काठमाडौं - सरकारले कार्तिक २८ गते आइतबारदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउँदैछ।
परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार अन्तर्क्रिया गरी १२ वर्ष माथिका आठ प्रकारका दीर्घरोग भएका बिरामीहरुलाई खोप लगाउनका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ।
खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ। खोप लगाउनका लागि सरकारले देशभर २४ वटा खोप केन्द्र तोकेको छ। सरकारले कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप फाइजर बायोएनटेक खोप १ लाख ६३० मात्रा सरकारलाई प्राप्त गरेको थियो।
यही डिसेम्बरसम्ममा थप ६० लाख मात्रा खोप आउने प्रक्रियामा रहेको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा सागर दाहालले जानकारी दिए। उक्त खोप १२ देखि १७ वर्षसम्म बालबालिकालाई लगाइनेछ।
नेपालमा हालसम्म कोभिशिल्ड, भेरो सेल–साइनोफार्म, एस्ट्राजेनिका र जोन्सन खोप प्रयोग भइरहेका छन्। यी सबै खोपहरु १८ वर्ष माथिका व्यक्तिलाई मात्र लगाउन मिल्ने खोपहरु हुन्। नेपालमा हालसम्म लगाइएका खोपहरुमध्ये ५७ प्रतिशत खोप सरकार आफैँले खरिद गरेको र बाँकी विभिन्न देशबाट अनुदानमा प्राप्त गरेको डा दाहालले जानकारी दिए।
दीर्घरोग भएका व्यक्तिहरुलाई खोप दिनुभन्दा पहिले चिकित्सकबाट परामर्श गरेर मात्र खोप दिइने उनले बताए। खोप सेसन सञ्चालन तथा व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा दुई जना खोप दिने स्वास्थ्यकर्मी, निगरानी तथा व्यवस्थापनका लागि एक चिकित्सक र अस्पतालको तथ्यांक हेर्ने व्यक्ति परिचालन हुनेछन्।
फाइजर बायोएनटेक खोपलाई आकस्मिक प्रयोगका लागि विश्व स्वास्थ्य संगठनले पौष ६ गते अनुमति दिएको दिएको थियो। नेपालमा भने औषधि व्यवस्था विभागबाट भाद्र २३ गते अनुमति पाएको थियो। यो खोप संसारका १३२ देशहरुमा प्रयोग भइरहेका छन्।
कसले लगाउन मिल्दैन यो खोप?
फाइजर खोप सबैले लगाउन मिल्दैन। यो खोप लगाउन नहुने विभिन्न अवस्थाहरु छन्।
– कोभिड १९ विरुद्धको अन्य कुनै खोप लगाएको
– १२ वर्ष भन्दा कम उमेरको व्यक्ति
– खोप खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भए
यो सँगै इम्युनोग्लोबिन, मोनोकोनल एन्टीबडीज, कन्भेल्सेन्ट प्लाज्मा उपचारमा भएको व्यक्तिले यो खोप लगउन हुँदैन। तर यस प्रकारको उपचार लिएको ९० दिनपछि भने खोप लगाउन मिल्ने महाशाखाले जनाएको छ।
कोभिड १९ संक्रमित भएको अवस्थामा यो खोप लगाउन नभएपनि निको भएको ३० दिनपछि यो खोप लगाउन मिल्छ। कुनै पनि प्रकारको गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउन हुँदैन। तर यस प्रकारको अवस्था ठीक भएपछि भने खोप लगाउन मिल्छ।
फाइजर खोप लगाएछि हुन सक्ने सामान्य असरहरुः
– सुई लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुन्निने
– टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने
– मासंपेशी तथा जोर्नीहरु दुख्ने
– खान मन नलाग्ने र वाकवाकी लाग्ने
– थकाई लाग्ने
– सुई लगाएको हातको काखीको ग्रन्थी सुन्निने र दुख्ने
यी सामान्य असरहरु २/३ दिनपछि आफैँ ठिक भएर जाने डा दाहालले बताए। ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने भएमा सिटामोल औषधि खाएपछि ठिक हुने उनले बताए।