काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहुँचका भरमा सुगमका अस्पतालमा 'काज' मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी भएको स्थानमा पठाउने अभियान सुरु गरे पनि माथिल्लो तहका कर्मचारीको हकमा भने 'मौनता' साधेको देखिन्छ।
स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा ९ औं र १० औं तहका चिकित्सकहरूको काज धमाधम फिर्ता भइरहँदा मन्त्रालय र विभागका महत्वपूर्ण महाशाखा ओगटेर बसेका ११ औं तहका (सहसचिव सरह) उच्च अधिकारीहरूको फाइल भने 'थन्किएको' छ।
मन्त्रालयको कर्मचारी प्रशासन तर्फका एक कर्मचारीका अनुसार ११औं तहका कर्मचारीहरुको पनि फाइल तयार छ तर उक्त फाइल होल्डमा राखिएको छ। ११औं तहका कर्मचारीको फाइल अगाडि बढाउँदा कतिपय कामहरु प्रभावित हुने भन्दै केही समयका लागि होल्डमा राखिएको ती कर्मचारीले जानकारी दिए।
यी हुन् दरबन्दी एकातिर र कार्यक्षेत्र अर्कोतिर भएका ११ औं तहका ७ उच्च अधिकारी
डा. प्रकाश बुढाथोकी: डा बुढाथोकीको दरबन्दी वीर अस्पतालमा छ। उनी मन्त्रालयका प्रवक्ता एवं एचइओसीका प्रमुखका रूपमा काजमा कार्यरत छन्।
डा. कृष्णप्रसाद पौडेल: डा पौडेल स्वास्थ्य बीमा बोर्डका निर्देशकका रूपमा काजमा कार्यरत छन्। उनको दरबन्दी त्यहाँ छैन। उनको दरबन्दी मन्त्रालयकै पुलमा रहेको छ।
डा. सरोज शर्मा: वीर अस्पतालमा दरबन्दी रहेका डा. शर्मा हाल मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुखका रूपमा काजमा छन्।
डा. चुमनलाल दास: नारायणी अस्पताल वीरगञ्जमा दरबन्दी भए पनि उनी हाल नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा मन्त्रालयमा काजमा छन्।
डा. रोशन न्यौपाने: भरतपुर अस्पतालमा दरबन्दी भएका अर्थोपेडिक चिकित्सक डा. न्यौपाने हाल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकका रूपमा काजमा छन्।
डा. मदन कुमार उपाध्याय: राष्ट्रिय ट्रमा सेन्टरमा दरबन्दी भए पनि उनी हाल परिवार कल्याण महाशाखाको निर्देशकका रूपमा काजमा कार्यरत छन्।
डा. सर्वेश शर्मा: केन्द्रीय कारागार अस्पतालमा दरबन्दी रहेका डा. शर्मा हाल राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकका रूपमा काजमा छन्।