केही दिनअघि एक जना ४१ वर्षीय पुरुषलाई ज्वरो आएको थियो। कोरोना भाइरस संक्रमणको आशंकामा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो। रगत जाँच गरेपछि स्क्रब टाइफस संक्रमण भएको पत्ता लाग्यो। यो वर्ष स्क्रब टाइफस संक्रमण देखिने उनी एक्ला बिरामी होइनन्। केही दिनदेखि यस्ता धेरै बिरामी अस्पताल आइरहेका छन्।
गत वर्ष कोभिड–१९ बाहेक अन्य संक्रामक रोगहरु देखिएनन्। तर, यो वर्ष कतिपय संक्रामक रोग फेरि देखिन थालेका छन्। अहिले कुनै पनि ज्वरोलाई कोरोनाको शंका गरिन्छ। कोरोनाको जोखिम पूर्ण रुपमा नघट्दा यस्तो आशंका हुनु स्वाभाविक हो। तर, यस्ता कतिपय बिरामीलाई स्क्रब टाइफस वा अन्य संक्रामक रोग लागेको हुनसक्छ।
नेपालमा विशेष गरेर असारदेखि असोजसम्म वर्षेनी स्क्रब टाइफसको संक्रमण देखिने गरेको छ। विशेषत: भदौमा यसको संक्रमण बढी देखिने गरेको छ। यो रोग 'ओरिन्तिया सुसुगामुशी' नामक ब्याक्टेरियाको कारणले हुन्छ। संक्रमण भएको 'माइट' भन्ने परजीवीले मान्छेमा सार्छ। तसर्थ यो किटजन्य रोगमा पर्छ।
स्क्रब टाइफस सन् २०१५ मा धरानमा केही बालबालिकामा देखिएको थियो। ती बालबालिकामा ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो। तर, बेलैमा पहिचान र उपचारको अभावमा आठ प्रतिशत संक्रमितको मृत्यु भयो। पछिल्लो समय स्क्रब टाइफस सम्बन्धी प्रचार-प्रसार, समयमा हुने पहिचान र उपचारले मृत्युदर घट्दै गएको छ। सन् २०१६ मा मृत्युदर १.७ प्रतिशतमा झरेको थियो। यधपि, नेपालमा वर्षेनी स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन्।
यो रोगबाट हुने मृत्यु कम गर्न समयमा नैलक्षणहरुको पहिचान र उपचार गर्नु आवश्यक छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कसैलाई पाँच दिनभन्दा बढी छुट्याउन नसकिने ज्वरो देखिए वा पाँच दिनभन्दाकम ज्वरो देखिए पनि शरीरमा घाउको कालो पाप्रो (जसलाई 'स्कार' भनिन्छ) छ भने स्क्रब टाइफस हुनसक्छ। छालामा देखिने यस्तो 'स्कार' स्क्रब टाइफस पहिचान गर्न सबैभन्दा उत्तम मानिन्छ।
शरीरमा घाउको कालो पाप्रो देखिनुबाहेक आँखा रातो हुने, अत्यधिक टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने, कानमा कृतिम आवाज सुनिने, शरीरमा बिबिरा देखिने, लिम्फ ग्रन्थि सुन्निने जस्ता लक्षण पनि देखिन्छन्। प्रयोगशालाबाट प्रमाणित भएपछि स्क्रब टाइफस निदान भएको मानिन्छ। नेपालको सबै ठाउँहरुमा प्रयोगशाला नहुदा निदान सहज छैन।
समयमा स्क्रब टाइफस पत्ता लगाउन सके सहजै उपचार हुन्छ। समयमा निदान नभए उपचारमा अलमल वा ढिलाई भई फोक्सो, मस्तिष्क लगायत विभिन्न अंगमा जटिलता भइ मृत्युसमेत हुनसक्छ। विशेषत: गाउँघरतिर वा प्रयोगशाला नभएका ठाउँमा स्वास्थकर्मी वा बिरामीले स्क्रब टाइफसको शंका लागे छिटो निदान गर्न सहज होस् भनेर यो पंक्तिकारले 'आरेखीय प्रस्तुति' को विकास गरेको छ। यसका लक्षण संक्रमण भएको पाँचदेखि २० दिनमा देखिने गर्छ।
यसको उपचारमा 'डोक्सीसाइक्लिन' वा 'एजिथ्रोमाइसिन' एन्टिबायोटिक पहिलो प्राथमिकतामा पर्ने औषधि हुन्। यी बाहेक लक्षणहरुको आधारमा थप औषधिहरुको आवश्यकता पर्न सक्छ। स्क्रब टाइफसविरुद्धको भ्याक्सिन भने विकास भैसकेको छैन।
स्क्रब टाइफसको बढी जोखिम कृषक, प्राकृतिक विपत्तिको कारणले विस्थापित भएकाहरु तथा पैदल यात्रामा जानेहरुमा हुने गर्छ। पछिल्लो समय यसको जोखिममा गाउँघरका मात्र नभएर शहरबासी पनि पर्ने गरेका छन्। घर वरिपरि झाडी भए मुसाहरु बढी आउने हुँदा स्क्रब टाइफस फैलने जोखिम बढी हुन्छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको एक अध्ययनले स्क्रब टाइफस फैलाउने माइट परजीवी मुसामा प्रशस्त भएको देखाएको थियो।
अन्तमा, नेपालमा कोरोनाको जोखिम कायमै छ। कोभिड-१९ तथा स्क्रब टाइफस दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिने भएकाले प्रयोगशालाको सहयोग बिना छुट्याउन सहज छैन। यसले गर्दा पहिचान तथा उपचारमा ढिलाई हुनसक्छ। मनसुनको आगमनसँगै स्क्रब टाइफसले पनि 'कम्ब्याक' गरेकोले लक्षणहरु मिल्दोजुल्दो देखिए पहिचान तथा उपचारमा ढिलाइ गर्नु हुँदैन।
(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)