काठमाडौं - नेपालमा हालसम्म कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनिका र जोन्सन खोप प्रयोग भइरहेका छन्। तर कोभिड-१९ विरुद्धको अन्य खोपभन्दा फाइजर बायोएनटेक खोप फरक रहेको सरकारले जनाएको छ।
फाइजर खोपको भण्डारणका लागि फरक किसिमको कोल्डचेनको व्यवस्थापन गर्नुपर्ने बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा सागर दाहालले बताए। खोप तयार पार्ने प्रक्रिया र मात्रा फरक भएको उनले बताए।
फाइजर बायोएनटेक खोप भायलमा उपलब्ध हुन्छ भने यो जमेको अवस्थामा बाक्लो झोलको रुपमा रहेको हुन्छ। यो खोप २१ देखि २८ दिनको फरकमा दुई मात्रा दिनुपर्ने उनले बताए। मात्रा पुरा गरेर लगाएमा यो खोपको प्रभावकारिता ९५ प्रतिशत भएको अध्ययनले देखाएको छ।
यो खोपको भण्डारण र ढुवानी गर्दा निश्चित तापक्रम कायम गर्नुपर्ने हुन्छ। जमेको अवस्थामा माइनस ८० डिग्रि सेल्सियस (अल्ट्रा कोल्डचेन) र माइनस २० डिग्रि सेल्सियस (फ्रिजिङ तापक्रम) को तापक्रममा राख्नुपर्छ। यो खोप उत्पादन भएको मितिदेखि ९ महिनासम्म वा म्याद गुज्रिने मितिसम्म भण्डारण गर्न सकिन्छ।
पग्लेको अवस्थामा भने यसलाई प्लस २ डिग्रिदेखि ८ डिग्रि सेल्सियस कायम गर्नुपर्छ। र, यो एक महिनासम्म भण्डारण गर्न सकिन्छ। यस्तै, घोलेको अवस्थामा ६ घण्टासम्म मात्र भण्डारण गर्न मिल्छ। अहिले आएको १ लाख ६२० खोपको मात्रा भण्डारणका लागि चार वटा फ्रिज आफुहरुसँग भएको डा दाहालले बताए।
उनले भने, ‘यो खोपलाई फरक किसिमको कोल्डचेन व्यवस्थापन गर्नुपर्छ। हामीसँग चार वटा फ्रिज छन्। त्यहाँ यो खोप ९ महिनासम्म राख्न मिल्छ। तर एक पटक बाहिर निकालेपछि ३१ दिनभित्र प्रयोग गरिसक्नुपर्छ।’
सरकारले खोप अभियान सञ्चालनका लागि खोप वितरण प्रक्रिया पनि सुरु गरिसकेको छ। हाल जनकपुर बाहेक अन्य जिल्लामा खोप पठाइसकिएको डा दाहालले जानकारी दिए। काठमाडौं उपत्यका भित्रका जिल्लाहरुमा खोप सञ्चालन हुने दिनभन्दा दुई दिन अघि र उपत्यका बाहिरका जिल्लाहरुमा तीन दिन अघि मात्र वितरण गर्ने सरकारको रणनीति छ।
केन्द्रीय खोप भण्डार स्वास्थ्य सेवा विभाग टेकुमा यो खोप अल्ट्रा कोल्डचेन माइनस ८० डिग्रि सेल्सियस तापक्रममा राखिएको छ। प्रदेशस्तरीय खोप भण्डार, जिल्ला खोप भण्डार, खोप वितरण केन्द्र र स्वास्थ्य संस्था÷खोप केन्द्रमा भने यो प्लस २ डिग्रि सेल्सियसदेखि ८ डिग्रि सेल्सियसको तापक्रम राखिने डा दाहालले बताए।