जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी, शिक्षक तथा चिकित्सकहरूले कार्यस्थलमा असुरक्षा बढेको भन्दै आकस्मिक र अन्तरङ्ग सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेका छन्। प्रतिष्ठानको प्राङ्गणभित्रै छिरेर कर्मचारी र चिकित्सकमाथि ज्यान मार्ने धम्की र भौतिक आक्रमणको प्रयास भएपछि उनीहरू आन्दोलित भएका हुन्।
प्रतिष्ठानका उपकुलपतिलाई सम्बोधन गर्दै बुझाइएको निवेदन अनुसार यही वैशाख ९ गते बिहान ९:४५ बजेको समयमा सामाजिक अभियन्ताका नाममा आएका केही व्यक्तिहरूले विभिन्न विभागमा गई कर्मचारीहरूलाई गालीगलौज र धम्की दिएका थिए। सोही क्रममा शैक्षिक भवनको चमेना गृहमा प्रवेश गरी त्यहाँ रहेका कर्मचारीहरूलाई अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको निवेदनमा उल्लेख छ।
घटना यतिमा मात्र सीमित नभई, सोही दिन दिउँसो करिब ३:५० बजे ती व्यक्तिहरू पुनः मदिरा तथा लागुपदार्थ सेवन गरी हात-हतियारसहित प्रतिष्ठानमा प्रवेश गरेर सांघातिक हमलाको प्रयास गरेको कर्मचारीहरूको आरोप छ।
आन्दोलित पक्षले उक्त घटनामा संलग्न व्यक्तिहरूले लिखित वा मौखिक रूपमा माफी माग्नुपर्ने, सम्पूर्ण कर्मचारी र चिकित्सकको सुरक्षाको जिम्मेवारी प्रशासनले लिनुपर्ने र दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग राखेका छन्।
माग पूरा नभएसम्मका लागि अस्पतालका सेवाहरू बन्द रहने उनीहरूले चेतावनी दिएका छन्।
