काठमाडौं- नेपालमा श्वासप्रस्वास सम्बन्धी फोक्सोको दीर्घकालिन रोग सिओपिडीका बिरामीको संख्या बढ्दै गएको छ। सिओपिडी अर्थात क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज भनेको फोक्सोको श्वासनलीमा अवरोध हुनु हो।
नेपालमा सिओपिडीका बिरामीको संख्या बढ्दै गएको विभिन्न अध्ययनहरुले देखाएको छ। प्रदूषण, धूम्रपान, धुलो धुँवा भएका स्थानमा लामो समयसम्म काम गर्ने लगायतका कारणले नेपालमा पनि सिओपिडीको संख्या बढ्दै गएको देखाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले 'जनसंख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भारका विषयमा गरेको देशव्यापी अध्ययनले सिओपिडीको समस्या ११ दशमलव ७ प्रतिशतमा रहेको देखाएको छ। अस्पतालहरुमा उपचारका लागि आउने बिरामीको संख्याका आधारमा हेर्दा पनि यो संख्या बढ्दै गएको चिकित्सकहरु बताउँछन्। पाँच वर्षअघि नेपालमा सिओपिडीका बिरामीको समस्या १० प्रतिशतभन्दा कम थियो।
परिषदको अनुसन्धनका क्रममा श्वासप्रश्वास सम्बन्धी रोग सिओपिडीको भार सबैभन्दा कम गण्डकी प्रदेशमा ६ दशमलव शून्य प्रतिशत र सबैभन्दा बढी कर्णाली प्रदेशमा २५ दशमलव १ प्रतिशत भेटिएको छ।
सिओपिडीका बिरामी कुन प्रदेशमा कति प्रतिशत?
प्रदेश १ - ६ दशमलव २
प्रदेश २ - १६ दशमलव ४
बागमती - ११ दशमलव ७
गण्डकी - ६
लुम्बिनी - ९ दशमलव ५
कर्णाली - २५ दशमलव १
सूदुरपश्चिम - १४ दशमलव ३
सिओपीडी रोग लाग्नुको प्रमुख कारण धूमपान भए पनि वायु प्रदुषण, घरको धुवा, रसायानिक पदार्थ मिसिएको धुँवाको मुस्लोले यो रोग गराउँछ। त्यसैले लामो समयसम्म धूमपान गर्ने व्यक्ति, धुँवा तथा वायु प्रदुषणमा रहने व्यक्ति (ट्राफिक, इँटाभट्टा, सिमेन्ट कारखानामा काम गर्ने आदि) जोखिममा हुन्छन्।
यो रोगबाट जोगिन धूमपानदेखि टाढै रहनुपर्छ भने प्रदूषणबाट जोगिन आवश्यक छ। प्रदूषणबाट जोगिन बाहिरी वातावरणमा निस्कँदा मास्क लगाएर मात्र निस्कन चिकित्सकले सुझाव दिने गरेका छन्। यसका साथै ग्रामीण क्षेत्रमा दाउरा तथा अन्य धुवाँ निस्कने वस्तुवाट खाना पकाउने कारणले पनि यो रोगको जोखिम बढाइरहेको छ।
सिओपिडी रोगको अवस्था
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)- ग्लोबल बर्डेन अफ डिजिज (२०१६) का अनुशार संसारमा २५ करोड मानिस सिओपिडीबाट प्रभावित छन्। वार्षिक ३१ दशमलव ७ लाख मानिसले सिओपिडीका कारण ज्यान गुमाउनुपर्छ।
हाल सिओपिडी अकाल मृत्युको चौथो प्रमुख कारण हो। सन् २०३० सम्म यो रोग तेस्रो प्रमुख कारण बन्ने अनुमान गरिएको छ। ९० प्रतिशत सिओपिडी सम्बन्धी मृत्यु कम विकशित र अतिकम विकशित देशहरूमा हुन्छ। नेपालमा प्रत्येक दस जनामा एक जनालाई सिओपिडी दम रोग छ। नसर्ने रोगहरूमध्ये सिओपिडी नेपालमा सबभन्दा बढी पाइएको रोग हो। नेपालमा हरेक वर्ष तीन लाख जनाको सिओपिडीका कारण मृत्यु हुने गरेको बताइन्छ।
दीर्घकालिन अवरोधक फोक्सो रोग के हो?
क्रोनिक: दिर्घकालिन र रहिरहने
अब्सट्रक्टिभ (अवरोधक): फोक्सोको श्वासप्रश्वास वायु मार्ग आंशिक रूपमा अवरोध हुन्छ
पल्मोनरी: फोक्सो सम्बन्धी
डिजिज: रोग
दीर्घकालिन श्वासप्रश्वास रोग फोक्सो सम्बन्धी वायुमार्गमा हुने अवरोधक रोग हो। यसले गर्दा शरीरमा भित्र जाने हावाको मात्रा धेरै कम हुन्छ। साथै श्वास फोक्सोबाट राम्रोसँग बाहिर निस्कन सक्दैन। यसको कारणले मानिसको फोक्सोमा हावा धेरै भरिन्छ जसले गर्दा छाती भारी भएको महसुस हुने र सास फेर्न गाह्रो हुन्छ। यी सबै कारणले सास फेर्न गाह्रो बनाउँछ र यदि ध्यान नदिएको खण्डमा समयसँगै यो झनै बिग्रन सक्छ।
सिओपीडी डरलाग्दो सुनिन्छ तर उचित उपचार र औषधिको साथ सिओपीडीलाई राम्ररी व्यवस्थापन गर्न सकिन्छ। त्यसकारण चिकित्सकहरु सिओपिडी हुँदैमा चिन्ता लिन नहुने सुझाब दिन्छन्। सिओपिडी सरुवा र संक्रामक नभएकाले पनि यस विषयमा चिन्ता नलिई आफ्ना नियमित कामहरु गर्न सकिने चिकित्सकहरु बताउँछन्।
सिओपिडीका प्रमुख कारण
चिकित्सकहरुका अनुसार सिओपिडी जन्मजात रोग होइन। सामान्यतया यो ४० वर्षभन्दा माथि उमेरका मानिसमा बढी देखिन्छ। सिओपिडी रोग एक दिन वा छोटो समयमा लागिहाल्ने रोग पनि होइन। यो लामोसमयसम्म यसका कारकतत्वसँग सम्पर्कमा रहेपछि लाग्ने रोग हो। धूमपान, बाह्य वायु प्रदूषण (धुँवा, धुलो आदि), घरभित्र हुने वायु प्रदूषण (चुल्होमा गुइँठो, पराल, दाउरा आदिको प्रयोग), पेसागत जोखिम (जस्तै: इट्टाभट्ट, कोइला खानी र सिमेन्ट, कपडा, रसायन र इलेक्ट्रोप्लेटिङ्ग ज्वेलरी जस्ता उद्योगहरूमा काम गर्ने, ट्राफिक प्रहरी) आदी।
लामो समयससम्म सुर्तीजन्य धुँवा वा अन्य हानिकारक कणहरूले श्वास नलिलाई प्रतिकुल प्रभाव गर्दछ र फोक्सोको लचिलो फाइबरहरूलाई असर गर्दछ। फोक्सोको क्षतिबाट सिओपीडीको लक्षणहरू देखा पर्न वर्षौं लाग्छ, त्यसैले सीओपीडी ४० बर्ष भन्दा बढि उमेरका मानिसहरूमा धेरै देखिन्छ।
सिओपिडी विरलै अवस्थामा जन्मसंगै भएको आनुवंशिक गडबडीका कारण कहिल्यै धूम्रपान नगरेका वा फोक्सोलाई हानी गर्ने तत्त्वसंग सम्पर्कमा नहुदाँ पनि हुन सक्दछ।
लक्षणहरु
सिओपीडीको स्पष्ट लक्षणहरु रोगको प्रारम्भिक अवस्थामा नदेखिन सक्छ। लक्षण देखापर्नेसमयसम्ममा यसले फोक्सोमा असर गरिसकेको हुनसक्छ। सिओपिडीका लक्षणलाई प्राय बढ्दो उमेरको लक्षण भनेर झुक्किने पनि गरेको पाइन्छ। नियमित खोकी लाग्नु, भर्याङ चढ्दा स्याँ-स्याँ आउनु, सास फेर्न गाह्रो हुनु आदि यसका लक्षण हुन्।
खोकीसँगै सेतो वा पहेलो खकार आउने, छाती घ्यार-घ्यार कराउने, औंला वा जिब्रो निलो हुने, दुवै खुट्टा सुन्निने, पटकपटक छातीको संक्रमण हुने पनि यसका लक्षण हो। त्यसकारण यस्त लक्षण देखिएमा चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ।
उपचार
सिओपीडी रोग लाइसकेपछि यसलाई पूर्ण रुपमा निर्मुल गर्ने उपचार छैन। तर यसको नियन्त्रण भने गर्न सकिन्छ। सही औषधिको साथै उचित आहार र जीवनशैली परिवर्तनबाट यसलाई राम्ररी नियन्त्रणमा ल्याइ गुणस्तरीय जीवनयापन गर्न सकिन्छ।
धूम्रपान नगर्ने, फोक्सोलाई क्षति गर्ने तत्व जस्तै: धुलो धुँवाबाट बच्ने, निरन्तर औषधिको सेवन गर्ने, चिकित्सकको सल्लाहमा खानपान र जीवनशैली अपनाउने गर्दा धेरै हदसम्म यसबाट जोगिन सकिन्छ। सिओपिडीबाट जोगिने उत्तम उपाय भनेको नै स्वस्थ जीवनशैली नै हो। सतर्कता अपनाउँदा अपनाउँदै पनि यो रोग लागेको छ भने पनि चिकित्सकको सल्लाहमा गुणस्तरीय जीवन बाँच्न सकिन्छ। त्यसकारण चिकित्सकहरु रोग लागेको अवस्थामा पनि चिन्ता नलिई नियमित र सक्रिय जीवनशैली जिउन सुझाब दिन्छन्।
सास बिना गाँस, बास र कपासको के अर्थ अभियान
फोक्सो स्वस्थ राख्न नेप्लिज रेस्पिरेटरी सोसाइटी र सिप्ला लिमिटेडले संयुक्त रुपमा गाँस, बास, कपास र सास अभियान नै सञ्चालनमा ल्याएका छन्। श्वासप्रस्वासका रोग तथा समस्याबाट जोगाउन र फोक्सो स्वस्थ राख्न चेतना फैलाउने उद्देश्यले 'सास बिना गाँस, बास र कपास' नारासहितको अभियान सुरु गरिएको हो। यो अभियान अन्तरगत फोक्सो स्वस्थ राख्ने चेतनामुलक कार्यक्रमहरु सञ्चालन हुनेछ। सचेतना अभियानसँगै दम, दिर्घकालिन श्वासप्रश्वास, एलर्जीक राइनाइटिस जस्ता रोगबारे जानकारी, समाधान र बिरामीहरुको लागि सहयोग प्रदान गर्न पनि यो अभियान सुरु गरिएको हो।
सिओपिडी दिवस मनाइँदै
आज नेपालसहित विश्वभर सिओपिडी रोगबाट जोगिने उपाय तथा यसका बारेमा सचेतना फैलाउन दिवस मनाइँदै छ। नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै दिवस मनाइने छ। विभिन्न अस्पताल, छाती तथा फोक्सो रोगका चिकित्सक, संघ संस्थाहरुले दिवसका अवसरमा देशका विभिन्न स्थानमा कार्यक्रम राखेका छन्।
सिओपिडी दिवस ग्लोबल इनिसियटिभ फर क्रोनिक अब्सट्रक्टिभ क्रोनिक डिजिज (गोल्ड)को अगुवाईमा हरेक वर्षको नोभेम्बरको तेस्रो बुधबार मनाइन्छ। नेपालमा पनि सोही अनुसार कार्यक्रम तय गरिएको हो।