काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौ २३ र २४ गते भएको 'जेनजी' नेतृत्वको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्न विज्ञ सम्मिलित १० सदस्यीय प्राविधिक समिति गठन गरेको छ।
स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो। यसअघि गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको वर्गीकरणका लागि प्राविधिक समिति गठन गर्ने र विज्ञ तोक्ने जिम्मा मन्त्रालयलाई दिने निर्णय गरेको थियो।
समितिमा को-को छन्?
समितिमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा सरकारी अधिकारीहरू समावेश छन्।
संयोजक: डा. सरोज शर्मा (प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखा)।
सदस्यहरू: डा. विनोद शेरचन (हाडजोर्नी विशेषज्ञ, राष्ट्रिय ट्रमा सेन्टर), डा. गोपाल सेडाईं (स्नायु रोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल), डा. अनिल जिसी (नाक, कान, घाँटी रोग विशेषज्ञ, वीर अस्पताल), डा. सुमन थापा (जनरल मेडिसिन विशेषज्ञ, पाटन), डा. शंकर ठाकुर (आँखा रोग विशेषज्ञ, वीर अस्पताल), डा. रविन पण्डित (शल्य चिकित्सक, निजामती कर्मचारी अस्पताल) र डा. इश्वरी खनाल (मानसिक रोग विशेषज्ञ, मानसिक अस्पताल)।
सदस्य: सुप्रभा ढुंगेल (उपसचिव, गृह मन्त्रालय)।
सदस्य सचिव: ईश्वरी प्रसाद ढकाल (उपसचिव, स्वास्थ्य मन्त्रालय)।
संयोजक डा. शर्माले यस समितिमा जेनजी प्रतिनिधि समेत थपिने जानकारी दिएका छन्।
कार्यविधि बनाएर काम सुरु गर्ने तयारी
समितिका संयोजक डा. शर्माले घाइतेहरूको वर्गीकरणका लागि विज्ञसहितको टोलीले सुरुमा कार्यविधि बनाएर काम सुरु गर्ने बताएका छन्। 'हामीले सुरुमा कार्यविधि बनाउँछौँ। त्यसपछि के कस्ता अवस्थाका कति घाइते छन् र तिनीहरूलाई के गर्ने भन्ने विषयमा सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने छ,' उनले भने।
गृह मन्त्रालयको तथ्यांक अनुसार उक्त आन्दोलनका क्रममा २ हजार ३९६ जना घाइते भएका थिए भने ७४ जनाको मृत्यु भएको उल्लेख छ। वर्गीकरणपछि घाइतेहरूको अवस्था अनुसार उचित राहत उपलब्ध गराइने सरकारी तयारी छ।