विचार/ब्लग

धन्वन्तरी : आरोग्यका देवता

‘गुणस्तरीय आयुर्वेद सेवाका लागि गुणस्तरीय आयुर्वेद औषधि’

सन्दर्भ : धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस


डा वशंवदाम्बा कौण्डिन्न्यायनी

नेपालमा प्रत्येक वर्ष कात्तिक शुक्ल त्रयोदशीका दिन आयुर्वेद प्रवर्तक भगवान् धन्वन्तरीको जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाउने गरिन्छ। विभिन्न नाराका साथमा मनाइने यो दिवस यस वर्ष 'गुणस्तरीय आयुर्वेद सेवाका लागि गुणस्तरीय आयुर्वेद औषधि' भन्ने नाराका साथमा मनाउन लागिएको छ।

वस्तुतः सृष्टिकर्ता ब्रह्माबाट प्रादुर्भाव भएको आयुर्वेदलाई भूमण्डलमा अवतरण गराउने श्रेय भगवान् धन्वन्तरीलाई जान्छ। समुद्र मन्थनका क्रममा शङ्ख, चक्र, जलौका (एक प्रकारको जुका, जसलाई शल्यचिकित्सकहरुले रक्त स्रवित गराउन प्रयोग गर्छन्), तथा अमृत कलश लिएर उत्पन्न भएका भगवान् धन्वन्तरी भगवान् विष्णुका अंशावतारका रुपमा पूजित छन्।

भगवान् धन्वन्तरी आरोग्यका देवता मानिन्छन्। उनको अवतरण कात्तिक शुक्ल त्रयोदशी (धनतेरस, कागतिहार) का दिन भएका हुनाले नै यस दिनलाई धन्वन्तरी जयन्ती भनिएको हो। यसै कारण यस दिन आयु एवं आरोग्यको कामना गर्दै चिकित्साकर्मका सफलता हेतु आयुर्वेद अनुयायीहरु भगवान् धन्वन्तरीको विधिपूर्वक पूजाअर्चना गर्ने गर्छन्।

आयुर्वेदको अवतरण सर्वप्रथम हिमवत्खण्डमा भएको उल्लेख छ। नेपाल हिमवत्खण्डभित्र पर्ने भएकाले आयुर्वेदको अवतरणको मूल थलो नेपालको हिमालयपार्श्व नै मानिन्छ। यस कारणले पनि आयुर्वेदको विशिष्ट परम्परा यस देशमा हुनु स्वभाविक एवं गौरवपूर्ण पनि छ।

यसै दिनलाई राष्ट्रले आरोग्य दिवसका रुपमा समेत घोषणा गरेको धेरै नै वर्ष बितिसकेको छ। अर्कातिर देशको एक मात्र आयुर्वेद चिकित्सालयले १०० वर्ष पार गरिसकेको इतिहास रहेको छ। यति हुँदा पनि आयुर्वेद क्षेत्रको विकास, विस्तार, प्रचार तथा प्रसार जतिसम्म हुनु पर्ने हो त्यति हुन नसक्नुले कतै न कतै यस विधाप्रति राष्ट्रको उदासिनता प्रष्ट हुन्छ।

अर्को लामो गौरवपूर्ण इतिहास बोकेको आयुर्वेद औषधि उत्पादक संस्था सिंहदरबार वैद्यखानाको गुणस्तरीय उत्पादन छँदाछँदै र बढ्दो माग हुँदाहुँदै पनि हालसम्म त्यसो हुन नसकेकोमा आगामी दिनहरुमा यसको गुणात्मकता अभिवृद्धि गर्दै जिएमपीमा लैजानु अति आवश्यक देखिन्छ।

राष्ट्रले अन्धाधुन्ध रुपमा र एकपक्षीय रुपमा आधुनिक पाश्चात्य चिकित्सा प्रणालीको मात्र विकास-विस्तारमा जोड दिई राष्ट्रको मौलिक चिकित्साका रुपमा रहेको र सुदीर्घ परम्परा बोकेको आयुर्वेद जस्तो निरापद, सुलभ र स्वदेशी स्रोतबाट प्रदान गर्न सकिने चिकित्सा पद्धतिलाई उपेक्षा गर्ने गरेको तथ्य दुःखपूर्ण छ।

यस वर्षको नारामा भनिए अनुसार गुणस्तरीय आयुर्वेद सेवा दिन गुणस्तरीय औषधि अपरिहार्य छ। आयुर्वेदमा उल्लेख भए अनुसार चिकित्साका चार पाउहरु दक्ष चिकित्सक, सबै गुणले युक्त औषधि, दक्ष परिचारक र रोगीमध्ये महत्त्वपूर्ण भूमिका भएको गुणस्तरीय औषधिमा ध्यान दिने निकायको उचित प्रबन्धनका अभावमा नेपालमा निर्माण भइरहेका औषधिहरुको उचित नियमन इत्यादि नभइराखेको देखिन्छ।

औषधि व्यवस्था विभागभित्र आयुर्वेदको नाम मात्रको उपस्थितिले कदापि आयुर्वेद औषधि उत्पादनहरुको गुणदोषमापन, अनुगमन तथा नियन्त्रण सम्भव हुन सक्दैन। त्यस्तै सधैं अन्तर्राष्ट्रिय मापदण्डहरु स्वीकार्य नहुन पनि सक्छन्। भष्म इत्यादिको समाप्ति तिथि समेत अलग हुनसक्ने कुराको समेत ख्याल गर्दै आयुर्वेदमा वर्णित औषधि परीक्षण विधिहरुको समेत उपयोग गर्दै र आयुर्वेदीय मापदण्डहरुको समेत पालन गर्दै अलग प्रयोगशाला सहितको आयुर्वेदीय औषधिहरुको उचित नियमन गर्ने अलग निकाय स्थापना गरिनु अपरिहार्य छ।

जबसम्म नेपालमा सबै प्रकारका आवश्यक आयुर्वेद औषधिहरुको गुणस्तरीय निर्माण गर्ने अवस्था आउँदैन तबसम्म गुणस्तरीय औषधिहरुको आयात बन्द गरिनु उचित हुँदैन। यसले चिकित्साको असफलता मात्र हैन चिकित्सकको वृत्तिहानि, नैराश्य, रोगीको रोग निवारणको अभाव र अन्त्यमा आयुर्वेद चिकित्साप्रति नै वितृष्णा पलाउन सक्ने समेतको भयावह स्थति उत्पन्न हुनसक्छ।

नेपालमै प्राप्त जडीबुटीहरुको पहिचान, उत्पादन, प्रशोधन तथा औषधि निर्माणका लागि सातै प्रदेशमा विभिन्न आवश्यक संस्थाहरुको स्थापना साथै अनुसन्धान केन्द्रहरुको स्थापना तथा सञ्चालन नाममात्रका रुपमा नभई प्रभावकारी रुपमा हुनुपर्ने आवश्यकता छ।

प्राकृतिक जडीबुटीहरु लामो परम्पराबाट हितकारी प्रमाणित भएका हुन्। हजारौं वर्षदेखि अविच्छिन्न परम्पराका रुपमा प्रयोगद्वारा क्रमशः प्रमाणित हुँदै आएका जडीबुटीहरुको प्रभावकारिता कोभिड-१९ का समयमा आउँदासम्म पनि उत्तिकै देखिएको तथ्य सबैका सामु प्रष्ट नै छ।

यस महामारीका समयमा आइसोलेसन सेन्टरहरुमा वितरित रोगप्रतिरोधक क्षमता अभिवृद्धि गर्ने किसिमका गुडुची (गुर्जो), यष्टीमधु (जेठीमधु), त्रिकटु (सुठो, पिप्ला मरिच), तुलसी चिया, अश्वगन्धा, च्यवनप्राश जस्ता महत्त्वपूर्ण आयुर्वेद औषधिहरुको प्रभावकारिताले गर्दा छिटोभन्दा छिटो स्वास्थ्यलाभ गरी घर फर्कनेहरुको संख्या दिनानुदिन बढिराखेको देखिन्छ।

त्यसैगरी होम आइसोलेसनमा बसेर समेत जडीबुटी प्रयोग, प्राणायाम, शुद्ध हावा र घामको सेवन, व्यायाम, स्वस्थकर दिनचर्या तथा आहारविहारका आयुर्वेदोक्त नियमहरुको परिपालनबाट घरमै आरोग्यलाभ गर्नेहरुको संख्या समेत बढ्दो छ। अतः यस्ता गुणकारी जडीबुटीको संरक्षण, संवर्धन तथा उचित प्रयोग तथा स्वदेशी स्रोतहरुको अधिकाधिक परिचालन गर्दै एवं राष्ट्रको आफ्नो मौलिक चिकित्सा पद्धति आयुर्वेद चिकित्साद्वारा यथासम्भव स्वास्थ्य संवर्धन गर्दै राष्ट्रलाई समृद्ध पार्नु हामी सबैको कर्तव्य पनि हो।

अन्त्यमा, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यस धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसका उपलक्ष्यमा आयुर्वेद चिकित्सा पद्धति अन्तर्गतका आधिकारिक संस्था तथा आधिकारिक आयुर्वेद विज्ञहरुबाट परामर्शसहित विभिन्न सेवाहरु लिँदै आरोग्यलाभ गर्नका लागि भगवान् धन्वन्तरिले प्रेरणा प्रदान गरुन् साथै सुखायु, हितायु र अरोगताको प्राप्ति होस भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

साथै आयुर्वेद चिकित्सकहरु तथा विशेषगरी आधुनिक चिकित्साका चिकित्सकहरुले पनि एक अर्काका चिकित्सा पद्धतिप्रति सहिष्णु बनिदिन एवं विनाप्रमाण, तथ्य नबुझी लाञ्छना लगाउने र बिरामीहरुलाई दिग्भ्रमित गर्ने काम नगरिदिनुहुन समेत हार्दिक आग्रह गर्दछु। जय आयुर्वेद। जय धन्वन्तरी।

(डा कौण्डिन्न्यायनी कायचिकित्सा विशेषज्ञ हुन्।)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने