डा तीर्थराज भण्डारी
डडेल्धुरा- रातको २ बजेको थियो। एक जना २२ वर्षीया गर्भवती अस्पतालको इमर्जेन्सीमा आइपुग्नुभयो। अस्पताल आउँदा उहाँको श्वासप्रश्वास अति तीव्र थियो। ब्लड प्रेसर १७०/११०mmHg थियो। रगतमा अक्सिजन को मात्रा निकै कम थियो (६४ प्रतिशत)।
युएसजी गर्द जुम्लाया बच्चा देखियो। बिरामीको अवस्था निकै गम्भीर रहेका र हामीसँग आइसियुको सुविधा सुरु नभइसकेकाले हामी एकछिन अप्ठ्यारोमा पर्यौंत। तर तीन वटा जीवनको सवाल थियो।
हामीसँग एउटा भेन्टिलेटर चाहिँ थियो। अनि रिफर गर्ने ठाउँ धनगढी १४० किलोमिटर टाढा भएकाले बाटोमा ज्यान जान सक्ने जोखिम थियो। मैले गाइनोकोलोजी डाक्टर धर्मदेव ढकालसँग कुरा गरे। बिरामीलाई तुरुन्त भेन्टिलेटर चाहिन्छ। हाम्रो इमर्जेन्सीमा भेन्टिलेटरमा राख्न असजिलो भएकोले मैले तुरुन्त अपरेसन थिएटर सार्न लगाएँ। तुरुन्त रगतको व्यवस्था गरियो र तुरुन्त Cesarean section गरियो।
अपरेसनको क्रममा पनि बिरामीको अक्सिजनको मात्रा बढाउन निकै गाह्रो भयो। बच्चा दुवै जीवित निस्केपछि हामी एकछिन खुसी त भयौं तर आमाको स्वास्थ्यको चिन्ता उत्तिकै थियो। ब्लड रोक्न गाइनोकोलोजी डाक्टरले uterine artery बान्नुभयो र condom tamponade राख्नुभयो। त्यसपछि बिरामीलाई पोस्ट अपरेटिभ वार्डमा भेन्टिलेटर तयार गरेर सारियो।
भोलिपल्ट आमाको स्वास्थ्यमा पनि सुधार हुँदै गयो। त्यसपछि भेन्टिलेटरबाट बिरामी झिकियो। ब्लड प्रेसर पनि विस्तारै काम हुँदै गयो।
आज बिरामी अस्पतालबाट घर पठाउँदै छौं। यसरी तीन वटा ज्यान बचाउन पाएकोमा साह्रै खुसी छौं। यसले आगामी दिनमा थप हौसला दिने छ। यस क्रममा सहयोग गर्नुहुने डाक्टर निराजन भट्टराई, एनेस्थेसिया एसिस्टेन्ट दीपक साउद, अशोक, नर्सहरु प्रतिभा सिंह, पुनम देउवा लगायत सबैलाई धन्यवाद दिन चाहन्छु।
(डा भण्डारी एनेस्थेसियोलोजी तथा क्रटिकल केयरका प्रमुख हुन्।)