काठमाडौं - त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका चिकित्सकको टोलीले एक ३ वर्षीय बालकको आँखाको बाहिरी भागबाट मस्तिष्कसम्म पुगेको ३ इन्च लामो काँटीको दुर्लभ शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।
आँखा रोग विशेषज्ञ डा. आशिष राज पन्त, न्यूरो सर्जरीका तर्फबाट डा. अमित र एनेस्थेसिया टोलीसहित ८ जना चिकित्सकको टिमले उक्त शल्यक्रिया सम्पन्न गरेको हो। शल्यक्रियाका लागि करिब ३ घण्टा समय लागेको थियो।
यस्ता बिरामी अस्पतालमा कहिलेकाहीँ आउने गरे पनि ३ इन्च लामो काँटी ब्रेन (मस्तिष्क) सम्म पुगेकाले यसलाई दुर्लभ र जटिल शल्यक्रिया मानिएको डा. पन्तले बताए।
काँटीले आँखाको नानीको भागलाई छोएर मस्तिष्कसम्म पुगिसकेको थियो। धेरैजसो अवस्थामा काँटीको तिखो (सियो जस्तो) भाग आँखामा पस्ने भए पनि यसपटक भने फेदको फराकिलो भाग भित्र छिरेको थियो, जसका कारण त्यसलाई निकाल्न एकदमै असहज भएको डा. पन्त बताउँछन्।
बालकको मस्तिष्कमा भने गम्भीर असर नपुगेको डा. पन्तको दाबी छ। सामान्यतया यस्तो अवस्थामा मस्तिष्कको माध्यमबाट शल्यक्रिया गर्ने प्रचलन हुन्छ, जुन बढी जोखिमपूर्ण हुनुका साथै बिरामीको अस्पताल बसाई पनि लामो हुने गर्छ। तर, यसपटक चिकित्सकको टोलीले आँखाको बाहिरी भागबाटै शल्यक्रिया गर्न सफलता पाएको हो।
शल्यक्रिया पश्चात् बालकलाई लामो समयसम्म आईसीयू वा भेन्टिलेटरमा राख्नु नपरेको र हाल बालकले सामान्य रूपमा खाने, खेल्ने जस्ता क्रियाकलाप गर्न थालिसकेको चिकित्सकले जनाएका छन्। बालकलाई चाँडै नै अस्पतालबाट डिस्चार्ज गरिने डा. पन्तले बताए।
प्युठानका ३ वर्षीय ती बालकलाई वैशाख ६ गते खेल्दै गरेको अवस्थामा काँटी बिझेको उनका बुबा देवेन्द्र जिसीले जानकारी दिए। घटनालगत्तै उनलाई प्युठान जिल्ला अस्पताल लगिएको थियो। प्युठानले भैरहवा आँखा अस्पताल र भैरहवाले त्रिवि शिक्षण अस्पताल रिफर गरेपछि घटनाको दुई दिनपछि मात्रै बालकको शल्यक्रिया सम्भव भएको हो। शल्यक्रियापछि हाल बच्चाको अवस्था सामान्य रहेको छ।