वास्थ्य क्षेत्रमा फड्को नै मार्यो भन्नुपर्छ जुन कयौं वर्षको निरन्तर प्रयासलाई एक झट्कामा बानी बनाइदियो।
खासगरी विपन्न देशका नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन बाध्य बनायो भन्नुपर्छ। आज संस्थामा नयाँनयाँ प्रविधि र उपकरण भित्रिएका छन् तर पनि समाजमा व्याप्त अन्धविश्वास, विभेद अनि सचेतनामा वृद्धि गर्ने प्रविधि भित्रिन ढिला भइरहेको महसुस गरिरहेकी छु।
प्रसङ्ग हो, मेरो १० दिनको आइसोलेसन ड्युटीपछि होम क्वारेन्टाइन सिध्याएर अस्पतालको ड्युटीको हो। दैनिक जस्तै उक्त दिन म ओपिडीमा बिरामी जाँच्दै थिएँ भने अर्का सहकर्मी डाक्टर इन्डेर ड्युटीमा हुनुहुन्थ्यो। जीवन र मृत्युको घटना एकै दिन अनि पटक/पटक भइरहन्छ, तर पनि आजको घटना सधैंजस्तै लागे पनि मेरो व्यावसायिक जीवनमा पर्न गएकाले केही नलेखी रहन सकिनँ।
असोज १ गते, विश्वकर्मा पूजाको दिन थियो भने मौसम र मानिसमा देखिएको उल्लासले पनि समय चाडबाडमय भइसकेको आभास गरिरहेकी थिएँ। संयोगबस उक्त दिन नै हाम्रो एकजना कर्मचारी मित्रको जन्मदिन पनि परेको रहेछ। अस्पतालको क्वार्टरमा नै बस्ने उहाँ हातमा फूल, अक्षता र प्रसाद लिएर आजको साँझको खाना मेरोमा है भन्दै मन्दिरतर्फ निस्कनु भयो। निम्तो आइसकेपछि खालीहात त जानुभएन भन्ने मनसायले दिनभरिको ओपिडीको काम सिध्याएर म र अर्का एक जना चिकित्सक साथी बजारतर्फ लाग्यौं।
जन्मदिनको सानोतिनो उपहार किनेर साँझको समय उहाँको क्वार्टरतर्फ के लाग्दै थियौं, अस्पतालको वार्डको नर्सले आकस्मिक कल गर्नुभयो, “डासाब रक्तश्रावको केस आएको छ।” हामी हतारहतार वार्डमा गयौं, केस हेर्यौं। युवती २० वर्षकी थिइन् र उनमा छैटौं महिनाको गर्भ थियो। सबै कुराको विवरण लिँदा उनलाई बिहानैदेखि पेट दुखेको रहेछ र अस्पतालमा आइपुग्दा रक्तश्राव सुरू भइसकेको थियो। पहिलो गर्भ त्यसमा पनि रक्तश्राव हुँदा मन नआत्तिने भन्ने त कुरै भएन।
नेपाल सरकारको सुरक्षित मातृत्व कार्यक्रम सन् १९९७ देखि नै सुरू भए तापनि गर्भवती जाँच नगर्ने महिला धेरै छन् समाजमा। तीमध्येकी यी पनि एक पात्र थिइन्। उनको भिडियो एक्स-रे गर्ने भनेर ढोका मात्र खोल्दै थियौं, अचानक नर्सको अर्को आवाजले पुनः तर्सायो। हामी त्यही बिरामीतर्फ लाग्यौं। उक्त बिरामीको बच्चा बस्ने जाली फुटेछ र बेडमा रगतको आहाल बनिसकेछ।
सँगैका अर्का डाक्टरले एन्टिबायोटिक्स र बच्चाको फोक्सो विकास गराउने अर्को औषधि छिटो दिन मात्रै लाग्नुभएको थियो। भित्रबाट केही चिज निस्केजस्तो भयो। हतारहतार ग्लोब लगाएर हामीले हेर्दा त बच्चा निस्किसकेको थियो। त्यति बेला हामीलाई आमाको भन्दा पनि नवशिशुको चिन्ता लाग्न थाल्यो। मैले नवशिशुलाई स्टुमुलेट गर्न लागेँ र अर्को डाक्टरले कृतिम अक्सिजन तयार गर्न लाग्नुभयो।
उक्त बच्चा २६ हप्तामा जन्मिएको थियो। सकिनसकी च्याँच्याँ गरेर म संसारमा आएँ भन्न खोज्दै थियो। जम्मा १ केजी तौल भएको हुनाले मैले नर्सलाई दिन नपुगी जन्मेको शिशुलार्इ पर्याप्त औषधि र झोलिलो पदार्थ दिनका लागि नाभीमा राखिने पाइप तयार गर्नु भनेर निर्देश गरेँ। तर यो पाइप जडान गर्नुभन्दा पहिले हामीले बच्चाको अवस्थाका बारेमा परिवारलार्इ जानकारी दिने निर्णय गर्यौं।
अर्का चिकित्सकले परिवारका सदस्यहरूलाई साथमा राखेर बच्चाको अवस्थाका पारेमा जानकारी दिँदै हुनुहुन्थ्यो। “नवजात शिशु त्यसमा पनि महिना नपुगी जन्मेको र कम तौल भएकाले नाभीबाट पाइप राखेर औषधि, पानी त्यँहीबाट दिनुपर्छ भन्यौं तर हामीसँग एनआइसियु (नवशिशुलाई बेग्लै राखेर गरिने सघन उपचार कक्ष) त थिएन। बच्चालार्इ आइसियु भएको ठाउँमा लैजानुपर्छ तर असम्भव भने छैन भनेर हामी बिरामीको हेरचाहमा लाग्दै थियौं।
हाम्रा कुरा सुनिसकेपछि सुत्केरी महिलाकी सासु आएर सोधिन्, “छोरा हो कि छोरी?” मैले 'छोरी' भनेँ। छोरी भन्नेवित्तिकै ती महिलाले मुख बिगारिन् र 'छ्या' भनिन्। त्यो सुन्ने वित्तिकै मनमा सारै नराम्रो लाग्यो। आजभन्दा २५ वर्ष अगाडि यसरी नै मेरी हजुरआमाले छ्या भनिदिएको भए सायद मेरो घरमा एउटा छोरी चिकित्सक र अर्को छोरी इञ्जिनियर हुने थिएनौं होला।
त्यसैले यस्ता धेरै पटकका घटनाको पुनरावृत्तिले सोच्न बाध्य बनाउँछ, “के महिलाका विपक्षी महिला नै हुन् त?” प्राविधिक रूपमा पुरूषप्रधान समाज भनेपछि व्यवहारमा त स्त्रीप्रधान नै देखिन्छ त! त्यँही शिशुको बाबु मौन छ, हजुरआमाको अनुहारको रङ्ग बदलिएको छ। अवश्य पनि १ केजी तौल भएको शिशुलार्इ बचाउनु आफैंमा धेरै गाह्रो काम हो, यसमा दुईमत छैन।
जोखिमपूर्ण अवस्थालाई चिर्दै बच्चा जन्मेकोमा खुसी मनाउन् भन्ने चाहना थियो मेरो र त्यो अबोध शिशुको पनि। अफशोच, मायाले भरिएको आफन्तको अंगालोसम्म पनि लेखेर ल्याएको रहेनछ त्यो शिशुले। अन्तिम पटक त्यो शिशुको नजिक गएँ र सम्झनाको लागि केही तस्बिर लिएँ। अरूका अगाडि बिरलै रूने मेरा आँखा रसाए र छोरा र छोरी दुवै बराबरी भन्ने कुरा कागजमा जति सुन्दर अक्षरले लेखिए पनि मनभित्र लेखिएको रहेनछ भनेर मनलार्इ बुझाएँ।। त्यहाँनेर त्यो शिशु छोरा भइदिएको भए यस्तै तिरस्कार सहनुपर्थ्यो होला र? साँझको समय, काम साध्याइवरी ती मित्रको जन्मदिन मनाइरहेका थियौं।
त्यही बीचमा अर्को घटना- इमरजेन्सीमा एउटा विष सेवनको बिरामी आएको छ भन्ने खबर पाउने वित्तिकै अर्का चिकित्सक त्यसतर्फ दौडनुभयो र म पनि केही सहयोग चाहिएला कि भनेर त्यतैतर्फ लागेँ। चिकित्सकहरू बिरामीको विष शरीरमा फैलिन नदिन हरसम्भव प्रयासहरू गर्दै हुनुहुन्थ्यो। बिरामीका कोही आफन्त रूँदै हुनुहुन्थ्यो यद्यपि म पनि केही सहयोग गर्न लागेँ। हामीले बिरामीलाई बचाउन हरसम्भव प्रयास गरिरहेका थियौं। बिरामीले अत्यधिक विष सेवन गरेका कारण धेरै औषधि चलाउनुपर्यो। लामो प्रयासपछि विष केही घटेजस्तो भयो। आखिर जीवन के हो? सजिलै थियो र मर्न अनि गाह्रो भएको हो जिउन? जीवन सघर्ष हो भन्ने थाहा पाउँदापाउँदै पनि संघर्ष गर्न किन कठिन? आजकल मानिसलार्इ आइपर्ने उचारचढावको सामना गर्नुभन्दा आत्महत्या सजिलो भएको प्रतित हुन्छ।
निःशब्द मृत्यु भएर बसेको मानसिक समस्या आज आएर देखिएको हैन, त्यो हिजो पनि थियो। यत्ति हो, त्यो हामीले देख्न पायौं आज। सामाजिक सञ्जालमा हजारौं साथी बने तर मनको कुरा बुझिदिने आफ्नै घरका सदस्य साथी भएनन् र मानिसहरू सबै विकल्प बिर्सेर आत्महत्या रोज्न थाले। दिनभरि सामाजिक सञ्जालमा भेटिने मित्रले आफ्नो परिवारका सदस्यसँग समय बिताइदिए, मिल्ने साथीसँग मनभरिका कुरा गरिदिए, जीवनको प्रारम्भका दिनदेखि नै ठूलो मान्छे हैन असल मान्छे बन्नुपर्छ भन्ने पाठ सिकाएको भए, आफ्ना कुरा खुलस्त भन्ने भएको भए र कोही न्यायिक नभइदिएको भए सायद जिन्दगीसँग हार मान्नेहरूको जमात घट्थ्यो। जीवनलाई उत्सव मनाउनेको संख्या बढ्थ्यो की?
(डा सापकोटा दैलेख अस्पताल, कर्णाली प्रदेशमा कार्यरत छिन्।)