मानव सभ्यताको कालखण्डदेखि नै शारीरिक कार्यलाई घटाउँदै छिटो र सजिलो होस भन्ने भावनाबाट अनुसन्धानले यो आधुनिकता सम्भव भएको कुरामा दुई मत नहोला। यो दौरानको विकासलाई हेर्दा पश्चिमी सभ्यता निकै नै अगाडि रहेछ, अनुसन्धान तथा विज्ञान उनीहरुको नै उपज हो भन्ने लाग्नु स्वभाविक हो।
तर, यो सबको बीचमा हाम्रो पूर्वीय दर्शनलाई शास्त्रको मात्र संज्ञा दिएर यसको उपलब्धिलाई बिर्सनु हाम्रो भुल हुनेछ। पूर्वीय दर्शनका महान ऋषिमुनिहरू वास्तविक वैज्ञानिक हुन् भन्ने धेरैलाई थाहा नहोला किनकि हामीले हिन्दु धर्मलाई एक दर्शन/शास्त्रको रुपमा मात्र चिनेका छौं।
हाम्रो दर्शन विज्ञानको बिउ हो किनकि यो सबैभन्दा पुरानो, शाश्वत, नित्य र परिमार्जित छ। सायद इतिहासमा सप्तऋषि लगायतका महात्माहरुको विवरण एकिनका साथ कुनै किताबमा वर्णन छैन जसकारण हामी उहाहरुको अस्तित्वमाथि नै प्रश्नचिह्न लगाउँछौं। तर जन्ममिति भएका आधुनिक वैज्ञानिकलाई हामी असली विज्ञानका प्रवर्तक मान्छौं किनकी हामी नतिजा हेर्छौं प्रक्रिया होइन।
चिकित्सा शास्त्रका पिता भनेर आज हिप्पोक्रेट्सको नाम आउँछ तर उनीभन्दा हजारौं वर्ष अगाडि 'चरक' नामका ऋषिले चिकित्साको वर्णन आफ्नो पुस्तक चरक संहिताबाट गरेका छन्। त्यसमा उनले रोगका वर्णन र चिकित्सा मात्र नभएर स्वास्थ्य रक्षाका उपाय लेखेका छन् जुन अहिले आधुनिक चिकित्सासँग मिल्दोजुल्दो छ। प्रविधिले सम्पन्न नभएको बेलामा पनि उनले आज माइक्रोस्कोपले पत्ता लगाएको जिवाणु हजारौं वर्षअघि नै वर्णन गरेका छन्।
अर्का ऋषि सुश्रुतलाई आज पनि भारतीय शल्य शास्त्रका पिता मानिन्छ। उनले सर्वप्रथम मृत शरीरलाई चिरेर अध्ययन गरी आजको आधुनिक चिकित्साले बताएजस्तै मानव शरीरका अङ्गप्रत्यंगको वैज्ञानिक वर्णन गरेका छन्। नाकको शल्यक्रिया गरेर उनले प्लास्टिक सर्जरीको अवधारणालाई स्थापित गरेका हुन् भन्ने आजका चिकित्सकहरु सहमत छन्।
यसबाहेक न्युटनले पत्ता लगाएका प्रसिद्ध गुरुत्वाकर्षण बलको सिद्धान्तको सोच उनीभन्दा अगाडि ब्रह्मगुप्त नामका ऋषिले अविष्कार गरेका हुन् भन्ने धेरैलाई थाहा छैन। विडम्बना यति मात्र हो कि उनले प्रमाणित गर्न सकेनन् किनकि प्रविधि त्यतिबेला थिएन तर उनको वैज्ञानिक सोच भने अवश्य थियो।
हाम्रो शास्त्रले निर्देश गरेको संस्कृति-परम्परा पूर्णतया: वैज्ञानिक छन्। मानिसको जन्मदेखि मृत्युसम्मका नियमहरु आज पनि एउटा वैज्ञानिक धरातलमा छन्। मानिसलाई साह्रै बिरामी हुँदा तुलसीको मोठमा लगेर राख्ने हाम्रो परम्परालाई तिनै पश्चिमका वैज्ञानिकले अध्ययन गर्दा तुलसीलाई अक्सिजनको सर्वोत्तम स्रोत भनेर भन्दा सो गाह्रो अवस्थामा तुलसीले शरीरमा अक्सिजनको सञ्चार गराउने देखिन्छ।
साउनमा मेहेन्दी लगाउने परम्परा हाम्रो माझ अझै पनि छ। त्यसबेला छालामा ढुसी तथा जिवाणुको संक्रमणको सम्भावना बढेर जान्छ जसको सुरक्षा मेहेन्दीले गर्छ। विवाहित हिन्दु महिलाले सिन्दुर लगाउनुमा पनि वैज्ञानिक कारण देखिन्छ। सिन्दुरमा पारद तत्व प्रधान हुन्छ जसले शरीरमा रक्तसञ्चारमा मद्दत गर्छ जसका कारण यौन अभिलाषा बढेर जान्छ। त्यसकारण विधवा नारीलाई सिन्दुर प्रतिबन्धित गरिन्छ।
हाम्रा हजुरबुबा/हजुरआमाहरुले उत्तर दिशामा सिरानी नराख्नु भनेको हामी सम्झन्छौं। वास्तवमा उत्तर दिशामा पृथ्वीको चुम्बकीय ध्रुव हुन्छ जसका कारण चुम्बकीय क्षेत्रको असमनताले गर्दा मस्तिष्कमा नकारात्मक विकिरण प्रवाह हुने र सो सम्बन्धित रोग हुने सम्भाव्य बढेर जान्छ भन्ने अनुसन्धानबाट प्रमाणित भएको छ।
परम्परागत शैलीमा पानी चाँदी र तामाको भाँडोमा मात्र राखिन्थ्यो किनकि चाँदी र तामामा जिवाणुनाशक गुण छ र आज पनि तामाको भाँडामा राखेको पानीको सेवन ग्यास्ट्रिकको उपचारमा चिकित्सकहरु सल्लाह दिन्छन्। हामीले दुई हात जोडेर गर्ने नमस्कार मुद्राले अकुप्रेसर पोइन्टहरुले आँखा, कान र मस्तिष्कलाई सक्रिय बनाउँछ जसले गर्दा सो व्यक्तिलाई सम्झने क्षमता बढ्छ र जिवाणुको संक्रमण पनि हुन पाउँदैन।
यसकारण हाम्रो विज्ञान अतुलनीय छ, सम्पन्न छ। यसलाई बुझेर सम्मान तथा संरक्षणमा अघि बढेर हामीले आफ्नो पृथक पहिचान स्थापित गर्न सक्छौं। हामीले हाम्रो गर्व गर्न लायक सभ्यता पाएका छौं, संस्कृति पाएका छौं। हामी धन्य छौं र अबको पिँढीले पनि यही भन्न पाउने वातावरण निर्माणमा लागौं।
(लेखक खनाल भारत कर्नाटकस्थित केएलई आयुर्वेद कलेजमा जनरल मेडिसिन (आयु)मा एमडी दोस्रो वर्षमा अध्ययनरत छन्)