मुसलमानहरुका लागि बर्षको सबै भन्दा पवित्र महिना रमजान नेपालमा अप्रिलदेखि शुरु हुन गइरहेको छ। रमजानको पालना इस्लामको ५ वटा स्तम्भमध्ये एक हो। र, विश्वभरका मुस्लिमहरु पुरा महिना व्रत (रोजा) बस्छन्। कुरानमा वर्णन गरे अनुसार रमजानको पवित्र महिनाको अवधिमा ज्यान जोखिम बनाउन सक्ने दीर्घ रोग, मधुमेह भएका केही व्यक्तिहरुबाहेक सबै स्वस्थ वयस्क मुस्लिमहरु रोजा बस्नु अनिवार्य हुन्छ। यस अवधिमा दीर्घ रोगीहरुलगायत केही व्यक्तिहरुलाई रोजा बस्न छुट दिइएको भएतापनि धेरै मुस्लिम मधुमेह रोगीहरु पनि रोजा बस्ने गर्छन् (Surah Al Baqarah Verse १८४-१८५)।
रमजानको महिनामा जीवनशैलीमा हुने परिवर्तन तथा मधुमेहको औषधि सेवनमा हुने परिवर्तनको कारण व्रत (रोजा) ले शरीरमा हुने मेटाबोलिजमा पनि गडबडी ल्याउँछ। त्यसैगरी, मधुमेह बिरामीमा हृदय, मिर्गौला र अन्य जटिलता हुँदा मधुमेह रोगीहरुमा रोजा बस्दा जोखिम बढेर जान्छ। त्यसकारण सुरक्षित रोजा सुनिश्चित गर्नका लागि मधुमेह बिरामीहरुले रोजा राख्नुअघि चिकित्सक र धार्मिक सल्लाह लिनुपर्छ।
विश्वभरी १५ करोड भन्दा बढी मुस्लिमहरु मधुमेहका रोगी छन्। नेपालमा जनगणना २०११ अनुसार १० लाख मुस्लिमहरु छन्। तर, मधुमेह लागेका मुस्लिमहरुको जनसंख्याको कुनै तथ्यांक छैन।
रोजा राख्दा हुने शारीरिक लाभहरु
• शरीरको वजन कम हुन्छ
• ग्लुकोज (एचबिए१सी) को नियन्त्रण हुन्छ
• बोसोको मात्रामा सुधार हुन्छ
• रक्तचाप नियन्त्रण हुन्छ
• प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ
• शरीर भित्रको विषाक्त पदार्थ बाहिर निस्कन्छ
रमजानको समयमा मधुमेह बिरामीहरुमा हुने जोखिमहरु
• रगतमा ग्लुकोजको अत्याधिक मात्रा कम हुनु (हाइपोग्लाइसिमिया)
• रगतमा ग्लुकोजको अत्याधिक मात्रा बढी हुनु (हाइपरग्लाइसिमिया)
• शरीरमा पानीको मात्रा अत्याधिक कम हुनु (जलवियोजन हुनु)
• टाइप १ मधुमेह बिरामीहरुको रगतमा एसिड (किटोन बडी) जम्मा हुनु
जोखिम कम गर्न के गर्नुपर्छ ?
• रोजा बस्ने निर्णय गर्नु भन्दा ६-८ हप्ता अगाडि चिकित्सक र धार्मिक सल्लाहको अधारमा जोखिमको मूल्यांकन गर्नुपर्छ।
• “‘अन्तराष्ट्रिय मधुमेह महासंघ’ र ‘मधुमेह र रमजान’ अन्तर्राष्ट्रिय गठबन्धन २०१६” मा रमजानको समयमा रोजा बस्न चाहने मधुमेह बिरामीहरुलाई ३ जोखिम समूहमा वर्गीकृत गरिएको छ। यसलाई इजिप्टको मोफ्टिले अनुमोदन गरेको छ।
o धेरै उच्च जोखिम:- मधुमेह बिरामीले रोजा राख्नै मिल्दैन।
o उच्च जोखिम:- मधुमेह बिरामीले रोजा राख्नु हुँदैन।
o मध्यम/कम जोखिम:- मधुमेह बिरामीले चिकित्सकको सल्लाह अनुसार रोजा राख्न मिल्छ।
• मधुमेह बिरामी र पारीवारिक सदस्यहरुले निम्न कुराहरुको बारेमा जानकारी राख्नुपर्छ :
o स्वस्थ्य पोषण
o नियमित व्ययाम
o औषधि र मात्राको समायोजन
o नियमित ग्लुकोजको जाँच
o रगतमा अत्यधिक कम ग्लुकोज (हाइपोग्लाइसिमिया) हुँदा देखिने लक्षणहरु
o रोजा तोड्न मिल्ने अवस्थाहरु
रमजानको समयमा भोजनको योजना (डाइट योजना)
• शरीरलाइ दैनिक आवश्यक पर्ने क्यालोरीलाई सेहरी र इफ्तारको बीचमा सही मात्रामा विभाजन गरी सेवन गर्नुपर्छ।
• अत्यधिक फाइबरयुक्त खाना खानुपर्छ।
• फलफूल, तरकारी र सलाद प्रशस्त मात्रामा खानुपर्छ।
• सूर्यास्त र सूर्योदयको बीचमा प्रशस्त तरल पदार्थ पिउनुपर्दछ।
• गुलियो तरल पदार्थ, मिठाइ तथा क्याफिनयुक्त तरल पदार्थको सेवन गर्नुहुँदैन।
इफ्तार
• तरल पदार्थहरू - नरिवल पानी/ कागती पानी (चिनी नभएको), अमिलो फलको रस - १ गिलास
• फलहरू - कुनै एक गुलियो फल (१-२ भाग)
• मुरी / चिउरा / ओट्स/ नूडल्स- १ कप
• पियाजी- १ पिस
• उमालेको छोला -१/२ कप, चप- १ पिस, कबाब- १-२ पिस
• काँक्रो, अमिलो फलको रस, नरिवल पानी- इच्छा अनुसार
बेलुकाको खाना
• रोटी- २/ चामल १-१.५ कप (१२०-१८० ग्राम)
• माछा / मासु / अण्डा - १ पिस
• तरकारी, सलाद - ईच्छा अनुसार
• दाल- १ कप
सेहरी
• चावल- २ कप (२५०-३०० ग्राम)
• माछा / मासु- २ पिस
• तरकारी, सलाद - ईच्छा अनुसार
• दाल- १ कप
• दूध- १ कप
रमदानको समयमा व्यायाम
• रोजाको समयमा कठोर व्यायाम नगर्नुहोस्, किनभने यसले गर्दा रगतमा ग्लुकोजको मात्रामा अत्याधिक कमि हुनुको साथै शरीरमा पानीको मात्रा पनि अत्याधिक कम हुन सक्छ (जलवियोजन हुन सक्छ) ।
• तारावीह प्रार्थनामा गरिने शारीरिक श्रमलाई दैनिक व्यायामको भागको रूपमा मान्न सकिन्छ।
• खाना खाएको १-२ घण्टापछि व्यायाम गर्न सकिन्छ।
रमजानको बेला औषधिको समायोजन तथा परिमार्जन
• औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह गर्नुहोस्।
रमजानको समयमा ध्यान दिनुपर्ने कुराहरु
• कुरानले स्पष्ट रूपमा भनेको छ कि यदि कुनै बिरामी छ भने “छुटेको रोजा (ब्रत) अर्को समयमा पुरा गर्नुपर्दछ” किनकि "अल्लाह तपाईको लागि सहजता चाहन्छन् र तपाईलाई कठिनाइमा राख्न चाहदैनन्।" मधुमेह बिरामीहरू खानेकुरा तथा औषधिको समुचित प्रयोगबारे शिक्षित नभएमा रोजा राख्ने अवस्थामा विभिन्न प्रकारका जोखिमहरूमा हुन्छन्, किनकि तिनीहरू एकल वा बहु औषधि वा इन्सुलिन प्रयोग गरिरहेका हुन्छन्। जसले हाइपोग्लाइसिमिया वा हाइपरग्लाइसिमिया निम्त्याउन सक्छ। मधुमेह बिरामीहरूले कुनै पनि शारीरिक रोगमा रोजा (ब्रत) तोड्नु पर्ने हुन सक्छ। यो सिफारिस इजिप्टको मोफ्टीद्वारा अनुमोदित छ, जुन इजिप्टको सर्वोच्च धार्मिक नियामक प्राधिकरण तथा विश्व-प्रसिद्ध इस्लामिक शैक्षिक संगठन अल-अजहरको विद्वान हो।
• प्रत्येक मधुमेह बिरामी, जसले रोजा राख्न चाहन्छ आफ्नो रगतमा ग्लुकोजको मात्राको अनिवार्य रुपमा स्वयं अनुगमन गर्नुपर्छ र यसरी रगतमा ग्लुकोजको परीक्षण गर्दा रोजा धार्मिक रुपमा अवैध हुँदैन भनि जोड दिनु पर्छ।
• रगतमा ग्लुकोजको मात्राको अनुगमन
o इफ्तारको अघि
o इफ्तार, रातिको खाना र सेहरीको २ घण्टा पछि
o मध्य दिन
o यदि कम वा उच्च रगत ग्लुकोजको लक्षण छ भने वा अस्वस्थ महसुस गर्दै हुनुहुन्छ भने कुनै पनि समय।
रोजा तोड्न मिल्ने अवस्थाहरु
• रगतमा ग्लुकोजको मात्रा <७० एमजी/डिएल (३.९ एमएमओएल/एल) भएमा
• रगतमा ग्लुकोजको मात्रा >300 एमजी/डिएल (16.7 एमएमओएल/एल) भएमा
• अस्वस्थ महसुस भएमा
• रगतमा ग्लुकोजको मात्रा अत्यधिक कमि (हाइपोग्लाइसिमिया) हुँदाको लक्षणहरु देखिएमा (जस्तो : पसिना आउनु, चक्कर लाग्नु, हृदयको गति बढनु आदि)
• अन्य समयहरु (जस्तो : अत्यधिक पखाला लाग्नु, वान्ता हुनु, ज्वरो आउनु आदि)
के गर्दा तपाइँको रोजा टुट्दैन?
• रगतबाट ग्लुकोज परीक्षण गर्दा
• इन्सुलिन इन्जेक्सन लिँदा
रमजान समाप्त भएपछि ध्यानदिनुपर्ने कुराहरु
• इद-उल-फितरको समयमा अत्यधिक-खानाहरू (विशेष गरी मिठाइ) बाट बच्नुहोस्, किनकि यसले उच्च रक्त ग्लुकोज निम्त्याउन सक्छ।
• औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह गर्नुहोस्।
• रमजानको समयमा हाइपोग्लाइसिमिया वा हाइपरग्लाइसिमियाको घटनाहरू भएको थियो भने रमजानको अर्को बर्षको योजना बनाउँदा विशेष सावधानी अपनाउनुहोस्।
(मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा यादव विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा कार्यरत छन्)