काठमाडौं - कोरोना भाइरस संक्रमण (कोभिड१९) देखिएको एक वर्ष बित्न लाग्दा समेत नियन्त्रणमा आउन सकेको छैन।
भाइरस नियन्त्रणका लागि हालसम्म पनि कुनै खोप वा औषधि पत्ता लाग्न नसक्दा विश्वमा लाखौँं मानिसको मृत्यु भएको छ।
यद्यपी विश्वका विभिन्न देशमा १०० भन्दा बढी खोपबारे अनुसन्धान भइरहेको बताइएको छ। तीमध्ये ११ वटा खोप थर्ड फेजमा अनुसन्धान भइरहेको छ भने ३ वटा खोप कम्पनीले आफूले उत्पादन गरेको खोपको प्रभावकारीता ९० भन्दा माथि रहेको दाबी गरेका छन्।
केही दिन यता अमेरिकन कम्पनी फाइजरले बनाएको खोपको प्रभावकारीता ९५ प्रतिशत, मर्डेनाले पनि आफुले उत्पादन गरेको खोप ९४ दशमलब ५ प्रतिशत, रसियाको स्पुतानिक खोप ९५ प्रतिशत र अक्सफोर्डले ७० प्रतिशत प्रभावकारी रहेको दाबी गरेका छन्।
खोप उत्पादकले यसरी दाबी गरिरहेको खोपको प्रभावकारीता भनेको के हो त?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतमा रहेको बालस्वास्थ्य महाशाखा (हाल यो माहाशाखा परिवार कल्याण महाशाखामा मर्ज भएको छ) का पूर्व निर्देशक तथा खोपबारे जानकार डा श्यामराज उप्रेती भन्छन्,‘कुनै पनि नयाँ खोप उत्पादन भइसकेपछि ती खोपको केही सिमित संख्या लक्षित बिरामीमा दिइन्छ। यस्तै अर्को समूहलाई खोप दिइँदैन। यसरी त्यो खोपले कति बिरामी संख्यामा निको हुन्छन्, त्यसैलाई खोपको प्रभावकारिता भनिन्छ।’
परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका दुई समुहमध्ये एउटालाई खास खोप वा औषधि दिँदा तोकिएको समयभित्र कति फरक आयो वा प्रभाव देखियो भन्ने बुझ्नुपर्छ। अर्को समुह जसलाई त्यो खास खोप वा औषधि दिइदैँन, त्यसलाई प्लासेवो भनिन्छ।
उनका अनुसार त्यो खास खोप वा औषधिले तोकिएको अवधिमा कति व्यक्ति निको भए भनेर नतिजा निकालिन्छ। जस्तो १०० जनामध्ये त्यो खास खोप वा औषधिले ९५ जना निको भए र उनीहरुमा रोगसँग लड्ने क्षमता विकास भयो भने त्यसको प्रभावकारिता ९५ प्रतिशत रहेछ भन्ने बुझिन्छ।
यसरी कम्पनीले आफुले उत्पादन गरेको खोपको सबै तथ्यांक समेटिएको पहिलो, दोस्रो र तेस्रो फेजको रिजल्टसहितको प्रतिवेदन नियामनकारी निकायमा पेस गर्छ। यदि त्यो निकायले उक्त प्रतिवेदन अध्ययन गरी ठिक छ भन्यो भने त्यो खोप बजारमा जान पाउँछ।
डा शर्मा भन्छन्,‘त्यो कम्पनी विश्व स्वास्थ्य संगठनमा पनि आवेदन दिन्छ। तर त्यसको लागि समय लाग्छ। जस्तो जापानिज इन्सेफ्लाइटिसका लागि भ्याक्सिन बनेको ६ वर्ष पछि संगठनले प्रिक्वालिफेकसन (पिक्यु) गरेको थियो।’
नेपालले पनि त्यो समयमा चीनबाट भ्याक्सिन खरीद गरी जनतालाई दिइएको शर्मा बताउँछन्,‘त्यो समय नेपालमा जापानिज इन्सेफ्लाइटिसले मानिस मरिरहेका थिए। त्यसैले चीनको नियामक निकायमा दर्ता भएको र त्यहाँका जनताले पनि पाइरहेकाले हामी डब्ल्युएचओ पिक्यु कुरेनौँ। भ्याक्सिन प्रयोग ग¥याँै। ९८ प्रतिशत भ्याक्सिनले काम गरेको थियो।’
अहिले कोरोना खोपका विषयमा आइरहेको प्रभावकारिताको अर्थ पनि उक्त खोपले गरेको कामको आधारमा कम्पनीहरुले दाबी गरेका हुन्। कम्पनीले ७० प्रतिशत प्रभावकारी छ भन्नुको अर्थ उक्त खोप लगाएका १०० जनामा ७० जनामा प्रभावकारी रुपमा खोपले काम गरेको बुझ्नुपर्छ। यस्तै ९० वा ९५ प्रतिशत प्रभावकारी भनेर दाबी गरिएको छ भने उक्त खोपले १०० जनामध्ये ९० वा ९५ जनामा प्रभावकारी काम गरेको बुझ्नुपर्छ।