काठमाडौं- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरूमाथि भएको दुर्व्यवहार र आक्रमणको धम्कीप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालको क्यान्टिनमा खाजा खाइरहेका चिकित्सकहरूमाथि 'युवा अभियन्ता'का नाममा भएको दुर्व्यवहार र सोको भिडियो बनाएर सामाजिक सञ्जालमा अफवाह फैलाइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।
स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिना कारण तथ्यहीन आरोप लगाएर समाजमा भ्रम सिर्जना गर्ने कार्यको संघले कडा शब्दमा भर्त्सना गरेको छ। यस्ता अराजक गतिविधिले आम नागरिक र स्वास्थ्यकर्मीबीचको दूरी बढ्ने र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समेत नकारात्मक असर पुग्ने विज्ञप्तिमा उल्लेख छ।
नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता अराजक कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न माग गरिएको छ। साथै, कार्यस्थलमा चिकित्सकहरूको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारसँग आवश्यक कानुनी कदम चाल्न समेत जोडदार माग गरिएको छ।
हेरौं प्रेस विज्ञप्तिको पूर्णपाठ
हालै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्टिनमा खाजा खाँदै गरेका चिकित्सकहरूमाथि युवा अभियन्ताको नाममा दुर्व्यवहार गर्नुका साथै आक्रमणको धम्की दिई, भिडियो बनाई Youtube, फेसबुक लगायत विभिन्न सामाजिक संजालमा अफवाह फैलाइएको घटना प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि बिना कारण तथ्यहीन आरोप लगाई समाजमा भ्रम सिर्जना गर्ने कार्यको संघ भत्सर्ना गर्दछ।
सामाजिक संजालमार्फत विभिन्न किसिमका अफवाह फैलाई आतंकित पार्ने कार्यले आम नागरिक र स्वास्थ्यकर्मीहरूबीच दूरी बढ्ने तथा गुणस्तरीय सेवा प्रवाहमा समेत असर पुर्याउने हुनाले हुनाले यस्ता अराजक कार्यमा संलग्न व्यक्तिहरूलाई हदैसम्मको कारबाही गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ।
साथै आगामी दिनहरूमा यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाई आवश्यक कानुनी कदम चाल्न समेत नेपाल चिकित्सक संघ नेपाल सरकारसँग माग गर्दछ।
डा. सन्जिब तिवारी
महासचिव