काठमाडौं - मोरङकी ३८ वर्षीया माया (नाम परिवर्तन)। उनी सुन्न सक्दिनन् न त राम्रोसँग नै देख्न सक्छिन्। देख्न र सुन्न नसक्ने भएकाले उनलाई दैनिकी चलाउन पनि निकै अप्ठ्यारो पर्छ।
त्यही माथि घर परिवारमा कसैलाई पनि सांकेतिक भाषा नआउने, त्यही भएर पनि उनको जीवन सामान्य छैन। परिवारमा कसैलाई पनि दोभाषे नआउने भएकाले पनि उनी लकडाउनको समयमा एक महिना घरभित्रै थुनिइन्।
उनको परिवारले उनलाई घर बाहिर निस्कनै दिएन। तर के कारणले आफु घरभित्रै थुनिएको हो, भन्ने बारे उनी बेखबर थिइन्।
राष्ट्रिय बहिरा महासंघ नेपालका परियोजना व्यवस्थापक सानुखिम भाँजा भन्छन्, ‘घरबाट बाहिर नजाउ भन्छ। किन बाहिर नजाउ भन्छ उहाँलाई थाहा छैन। अरुले हेर्छन, पढ्छन् र पो थाहा पाउँछन्।’
आफुहरुले यस बारेमा थाहा पाएपछि घरमै गएर सांकेतिक भाषामा बताएपछि मात्र उनले कोरोनाका कारण बाहिर निस्कन नपाएको जानकारी पाइन्।
‘जब हामीले उहाँको बारेमा थाहा पायौं। घरमै गएर सांकेतिक भाषामा भनेपछि मात्र उहाँले कोरोनाको कारणले पो बाहिर नजाउ भन्नु भएको बल्ल थाहा पाए भन्नुभयो।’ उनले भने।
अधिकांशको परिवारमा सांकेतिक भाषा नआउने भएकाले पनि श्रवणदृष्टि विहीन अपांगता भएका व्यक्तिहरु सूचनाको पहुँचबाट टाढा रहने गरेको उनले बताए।
श्रवणदृष्टि विहीनतालाई दुई इन्द्रीय सम्बन्धी अपांगताका रुपमा बुझ्न सकिन्छ। जसमा सुनाई र दृष्टि सम्बन्धी अपांगता हुन्छ। त्यसैले पनि श्रवणदृष्टि विहीनता भएका व्यक्तिमा संचार तथा शिक्षा प्राप्त गर्न कठिनाई हुन्छ।
अपांगतालाई सरकारले १० वर्गमा वर्गीकरण गरेको छ। जसमध्ये श्रवणदृष्टि विहीनता पनि एक हो। नेपालमा हालसम्म १० जनाले मात्र श्रवणदृष्टि विहीनता उल्लेखित परिचय पत्र प्राप्त गरेको महासंघले जनाएको छ।
श्रवणदृष्टिको परिभाषा पूर्ण नहुँदा उनीहरुको पहिचान, परिचय पत्र प्राप्तिमा निकै चुनौती रहेको भाँजाले बताए। स्थानीयदेखि केन्द्रीय स्तरसम्म श्रवणदृष्टि विहीनता सम्बन्धी कुनै पनि कार्यक्रम सम्बोधन हुन नसकेकोमा उनीहरुको गुनासो छ।
परिचय पत्र नहुँदा सरकारले उपलब्ध गराउने सेवा सुविधा समेत उनीहरुले प्राप्त गर्न नसकेको महासंघका महासचिव सूर्यबहादुर बुढाथोकीले बताए।
सुनाई तथा दृष्टिको परीक्षणको सहज व्यवस्था गरी श्रवणदृष्टि विहीन बालबालिकाहरुको समयमा नै सही पहिचान गर्नुपर्ने, सही परिचय पत्र पाउने वातावरण हुनुपर्ने, उनीहरुले अध्ययन गर्न विद्यालयको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।
यस्तै, श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुलाई आवश्यक स्पर्श संचार तथा अन्य दोभाषेहरुको व्यवस्था गर्नुपर्ने, प्रविधिहरुको विकास र विस्तार गर्दै श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुको संचारलाई थप सहज र सरह बनाउनुपर्ने लगायत उनीहरुको माग छ।
२०६८ को जनगणना अनुसार नेपालमा श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुको संख्या ९ हजार ७ सय १४ जना रहेको महासंघले जनाएको छ।
सरकारले अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ मा विभिन्न व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनीहरु बताउँछन्।