काठमाडौं- स्वास्थ्य बीमा बोर्डकी सदस्य जुनु श्रेष्ठले बीमा बोर्ड सदस्यका रुपमा आफूले कुनै पत्र नबुझेको बताएकी छिन्। बीमा बोर्डकै पूर्वसदस्य उनी अध्ययनका सिलसिलामा बाहिर रहेका कारण निष्क्रिय भएकी थिइन्।
बोर्डका एक कर्मचारीका अनुसार अध्ययनका लागि बाहिर गएपछि बोर्डका केही बैठकमा उनी भर्चुअल उपस्थित भएकी थिइन्। नियमअनुसार आफूले इमेल मार्फत् जानकारी समेत गराएको उनले बताएकी छिन्। स्वास्थ्य बीमा ऐन, २०७४ मा बोर्डलाई जानकारी नदिइ लगातार तीनपटक बोर्डको बैठकमा अनुपस्थित भएमा पद रिक्त भएको मानिने बताइएको छ। भौतिक रुपमा उपस्थिति हुन नसके पछि उनलाई हटाएर बोर्ड सदस्यबाट रिक्त बनाइएको थियो।
उनी हटाइएपछि अहिले एक सदस्य पद रिक्त राखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार सोही सदस्य पदमा उनलाई पुन: बहाली गर्नेबारे छलफल चलेको बताइएको छ। तर, श्रेष्ठका अनुसार उक्त विषयमा निर्णय भइसकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासँग सम्पर्क गर्दा त्यस्तो कुनै निर्णयमा हस्ताक्षर नगरेको आफूले जानकारी पाएको उनी बताउँछिन्।
उनले भनिन्, 'स्वास्थ्य बीमा बोर्ड सदस्य सम्बन्धि आइरहेको खबर प्रति मेरो कुनै सम्बन्ध छैन र मैले मनोनयन सम्बन्धि कुनै पत्र पनि बुझेको छैन।'