काठमाडौं– कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्दै जाँदा काठमाडौं उपत्यकाका अधिकांश निजी अस्पतालले थप बिरामी भर्ना गर्न नसकिने भन्दै सूचना जारी गरे। अक्सिजनको अभाव भएका कारण थप बिरामी भर्ना गर्न नसकिने निजी अस्पतालहरुको जिकिर छ।
नेपाल मेडिकल कलेज, मेडिसिटी, ओम, बयोधा, अल्का, मेडिकेयर, हेल्पिङ ह्याण्ड, दीर्घायु, गुरु, करुणा लगायत अस्पतालले अक्सिजनको अभाव भएकाले थप बिरामी भर्ना गर्न नसकिने घोषणा गरे। यो क्रम जारी छ।
काठमाडौं उपत्यका बाहिरका निजी अस्पतालले पनि अक्सिजन अभावका कारण थप बिरामी भर्ना गर्न नसकिने भनेर सूचना जारी गर्न थालेका छन्। अस्पतालहरुले अक्सिजन अभावका कारण बिरामी भर्ना गर्न नमानेपछि देशको समग्र स्वास्थ्य प्रणाली नै थप जटिलतातर्फ धकेलिन थालेको छ।
कतिपय अस्पतालले त बिरामी भर्ना गर्न ल्याउँदा अक्सिजन पनि सँगै बोकेर ल्याउन उर्दी जारी गरेका छन्। त्यसमध्येको एक हो, नेपाल मेडिकल कलेज। नेपाल मेडिकल कलेजले उपचाररत बिरामीको हकमा पनि अस्पतालका तर्फबाट अक्सिजन उपलव्ध गराउन नसकिने भएकाले बिरामी आफैंले ब्यवस्था गरेमा उपचार गराउने नत्र डिस्चार्ज गर्न बाध्य हुने भनेर सूचना नै निकाल्यो। अस्पताललाई अक्सिजन उपलव्ध गराउने उद्योग विग्रेकाले यो अवस्था आएको मेडिकल कलेजलको भनाइ छ।
कोरोना संक्रमित बिरामीहरुको उपचारमा अक्सिजनको चरम अभावको अवस्था सिर्जना भइरहँदा अक्सिजन उत्पादनमा संलग्न उद्योगीहरुले भने सरकारको व्यवस्थित योजना नहुँदा अहिले धेरैतिर एकैपटक समस्या देखिएको टिप्पणी गरेका छन्। उद्योगहरुमा अक्सिजन सिलिण्डरको कमी नभए पनि उत्पादनमा कठिनाइ भइरहेको उद्योगीहरुको भनाइ छ।
सरकारकै विभिन्न निकायहरुको बीचमा समन्वय नहुँदा अहिलेको समस्या देखिएको अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाले बताए। ‘अहिले सीसीएमसीले आफूले तोकेर सूची दिएका अस्पतालहरुमा मात्र अक्सिजन उपलव्ध गराउन भनेको छ, तर स्थानीय तहहरुले सीसीएमसीको निर्णय नमान्नोस् भन्दै पत्र लेखेका छन्,’ शारडाले भने, ‘अक्सिजन उद्योगमै सर्वसाधरणहरु लाइन लागेका छन्। उत्पादन सीमित छ, माग असीमित छ। कसरी धान्ने हो थाहा छैन।’
केही समय अगाडि सिलिण्डरको समस्या देखिएको भएपनि अहिले भने त्यो समाधान भएको उनले बताए। अस्पताल भन्दा बाहिर अहिले अन्य उद्योगलाई अक्सिजन दिन नपरेका कारण सिलिण्डरको समस्या धेरै नभएको, तर सरकारले जतिसक्दो छिटो खाली सिलिण्डर उपलव्ध गराउनुपर्ने उनको भनाइ छ।
‘अहिले भएको समस्या भनेको प्रोडक्सनको हो। बजारमा आजभन्दा भोलि गम्भीर बिरामीको संख्या बढेको बढ्यै छ,’ शारडाले भने ‘काठमाडौं उपत्यकामा मात्रै दैनिक २२ हजार सिलिण्डरको माग छ। ८ हजारको भन्दा धेरै उत्पादन हुन सकेको छैन।’
सीसीएमसीको निर्णय व्यावहारिक नभएको उनको भनाइ छ। ‘सीसीएमसीले भनेको अस्पताललाई मात्र सीधै दिने निर्णय व्यावहारिक नहुने देखिएको छ,’ उनले भने, ‘उद्योगहरुको लाखौं–लाख उधारो दिएका छन्। उक्त सिलिण्डर अस्पतालमा रहेको छ।’ सरकारले यसमा विचार नगरी अक्सिजन उपलव्ध गराउने सूची बनाएको उनको वुझाइ छ। उद्योगहरुले यसलाई नमान्ने भएकाले समस्या हुने देखिएको उनले बताए।
सरकारले प्रहरी लगाएर सिलिण्डर जम्मा गर्दै भर्ने भनेपछि यसले समाधान नगर्ने उनको वुझाइ छ। ‘उद्योगवालालाई लगेर थुनेर कसले उद्योग चलाउने हो ?’ उनले भने, ‘उद्योगी र सरकारका बीचमा यस्तो समयमा सम्वन्वय हुनुपर्नेमा द्वन्द्व वढ्दा झन अभाव सिर्जना हुन्छ, त्यसको मारमा बिरामी पर्नेछन्।’
यस्तै, स्थानीय तहहरुले आफ्नो सिफारिसमा मात्र उपलव्ध गराउन दबाब दिन थालेकाले अर्को समस्या शुरु भएको उनको भनाइ छ। ‘जस्तो मेरो उद्योग रहेको क्षेत्रको दक्षिणकाली नगरपालिकाले अहिले हामीलाई सीसीएमसीको निर्णयलाई मान्यता दिएर अक्सिजन नदिन पत्र लेखेको छ,’ उनले भने, ‘यो नगरभित्रको कुन अस्पताललाई अक्सिजन दिने हो त्यो कुरा नगरलाई मात्र थाहा हुने भन्दै पत्र लेखेको छ। हामी कसलाई मान्यता दिएर अक्सिजन दिने ?’
त्यस्तै, उद्योगमै आएर लाइन बसेका सर्वसाधरणको अवस्थाले झन चिन्तित बनाएको उनले बताए। ‘सर्वसाधारण नागरिक खाली सिलिण्डर बोकेर दिनभर लाइनमा बसेका छन्,’ उनले भने, ‘उनीहरुको पीडा झन दर्दनाक सुनिन्छ। कसरी नदिने? अवको अवस्था झन् जटिल हुने देखिएको छ।’ बिरामीका आफन्तहरु अक्सिजन उद्योगमै आएर लाइन लाग्न थालेपछि अवस्था झन् भयावह हुने उनको अनुमान छ।
कान्तिपुर अक्सिजन उद्योगका म्यानेजर कुमार चुडालले अक्सिजनको अभाव अझै बढ्नसक्ने खतरा रहेको बताए। सरकारले भएका सिलिण्डरहरुको रेकर्ड राखेर व्यवस्थित वितरण भन्दा कोटा तोक्न हतार गरेकाले आगामी दिनमा संक्रमित वढेसँगै यो समस्या झन् जटिल हुने उनको भनाइ छ।
अक्सिजन उत्पादन गर्ने उद्योगहरु अहिले दोहोरो मारमा परेको पनि उनी सुनाउँछन्। महामारीका समयमा अक्सिजन अभाव नहोस् भनेर उद्योगहरुले काम गरिरहेको, तर अहिले उद्योगमै समेत सर्वसाधारण लाइन लाग्न थालेकाले झन् भयावह समस्या आउने हो कि भन्ने चिन्ता रहेको उनले बताए।
अक्सिजन उत्पादक संघका उपाध्यक्ष तथा सीता अक्सिजन ग्यास प्लान्टका सञ्चालक प्रलाद तिमल्सिना पनि सरकारले व्यवस्थापन गरे मात्रै अक्सिजनको आपूर्तिमा देखिएको समस्या समाधान हुने बताउँछन्।
'अहिले अक्सिजन उत्पादनसँग व्यवस्थापनको पनि समस्या छ। व्यवस्पापन गर्ने कुरामा सरकारले ध्यान दिनु जरुरी छ। सरकारले व्यवस्थापन गर्नसके मात्रै अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्याको समाधान हुन्छ,' तिमल्सिना भन्छन्, 'व्यवस्थापन हुन सकेन भने आवश्यक ठाउँमा नपुग्ने, नचाहिने ठाउँमा बढी स्टक हुने समस्या दोहोरिन्छ।'
अक्सिजन उत्पादक संघको उपाध्यक्ष काठमाडौं उपत्यका बाहिरका अक्सिजन उद्योगलाई पनि पूर्ण क्षमतामा चलाउनु पर्ने बताउँछन्। 'उपत्यका बाहिरका उद्योगहरु अहिले पूर्ण क्षमतामा चलेका छैनन्। उपत्यका बाहिरका उद्योगलाई पूर्ण क्षमतामा चलाउन सक्यो भनेपनि अक्सिजनको अभावलाई केही हदसम्म सम्बोधन गर्न सकिन्छ,' तिमल्सिना भन्छन्।
कति छन् अक्सिजन उत्पादन गर्ने उद्योग?
नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार देशभरमा साना–ठूला गरी निजी क्षेत्रबाट सञ्चालित २० वटा अक्सिजन उद्योगहरु छन्। तीमध्ये पनि काठमाडौं उपत्यकामा ८ वटा अक्सिजन उद्योग छन्।
उपत्यकामा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नहुँदै दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने उनले बताए। काठमाडौं बाहिर बिराटनगर, रुपन्देही, दाङ , पोखरा लगायतका शहरमा थुप्रै अक्सिजन उद्योग रहेका छन्।
२४ घन्टा चलाउन नसक्दा समस्या
नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष सारडाले उपत्यकाका अक्सिजन उद्योगहरु २४ सै घन्टा सञ्चालन भएपनि बाहिर रहेका उद्योगले दैनिक १२ घण्टा मात्रै अक्सिजन उत्पादन गरिरहेको बताए। खाली सिलिण्डर समयमै नपुग्दा उद्योगहरु २४ सै घन्टा चल्न नसकेको उनले बताए।
देशमा सालाखाला १ लाख सिलिण्डर रहेको उनले बताए। नेपालमा सक्रिय संक्रमितको संख्या यो बराबर नभएको र अधिकांश संक्रमित घरमै रहेकाले चरम अभाव नहुने, तर व्यवस्थापन चुस्त हुनुपर्ने उनले बताए। यी सवै सिलिण्डरलाई सरकारी रेकर्डमा ल्याएर सबै उद्योगमा भर्न लगाउने हो भनेर भर्खरै चीनबाट आएको र अन्य देशबाट पनि आउदै गरेको सहयोगको सिलिण्डरलाई व्यवस्थित गरेर अस्पतालहरुलाई वितरण गर्नुपर्ने उनको विचार छ।