मधेश प्रदेश, जनसंख्या र भौगोलिक संरचनाका हिसाबले नेपालको एक विशिष्ट प्रदेशका रूपमा परिचित छ । मधेश प्रदेश देशकै दोस्रो ठूलो जनसंख्या भएको प्रदेश हो । २०२१ को जनगणनाअनुसार यहाँको कुल जनसंख्या ६१ लाख १४ हजार ६ सय पुगेको छ । उमेर समूहको हिसाबले ९ वर्षदेखि ४५ वर्षसम्मका जनसंख्या ४१ लाख ९८ हजार ५ सय (६८.६६ प्रतिशत) रहेको छ, जसमा पुरुष २० लाख ७० हजार ८०९ (३३.८७ प्रतिशत) र महिला २१ लाख २७ हजार ६९९ (३४.७९ प्रतिशत) रहेका छन् । तर क्षेत्रफलका दृष्टिले भने यो सबैभन्दा सानो प्रदेश हो, जसको कुल क्षेत्रफल ९,६६१ वर्ग किलोमिटर मात्र रहेको छ । सीमाना संरचनाको हिसाबले यसको उत्तर-पूर्वमा कोशी प्रदेश, उत्तर-पश्चिममा बाग्मती प्रदेश र दक्षिणतर्फ भारत सँग अन्तर्राष्ट्रिय सीमाना जोडिएको छ । प्रशासनिक संरचनातर्फ हेर्दा, यस प्रदेशमा ८ जिल्ला समेटिएका छन् । साथै, यहाँ १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाहरू रहेका छन्, जसले स्थानीय तहको सशक्त उपस्थिति र प्रशासनिक पहुँचलाई झल्काउँछ।
लागु औषध भन्नाले त्यस्ता औषधी वा पदार्थलाई जनाउँछ, जसले मानिसको शारीरिक र मानसिक स्वास्थ्य, भावना, सोचाइ, चेतना र व्यवहारमा असर पार्छ । यस्ता पदार्थले विशेषगरी केन्द्रीय स्नायू प्रणालीमा प्रभाव पारेर व्यक्तिको अनुभूति र निर्णय क्षमतामा परिवर्तन ल्याउँछन् । प्रारम्भिक प्रयोगमा यस्ता पदार्थले उत्साह, शान्ति वा नयाँ किसिमको आनन्दको अनुभूति गराउन सक्छन्। यही कारणले धेरै मानिसहरू पुनः प्रयोग गर्न आकर्षित हुन्छन् । तर निरन्तर प्रयोग गर्दा बिस्तारै शारीरिक र मानसिक रूपमा लत (आसक्ति) बस्न थाल्छ, जसले व्यक्तिको स्वास्थ्य, परिवार र सामाजिक जीवनमा गम्भीर असर पार्छ।
कानूनले निषेध गरेका गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन जस्ता पदार्थहरू अवैध लागु औषध हुन् । त्यस्तै, सूर्तिजन्य पदार्थ र मदिरा भने पूर्ण रूपमा प्रतिबन्धित नभए पनि कानूनी रूपमा नियन्त्रित पदार्थ हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार, लागु पदार्थ भनेको यस्तो वस्तु हो, जुन स्वस्थ शरीरका लागि आवश्यक हुँदैन तर प्रयोग गर्दा स्वास्थ्यमा हानिकारक प्रभाव पार्न सक्छ।
लागु औषध कति प्रकारका हुन्छन्?
मुख्य गरेर लागु पदार्थहरुलाई दुई भागमा बिभाजन गरिएको छ ।
१. प्राकृतिक लागु पदार्थ: यी प्राकृतिक रूपमा उम्रने वा मानिसले तयार गर्ने पदार्थ हुन्। जस्तै: गाँजा, चरेस, भाङ, धतुरो, अफिम, रक्सी आदि। यस्ता पदार्थहरू सीधै प्रकृतिबाट प्राप्त हुन्छन् र नशा पैदा गर्ने गुण हुन्छ।
२. औषधि जन्य लागु पदार्थः– मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरित नशा लिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधिजन्य लागु पदार्थ भनिन्छ । जस्तैः- नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन,, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ आदि ।
मधेश प्रदेशको लागुऔषध वर्तमान अवस्था
मधेश प्रदेशमा पछिल्लो समय प्रतिबन्धित ठूलो परिमाणमा लागुऔषध सम्बन्धी घटनाहरू उल्लेखनीय रूपमा बढ्दै गएका छन् । खुला सीमाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्न सजिले हुने र त्यसले झनै विकृति र अपराधिक क्रियाकलाप बढ्नलाई मद्दत गरिरहेको छ । यसै कारण लागुऔषध प्रयोग र सम्बन्धित अपराधका घटनाहरूमा वृद्धि हुँदै गएको पाइएको छ, जसले सामाजिक सुरक्षा, युवा पुस्ता र सार्वजनिक स्वास्थ्यमा गम्भीर चुनौती थपेको छ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्याङ्क अनुसार आठ जिल्ला रहेको मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सात महिनामै विभिन्न प्रतिबन्धित लागुऔषधसहित ५ सय ४८ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये ३ सय ९६ जनामाथि मुद्दा दर्ता भएको प्रहरी विवरणमा उल्लेख छ । प्रहरीका अनुसार सो अवधिमा १०,९०८ किलो गाँजा, ३७९ ग्राम ब्राउन सुगर, २७२ किलो चरेस, २ किलो अफिम, २,३९० ग्राम हिरोइन, २,२२,८६९ ट्याब्लेट, १,५९२ बोतल र १५,६७१ इन्जेक्सन बरामद गरिएको छ।
यसअघि आर्थिक वर्ष २०८१/०८२ मा भने ८२४ जना पक्राउ परेका थिए, जसमध्ये ५८५ जनामाथि मुद्दा दर्ता भएको थियो। सो अवधिमा १६,४८९ किलो गाँजा, ७० ग्राम ब्राउन सुगर, ५०५ किलो चरेस, ४५ किलो अफिम, २,७०५ ग्राम हिरोइन, ३,७०,४४२ ट्याब्लेट, ७,५०४ बोतल र ६१,३३३ इन्जेक्सन बरामद गरिएको थियो।
त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा १ हजार १०८ जना पक्राउ परेका थिए, जसमध्ये ७९६ जनामाथि मुद्दा दर्ता गरिएको थियो। उक्त वर्ष ८,५३९ किलो गाँजा, ५९४ ग्राम ब्राउन सुगर, १२१ किलो चरेस, १ किलो अफिम, १,१३१ ग्राम हिरोइन, ४९,८८८ ट्याब्लेट, ३,४१६ बोतल र ५४,४०४ इन्जेक्सन बरामद भएको तथ्याङ्क छ।
आर्थिक वर्ष २०७९/०८० मा १ हजार ३०४ जना पक्राउ परेका थिए, जसमध्ये ९३७ जनामाथि मुद्दा दर्ता भएको थियो। सो वर्ष ५,६८३ किलो गाँजा, ४९ ग्राम ब्राउन सुगर, १५० किलो चरेस, ४ किलो अफिम, ७१२ मिलिग्राम हिरोइन, ६६,८६५ ट्याब्लेट, ८,२२७ बोतल र ६२,९०६ इन्जेक्सन बरामद गरिएको थियो।
यी तथ्याङ्कहरूले मधेश प्रदेश मा लागुऔषधको ओसारपसार, प्रयोग र नियन्त्रणका प्रयासबीच चुनौती अझै गहिरिँदै गएको देखाउँछन् । प्रहरी कारबाही तीव्र भए पनि अवैध सञ्जाल सक्रिय रहनु गम्भीर चिन्ताको विषय बनेको छ।
यस सन्दर्भमा माननीय गृहमन्त्री सुदन गुरुङ ज्यूलाई हार्दिक अनुरोध छ कि यस समस्यालाई उच्च प्राथमिकतामा राखी विशेष रणनीति सहित कडा अनुगमन, प्रभावकारी नियन्त्रण अभियान र सरोकारवालासँग समन्वयलाई अझ सशक्त बनाइयोस्। साथै सीमावर्ती क्षेत्रहरूमा निगरानी बढाई युवापुस्तालाई लक्षित सचेतनामूलक कार्यक्रम र पुनर्स्थापना सेवाहरू विस्तार गर्न आवश्यक रहेको छ।
मधेश प्रदेशमा युवापुस्ताहरु लागुऔषध तर्फ लाग्ने मुख्य कारणहरु :
१. भारत–नेपाल खुला सिमानाको प्रभाव: खुला सिमानाको प्रभावका कारण लागुऔषध समस्या झन् जटिल बन्दै गएको छ। छिमेकी बजारबाट सस्तो र सजिलै उपलब्ध हुने नशाजन्य पदार्थहरू सहज रूपमा भित्रिने गरेका छन् । सीमामा प्रभावकारी निगरानी र ओसार–पसार नियन्त्रण कमजोर हुँदा जोखिम कम देखिने र पहुँच धेरै हुने अवस्था सिर्जना भएको छ, जसले लागुऔषधको प्रयोग र कारोबार दुबै बढाउन मद्दत गरिरहेको छ।
२. साथी समूहको दबाब र प्रभाव: लागुऔषध प्रयोग सुरु हुनुको सबैभन्दा ठूलो कारणमध्ये एक साथीसंगीको दबाब हो । धेरै युवाहरू साथीको आग्रह वा समूहको प्रभावमा पहिलोपटक प्रयोग गर्न पुग्छन्। समूहमा आफूलाई ‘कूल’ वा ‘फिट’ देखाउने चाहनाले पनि यस्तो व्यवहार बढाउँदै लैजान्छ । त्यसैगरी, केही युवाहरू आर्थिक रूपमा सम्पन्न साथीहरूसँग घुलमिल हुने, उनीहरूको खर्चमा लागुऔषध प्रयोग गर्ने र विस्तारै त्यसैमा निर्भर बन्दै जाने प्रवृत्ति पनि बढ्दो रूपमा देखिएको छ, जसले समस्या अझ जटिल र गम्भीर बनाउँदै लगेको छ।
३. बेरोजगारी र दिशाहिन युवा: बेरोजगारी र दिशाहीनताले युवापुस्तालाई गहिरो मानसिक दबाबमा पारेको छ। रोजगारीको अभाव, भविष्यप्रतिको अनिश्चितता र विदेश जाने जटिलताले धेरै युवामा तनाव, निराशा र अन्योल बढाइरहेको छ । यस्तो अवस्थाबाट केही राहत खोज्ने क्रममा साथीहरूको प्रभावमा “एकचोटि ट्राइ गर” भन्ने सानो सुरुवातले नै विस्तारै लागुऔषधतर्फ आकर्षण बढाउँदै लैजान्छ, जुन पछि गम्भीर लतमा परिणत हुने जोखिम बढदै गएको छ।
४. परिवारिक अस्थिरता र अभिभावकीय निगरानीको अभाव: घरभित्रको निरन्तर झगडा, आर्थिक अभाव, मानसिक हिंसा तथा रोजगारीका कारण आमाबाबु टाढा (विशेषगरी विदेश) बस्नुपर्ने अवस्थाले युवामा गहिरो मानसिक असर पारिरहेको छ । यस्तो वातावरणमा हुर्किएका युवाहरूले आवश्यक माया, साथ र स्पष्ट मार्गदर्शन पाउन सकेका छैनन् । अभिभावकीय निगरानी र सहकार्यको अभाव हुँदा उनीहरू घरभन्दा बाहिर बढी समय बिताउन थाल्छन् र साथीहरूको प्रभावमा सजिलै पर्छन् । यसरी सही दिशानिर्देशन नपाउँदा धेरै युवा क्रमशः गलत बाटोतर्फ मोडिँदै, विशेषगरी लागुऔषध प्रयोगतर्फ आकर्षित हुने क्रम बढ्दो देखिन्छ।
५. कानुनी नियन्त्रणको कमजोरी र नशा नियन्त्रणमा चुनौती: लागुऔषधमा संलग्न व्यक्तिहरू पक्राउ परे पनि सजाय पक्का हुने विश्वास कमजोर रहँदा धेरैले जोखिमलाई सहज रूपमा लिने प्रवृत्ति बढ्दै गएको छ । कानुनी प्रक्रिया कमजोर हुनु, उजुरी व्यवस्थाको अपर्याप्तता र राजनीतिक हस्तक्षेपका कारण अवैध लागुऔषधको कारोबार नियन्त्रणमा चुनौती थपिएको छ।
यसैबीच, लागुऔषध कारोबारमा संलग्न केही व्यक्तिहरू राजनीतिक पहुँच र संरक्षणको भरमा कानुनलाई बेवास्ता गर्दै यस्तो गतिविधिमा संलग्न भइरहेका आरोपहरू पनि उठ्न थालेका छन्। यसको परिणामस्वरूप युवापुस्तामा कानुनी कारबाहीप्रति डर कम हुँदै गएको छ, जसले समस्या अझ गहिरो र व्यापक बन्ने जोखिम बढाएको देखिन्छ।
६. मोबाइल र सामाजिक मिडियाको प्रभाव: नयाँ पुस्तामा मोबाइल र सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ । Facebook, TikTok, Instagram जस्ता प्लेटफर्महरूमा देखाइने “ड्रग ग्लोरिफिकेशन” अर्थात् नशालाई स्टाइल, फेशन वा लोकप्रियताको प्रतीकका रूपमा प्रस्तुत गरिने सामग्रीले युवामा गहिरो मनोवैज्ञानिक प्रभाव पारिरहेको छ । यस्ता सामग्रीबाट प्रभावित भएर धेरै युवा लागुऔषधप्रति आकर्षित हुने र प्रयोगतर्फ उन्मुख हुने जोखिम बढेको देखिन्छ। साथै, सामाजिक सञ्जालमार्फत लागुऔषध प्रयोग गर्ने समूहहरू सजिलै संगठित हुने प्रवृत्ति पनि बढेको छ । विभिन्न ग्रुप बनाएर कहाँ भेला हुने, कसरी पदार्थ ल्याउने र प्रयोग गर्ने भन्ने योजनासमेत डिजिटल माध्यममै तय हुने गरेको पाइएको छ, जसले युवाहरूलाई परिवारको निगरानीबाट टाढा राख्दै गलत गतिविधितर्फ धकेलिरहेको छ ।राजदैनिक पत्रिकाका सम्पादक सन्तोष यादवका अनुसार, सामाजिक सञ्जालको सही र जिम्मेवार प्रयोग हुन नसक्दा यसको नकारात्मक प्रभाव तीव्र रूपमा बढ्दै गएको छ। यसका कारण युवापुस्तामा लागुऔषध प्रयोग मात्र होइन, कम उमेरमै विवाहजस्ता गम्भीर सामाजिक समस्याहरू समेत बढ्दै गएको देखिएको छ।
७. स्थानीय डिलरको पहुँच र युवापुस्तामा प्रभाव: मधेश प्रदेशका विभिन्न स्थानमा लागुऔषध डिलरहरू विद्यालय, चोक र सार्वजनिक स्थानहरूमा सक्रिय देखिएका छन् । उच्च नाफाको लालसाले उनीहरूले सजिलै युवापुस्तालाई लोभ्याएर लागुऔषधतर्फ आकर्षित गराइरहेका छन् । यसै कारण, विद्यालयमा पढ्ने विद्यार्थीहरू समेत यस जोखिमपूर्ण गतिविधिमा फस्दै गएको देखिन्छ।
विशेषगरी, भारतबाट सजिलै उपलब्ध हुने लागुऔषधलाई युवाहरूमार्फत तस्करी गराउने र उनीहरूलाई उच्च मूल्यमा पैसा दिने प्रवृत्ति बढ्दै गएको छ। सर्लाही जिल्ला, बरहथवा नगरपालिका–८ का स्थानीय बासिन्दा राकेश कुमार रायका अनुसार, विद्यार्थीहरू विद्यालय आउँने तर विद्यार्थीहरू आफ्नो झोला स्कूलमै छोडेर भारतिय पलेट मोटरसाइकल लिएर २–३ घण्टा समयमा ५ हजारदेखि २० हजारसम्म कमाइ गर्दै आएको छन। तर, धेरैजसो ती विद्यार्थी त्यसपछि फेरि लागुऔषध प्रयोगमा फस्ने गरेका छन्। राकेश कुमार रायले थपे ति विद्यार्थीहरूको परिवारहरूले “मेरो छोरा कहाँबाट यति पैसा कमायो?” भन्ने हिसाब किताब नलिनु पनि युवाहरूलाई लागुऔषधमा फसाउनुको मुख्य कारण बनेको छ । स्थानीय नेटवर्कको सक्रियता र आर्थिक लोभले युवाहरूमा लागुऔषधको पहुँच र प्रयोग दुवै बढाउन प्रमुख भूमिका खेलेको देखिन्छ । प्रहरी र स्थानीय समुदायले सचेतना, निगरानी र नियन्त्रणका उपायहरू प्रभावकारी रूपमा लागू नगरेसम्म यो समस्या निरन्तर बढ्ने जोखिममा रहेको छ ।
८. सृजनात्मक गतिविधिको अभाव: मधेश प्रदेशमा लाइब्रेरी, खेलकुद, पार्क, युवा क्लब, प्रशिक्षण केन्द्र र परिवारले युवालाई कृषि वा अन्य काममा संलग्न गराउने अवसरहरू क्रमशः कम हुँदै गएका छन्। यस प्रदेशमा प्रायः सबैको आफ्नै जग्गा र गाई–बस्तु रहेको भए पनि अहिले गाई–बस्तु राख्ने कम भएका कारण अभिभावकहरूले आफ्ना छोरा–छोरीलाई काममा लगाउने प्रयास कम गरिरहेका छन् । सृजनात्मक गतिविधिका अवसर नहुँदा युवापुस्ताको खाली समय बढ्छ, जसले गलत वातावरणमा फस्ने जोखिमलाई अझ बढी बढाइरहेको छ । खाली समय र पर्याप्त मार्गदर्शनको अभावले युवाहरूलाई लागुऔषध र अन्य जोखिमपूर्ण गतिविधितर्फ सहजै तान्दै गएको देखिन्छ।
९. युवामा जागरूकताको कमी र नशाप्रति गलत धारणा: धेरै युवाहरूलाई लागुऔषधको दीर्घकालीन हानीबारे पर्याप्त जानकारी छैन । कतिपयले यसलाई ‘फ्यासन’, ‘स्टाइल’ वा ‘मुड परिवर्तन गर्ने साधन’को रूपमा बुझ्ने गरेका छन्, जसले गर्दा नशाप्रति आकर्षण बढ्दै गएको छ । यस्तो गलत धारणा र सीमित सचेतनाका कारण युवाहरू सजिलै लागुऔषध प्रयोगतर्फ आकर्षित हुने र त्यसमा फस्ने जोखिम उच्च बन्दै गएको देखिन्छ । पोखरा विश्वविधालयको जनस्वास्थ्य कार्यक्रमकी संयोजक सुशिला बरालका अनुसार, समयमै प्रभावकारी चेतनामूलक कार्यक्रम सञ्चालन, विद्यालयस्तरमा व्यवस्थित शिक्षा र परिवारसँगको निरन्तर संवाद विस्तार गर्न नसकिएमा यो समस्या झन् जटिल बन्दै जाने स्पष्ट संकेत देखिएको छ।
१०. समाजले के भन्छ” भन्ने डरको प्रभाव: मधेश प्रदेशमा परिवारभित्रका समस्या लुकाउने प्रवृत्ति गम्भीर सामाजिक चुनौतीका रूपमा देखा परेको छ। इज्जत जोगाउने र “समाजले के भन्छ” भन्ने डरले धेरै घरपरिवारले आफ्ना आन्तरिक द्वन्द्व, हिंसा, वा लागुऔषधजस्ता संवेदनशील विषयहरू सार्वजनिक गर्न वा समाधान खोज्न हिच्किचाइरहेका छन्। यसले समस्या समाधान हुनुको सट्टा झन् जटिल बन्दै गएको देखिन्छ । सामाजिक प्रतिष्ठा जोगाउने नाममा पीडा दबाउने संस्कृतिले व्यक्तिको मानसिक स्वास्थ्यमा असर पार्नुका साथै दीर्घकालीन रूपमा समुदायमा विकृति बढाउँदै लगेको छ।
११. प्रयोगात्मक र नैतिक शिक्षाको अभाव: नेपाल सरकारले लागू गरेको वर्तमान शिक्षा प्रणालीमा विद्यालयमा सैद्धान्तिक कक्षामा सीमित शिक्षण पद्धतिका कारण विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, सीप तथा नैतिक शिक्षाको अभाव बढ्दो रूपमा देखिएको छ । यसले विद्यार्थीलाई केवल “कक्षा पास गर्ने” मानसिकतामा सीमित राख्दै जीवनोपयोगी शिक्षाबाट टाढा पुर्याइरहेको छ।
अर्कोतर्फ, अभिभावकको बेवास्ता पनि शिक्षा सुधारको प्रमुख चुनौतीका रूपमा उभिएको छ। धेरैजसो सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूले आफ्ना छोराछोरीको नियमित पढाइ, उपस्थिती र प्रगतिबारे आवश्यक निगरानी नगर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विद्यालयसँगको समन्वय कमजोर हुँदा विद्यार्थीको शैक्षिक उपलब्धि मात्र होइन, समग्र व्यक्तित्व विकासमा समेत नकारात्मक प्रभाव परेको छ । रौतहट जिल्लाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकका अनुसार, अभिभावक र समुदायका सदस्यहरू विद्यालय व्यवस्थापन समिति गठनका बेला मात्र सक्रिय हुने तर शैक्षिक सुधारका लागि आयोजित बैठक वा छलफलमा सहभागी हुन नआउने प्रवृत्ति व्यापक छ। “विद्यार्थीको भविष्यबारे छलफल गर्न बोलाउँदा कोही उपस्थित हुँदैनन्,” उनले बताए। यसैबीच, नयाँ पुस्तामा बढ्दो लागूऔषध दुव्र्यसनले समस्या झन् जटिल बनाएको छ। विद्यालय र समुदायबीचको कमजोर समन्वय तथा निगरानी अभावका कारण युवा पुस्ता गलत दिशातर्फ आकर्षित भइरहेको छन्।
लागुऔषध लतका प्रमुख संकेतहरू (पहिचान गर्ने लक्षणहरू):
१. शारीरिक लक्षण: शरीरमा कमजोरी वा थकान लागनु, आँखामा रातोपन वा संकुचन देखा पर्नु, अपच वा खाना खान मन नलाग्नु, अनियमित निद्रा वा बढी सुत्ने समस्या आउँनु ।
२. मानसिक/भावनात्मक लक्षण: चिडचिडापन वा क्रोध बढ्नु , अत्यधिक उत्साह वा उदासी हुनु, ध्यान केन्द्रित गर्न कठिनाई हुनु, चिन्ता, डर वा आत्तिनु ।
३. व्यवहारिक लक्षण: साथी समूह परिवर्तन गर्नु, विद्यालय वा काममा अव्यवस्था हुनु, चोरी, झूट बोल्ने वा गलत काममा संलग्न हुनु, लगातार प्रयोगको इच्छा र नियन्त्रण गुमाउनु ।
४. सामाजिक लक्षण: परिवार र साथीहरूसँग टाढा हुनु , सामाजिक समारोहमा सहभागी हुन हिचकिचाउनु, कानूनी वा सामाजिक समस्यामा पर्ने ।
मधेश प्रदेशमा लागुऔषध नियन्त्रणका प्रभावकारी उपायहरू
१. सीमामा कडा निगरानी र नियन्त्रण: मधेश प्रदेशमा भारतसँगको खुला सिमानामा सुरक्षा व्यवस्था सुदृढ गर्दै अवैध लागुऔषध ओसारपसार रोक्न विशेष अभियान सञ्चालन गर्नु आवश्यक देखिन्छ । यसका लागि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोलाई सबै जिल्लाका बोर्डर क्षेत्रमा स्थापना गर्नुपर्नेछ । त्यस्तै, भारतिय पलेटमा चल्ने सबै सवारी साधनको नियमित चेकजाँच अनिवार्य बनाउनु पर्दछ। नयाँ सरकारले यदि भारतिय पलेट मोटरसाइकलको आवागमन नियन्त्रण गर्ने नीति लागू गर्न सकेमा, अवैध लागुऔषधको प्रवेश ठूलो हदसम्म रोक्न सकिन्छ। यस किसिमको प्रभावकारी निगरानी र नियन्त्रणले न केवल सिमानामा लागुऔषधको प्रवेशमा रोकथाम मात्र गर्दैन,साथै स्थानीय जनतामा पनि सुरक्षा र सचेतनाको भावना बलियो बनाउँदै जान्छ।यदि सिमानामा लागुऔषध प्रवेश नियन्त्रणमा सफल भयो भने, प्रदेशभरका प्रयोगकर्ताको संख्या घट्दै जानेछ र युवा पुस्तालाई यसबाट बचाउने दिशामा ठोस प्रभाव पर्न सक्छ।
२. कानुनी र कार्यान्वयन बलियो बनाउने: लागुऔषध सम्बन्धी मुद्दामा छिटो र प्रभावकारी कारबाही सुनिश्चित गर्नु अत्यावश्यक देखिन्छ। राजनीतिक हस्तक्षेप रोक्ने र दोषीलाई कडा सजाय दिने प्रणाली बलियो भए मात्र लागू औषध (नियन्त्रण) ऐन, २०३३ को प्रभावकारी कार्यान्वयन सम्भव हुन्छ । आवश्यकता अनुसार ऐनमा समयसापेक्ष परिमार्जन गर्ने व्यवस्था पनि अनिवार्य रहेको छ । कानुनी प्रक्रिया सुदृढ भएमा अवैध लागुऔषधको कारोबार र प्रयोगमा महत्वपूर्ण कमी आउन सक्नेछ । थाइल्यान्डमा पनि एक समयमा लागुऔषध देशको लागि ठूलो चुनौती थियो, तर कडा कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयनका कारण हाल त्यहाँ यसको प्रयोग घटदै गएको छ । यस्तै अनुभवबाट सिक्दै, यदि नयाँ सरकारले लागुऔषध सम्बन्धी कानुनलाई प्रभावकारी र व्यवहार्यमा ल्याउन सकियो भने, अवैध लागुऔषध प्रयोग गर्ने युवाको संख्या घटाउन सकिन्छ । जनताले पनि सचेत रहँदै प्रहरी र सम्बन्धित निकायसँग सहकार्य गरेमा कानुनी कार्यान्वयन प्रभावकारी बन्न सक्छ र युवापुस्तालाई लागुऔषधको जोखिमबाट जोगाउन सकिन्छ।
३. परिवारको भूमिका सुदृढ बनाउने: युवापुस्तालाई लागुऔषध र अन्य जोखिमपूर्ण गतिविधिबाट जोगाउन परिवारको सक्रिय सहभागिता अनिवार्य छ । अभिभावकहरूले आफ्ना छोराछोरीको दैनिक गतिविधिमा निगरानी राख्दै खुला संवादको वातावरण सिर्जना गर्नुपर्ने छ । केवल पढाइमा मात्रै ध्यान दिने होइन, उनीहरूको भावना, आवश्यकताहरू र चुनौतीहरू बुझ्ने प्रयास पनि अभिभावकले गर्नुपर्छ। साथै, अभिभावकहरूले आफ्नो छोराछोरीलाई मात्र निर्देशन दिने होइन, व्यक्तिगत अनुभव, नैतिक शिक्षा र जीवन कौशल सिकाउन परिवारसँग भेटघाट र समय बिताउने अवसर पनि दिनुपर्छ । सम्भव भएमा घरायसी काम, खेत वा अन्य उत्पादनशील गतिविधिमा सँगै संलग्न गराएर व्यवहारिक शिक्षा दिने उपाय प्रभावकारी बन्न सक्छ । यसरी परिवारले सकारात्मक वातावरण, मार्गदर्शन र अनुभव साझा गर्ने अभ्यासलाई प्राथमिकता दिएको खण्डमा युवापुस्तामा अनुशासन, जिम्मेवारी र सकारात्मक मूल्य विकास हुने र लागुऔषध प्रयोगको जोखिम घट्ने सकिन्छ।
४. युवामुखी चेतनामूलक कार्यक्रम: युवापुस्तालाई लागुऔषध र त्यसका दीर्घकालीन हानिबारे सचेत बनाउने युवामुखी कार्यक्रम अत्यावश्यक रहेको छन । यसअन्तर्गत विद्यालय, कलेज र समुदाय स्तरमा नियमित रूपमा जनचेतना अभियान सञ्चालन गर्नुपर्छ । कार्यक्रमले केवल जानकारी दिने मात्र नभई, युवामा सचेतना, आत्मसुरक्षा र जोखिम मूल्याङ्कन गर्ने क्षमता विकास गर्ने उद्देश्य राख्नुपर्छ। साथै, अनुभव साझा गर्ने, प्रश्नोत्तर सत्र, कार्यशाला र व्यावहारिक गतिविधिहरूको माध्यमबाट युवाहरूलाई लागुऔषध प्रयोगबाट हुने शारीरिक, मानसिक र सामाजिक नोक्सानको बारेमा बुझाउने काम गरिनु आवश्यक छ। यसले विद्यार्थी, परिवार र समुदायबीच संवाद बढाउने, सकारात्मक सामाजिक वातावरण निर्माण गर्ने र युवाहरूलाई जोखिमपूर्ण क्रियाकलापबाट टाढा राख्ने। विशेष रूपमा, लागुऔषध सम्बन्धी शिक्षा स्कुलको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्नु पर्ने आवश्यक छ । यसले विद्यार्थीहरूलाई प्रारम्भिक चरणमै सचेत बनाउने, जोखिम मूल्याङ्कन र आत्मसुरक्षा सीप विकास गर्ने, साथै दीर्घकालीन रूपमा प्रदेशमा लागुऔषध प्रयोग कम गर्ने प्रभावकारी उपायको रुपमा हुन सक्छ।
५. पुनर्स्थापना र परामर्श सेवा विस्तार: युवापुस्तामा बढ्दो लागुऔषध प्रयोगको सामना गर्न पुनर्स्थापना र परामर्श सेवाको पहुँच विस्तार अत्यावश्यक देखिन्छ । लतमा परेका व्यक्तिहरूका लागि पुनर्स्थापना केन्द्र, काउन्सेलिङ सेवा र मानसिक स्वास्थ्य उपचार सहज रूपमा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको छ । प्रभावकारी पुनर्स्थापना कार्यक्रमले मात्र व्यक्तिलाई लागुऔषधबाट मुक्त पार्ने मात्र होइन, सामाजिक र पारिवारिक जीवनमा पुनःसमायोजन गर्न सहयोग गर्छ । साथै, समुदायमा मानसिक स्वास्थ्य परामर्श केन्द्रहरू र हेल्पलाइन सेवा सञ्चालन गर्दा लतमा परेका युवाहरूलाई आवश्यक सहयोग र मार्गदर्शन समयमै उपलब्ध गराउनु पर्छ । यस्तो संरचना सुदृढ बनाएमा मधेश प्रदेशमा लागुऔषध प्रयोग घटाउन र दीर्घकालीन समाधान तर्फ अघि बढ्न सकिन्छ।
६. सामाजिक सञ्जालमा निगरानी र सचेतना: मधेश प्रदेशमा युवापुस्तामा लागुऔषध प्रयोग बढ्दै गएको अवस्थामा डिजिटल प्लेटफर्ममा निगरानी र सचेतनालाई प्राथमिकतामा राख्न आवश्यक देखिन्छ । TikTok, Instagram, Facebook जस्ता सामाजिक सञ्जालमा नशासम्बन्धी गलत र भ्रामक सन्देश नियन्त्रण गर्दै युवामा सकारात्मक र शिक्षामूलक सामग्री प्रवर्द्धन गर्नुपर्ने आवश्यक छ । सामाजिक सञ्जालमा रहेको “ड्रग ग्लोरिफिकेशन” अर्थात् नशालाई स्टाइल वा लोकप्रियता बढाउने माध्यमलाई सीमित गर्नु मात्र होइन, युवा लक्षित सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्छ । अभिभावकले सकेसम्म कम उमेरका बालबालिकालाई मोबाइल प्रयोग नगर्न दिनु, मोबाइल प्रयोग गर्दा समय समयमा निगरानी गर्नु अत्यावश्यक छ । यसले बालबालिकामा अनावश्यक जोखिम कम गर्ने, गलत प्रवृत्तिबाट टाढा राख्ने र जिम्मेवार डिजिटल प्रयोगको क्षमता विकास गर्ने महत्वपूर्ण भूमिका खेल्दछ । मोबाइल प्रयोग र सामाजिक सञ्जाल निगरानीले मात्र मधेश प्रदेशमा युवा र बालबालिकामा लागुऔषधको जोखिम घटाउन प्रभावकारी परिणाम दिन सक्छ।
७. शिक्षा, मनोरञ्जन र सृजनात्मक अवसर विस्तार: मधेश प्रदेशमा युवापुस्तालाई लागुऔषध र अन्य जोखिमपूर्ण गतिविधिबाट टाढा राख्न शिक्षा, मनोरञ्जन र सृजनात्मक अवसरको विस्तार अत्यावश्यक देखिन्छ । यसअन्तर्गत विद्यालयस्तरमा नैतिक शिक्षा र प्रयोगात्मक शिक्षा दिनुका साथै अभिभावक र विद्यालयबीच नियमित समन्वय स्थापित गर्नु जरुरी छ । विद्यार्थी, अभिभावक र शिक्षकबीच समय समयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गर्दा युवामा सही मार्गदर्शन र सामाजिक उत्तरदायित्व विकास गर्न सकिन्छ । साथै, खेलकुद, लाइब्रेरी, युवा क्लब र तालिम केन्द्रजस्ता सकारात्मक गतिविधि विस्तार गरी युवालाई व्यस्त र उत्पादक बनाउनु आवश्यक छ । पालिका स्तरमा एक लाइब्रेरीलाई २४ घण्टा खुला राख्ने व्यवस्था मिलाएमा अध्ययन र सृजनात्मक गतिविधिमा निरन्तर पहुँच बढाउने अवसर सिर्जना गर्न सकिन्छ । यस्तो कार्यक्रमले युवामा अनुशासन, सिर्जनात्मकता र सकारात्मक सामाजिक व्यवहार विकास गर्न सहयोग पुर्याउनेछ र लागुऔषध तथा अन्य नकारात्मक प्रवृत्तिबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्नेछ।
८. युवाका लागि रोजगारी र कौशल विकास कार्यक्रम विस्तार : मधेश प्रदेश सरकारले युवापुस्ताको सृजनात्मक क्षमता र रोजगारी अवसर बढाउने उद्देश्यले प्रत्येक पालिकामा Youth Skill Training Center सञ्चालन गर्ने योजना अघि बढाउनु पर्छ। यी केन्द्रमार्फत व्यवसायिक तालिम, स्टार्टअप प्रशिक्ष, र रोजगार सृजना सम्बन्धी कार्यक्रमहरू लागू गर्नु पर्छ । प्रदेशले युवालाई व्यवसाय वा स्टार्टअपमा सहयोग गर्न अनुदान, माइक्रो–लोन र तालिम रोजगारी जडान सुविधा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्छ । साथै, खेलकुद, कला–संगीत, र टेक्नोलोजी क्लबलाई बजेट सहयोग प्रदान गरी युवालाई सकारात्मक गतिविधिमा व्यस्त राख्ने प्रयास गरिनुपर्छ। युवामा आत्मनिर्भरता, सिर्जनात्मक सोच र उत्पादनशीलता विकास गर्न सहयोग पुर्याउनु पर्छ, जसले समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने र लागुऔषध तथा अन्य नकारात्मक प्रवृत्तिबाट युवालाई टाढा राख्ने मुख्य उपायको रूपमा काम गर्नेछ।
९. लागुऔषध भण्डार नष्ट गर्नु अपरिहार्य: मधेश प्रदेशमा लागुऔषधको भण्डार वा लुकाइराखिएको पदार्थ समयमै नष्ट गर्नुपर्ने आवश्यक रहेको छ । अवैध लागुऔषधलाई समयमै नष्ट गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू भयो भने प्रदेशमा लागुऔषध प्रयोगकर्ता केहि हदसम्म समयमै घटाउन सकिन्छ । केवल प्रयोगकर्तालाई नियन्त्रण गर्ने मात्र पर्याप्त छैन, भण्डार र तस्करी नेटवर्कमाथि पनि कडा निगरानी र कारबाही आवश्यक छ । यस कदमले युवा पुस्तामा लागुऔषध पहुँच घटाउने, जोखिम कम गर्ने र समाजमा सकारात्मक वातावरण सिर्जना गर्ने मुख्य उपायको रूपमा काम गर्नेछ।
लागुऔषध समस्याको दीर्घकालीन समाधानका लागि सीमामा कडा निगरानी, प्रभावकारी कानुनी कार्यान्वयन, परिवारको सक्रिय भूमिका, युवामुखी सचेतना कार्यक्रम, पुनर्स्थापना सेवा विस्तार, सामाजिक सञ्जाल अनुग्मन तथा शिक्षा र रोजगारीका अवसर वृद्धि अत्यावश्यक छन् । अन्ततः, सरकार, सुरक्षा निकाय, समुदाय, विद्यालय र परिवारबीच समन्वय र सहकार्य बिना यो समस्या समाधान सम्भव छैन । संयुक्त प्रयासबाट मात्र युवापुस्तालाई लागुऔषधको जोखिमबाट बचाउँदै स्वस्थ र सुरक्षित समाज निर्माण गर्न सकिन्छ ।