काठमाडौं- नेपाल सरकारले सरकारी कार्यालयहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। यो निर्णसँगै सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि ५ बजेसम्म कार्यालय समय तोकिएको छ।
तर उक्त निर्णय सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको हकमा के हुन्छ?
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त केसीले अस्पताल र स्वास्थ्य संस्थाहरूमा सातामा दुई दिन बिदा दिने वा नदिने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेको बताए।
‘अस्पतालहरू २ दिन बिदा हुँदा सेवा प्रभावित भई बिरामीहरू मारमा अवश्य नै पर्छन्,’ सूचना अधिकारी केसीले भने, ‘त्यसको निर्णय गर्नका लागि स्वास्थ्य मन्त्रालयको आन्तरिक बैठक बसी टुंगाइने छ।’
छलफलमा सातामा दुई दिन बिदा दिँदा हुन सक्ने जोखिम तथा बिरामीमा पर्ने प्रभावलाई समेत मध्यनजर गरिने उनले जानकारी दिए।
विगतमा सार्वजनिक बिदाका दिनहरूमा समेत स्वास्थ्य संस्थाहरूले सेवा दिने गरेको उनले बताए। अत्यावश्यक सेवा दिने संस्थाहरूको हकमा सरकारले पुनः खुलाएर पत्राचार गर्नेमा आफूहरू आशावादी रहेको उनी बताउँछन्।