करिब आधा दशकअघि नेपाल सरकारले सम्पूर्ण नागरिकहरुको स्वास्थ्य समस्यालाई समाधान गर्नको लागि स्वास्थ्य बीमाको सुरुआत गरेको थियो। स्वास्थ्य मानव जीवनको एक अभिन्न अङ्ग हो, त्यही भएर भनिन्छ कि स्वास्थ्य नै धन हो। नेपालका बहुसंख्यक जनता गरिबीको रेखामुनि भएकोले रोग लागेपश्चात आर्थिक अभावमा ज्यान गुमाउनुपर्ने बाध्यतालाई निराकरण गर्न सरकारले नयाँ अवधारणाको रुपमा नेपाली जनतासामु स्वास्थ्य बीमा ल्याएको थियो। जुन नागरिकहरुको लागि निकै सहयोगी कार्यक्रम सावित भएको पाइन्छ।
खासमा सर्वसाधारणको बुझाईमा पनि स्वास्थ्य बीमा स्वास्थ्य बीमा बोर्डको कार्यक्रम हो जबकि यथार्थमा यो कार्यक्रम नेपाल सरकार र नेपाली जनताको कार्यक्रम हो। किनभने स्वास्थ्य बीमाबाट प्राप्त उपचार सेवा नेपाली जनतालेमात्रै पाउने व्यवस्था रहेको छ। यस कार्यक्रमको माध्यमबाट आज लाखो सर्वसाधारण नागरिकहरुले लाभ लिईरहेको पाइन्छ। स्वास्थ्य बीमा सुरुआत हुनुभन्दा पहिला विभिन्न सुविधा सम्पन्न स्वास्थ्यसंस्था भएपनि सर्वसाधारण नेपालीको पहुँच नभएकोले ज्यान गमाउनुपर्ने बाध्यात्मक परिस्थिति थियो। तर स्वास्थ्य बीमाको कारणले बीमित भएपश्चात कुनैपनि बीमित नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने छैन।
स्वास्थ्य बीमा सरकारको लागि नाफा वा घाटाको विषय होइन। किनभने यो त राज्यले आफ्नो नागरिकहरुलाई उपलब्ध गराएको सामाजिक सुरक्षा हो जुन विश्वका हरेक देशले आफ्ना नागरिकलाई उपलब्ध गराउने गर्दछ। स्वास्थ्य बीमा कार्यक्रम सफल हुनुको मतलब सरकार सफल हुनु हो किनभने यो कार्यक्रम देश र जनताको कार्यक्रम हो नकि कुनै निजी कम्पनीको।
यस कार्यक्रमलाई सरकारले अझैं व्यवस्थित र गुणस्तरीय ढङ्गले लैजानुपर्ने आवश्यकता रहेको छ। स्वास्थ्यकै विभिन्न शिर्षकमा सरकारले नागरिकहरुलाई अनुदान वा सहयोग दिँदै आएको पाइन्छ। जबकि सम्पूर्ण अनुदान वा सहयोगलाई स्वास्थ्य बीमामै सरकारले आवद्ध गरेर लैजान सके अझै सहज हुन्थ्यो। सरकार जनताको अभिभावक भएकोले सरकारले जन्ताको सर्वाङ्गीण विकासको निम्ति सामाजिक सुरक्षाको रुपमा जनतालाई स्वास्थ्यमा बीमा एक बरदानको रुपमा उपहार दिएको देखिन्छ।
स्वास्थ्य बीमाको प्राविधिक कमिकमजोरीलाई व्यवस्थापन गर्नु राज्यको दायित्व हो। किनभने यो कार्यक्रम व्यवस्थित तथा मितव्ययी नभएको खण्डमा धेरै सर्वसाधारण ऋण लिएर उपचार गराउन बाध्य हुनुको साथै दैनिक जीवनयापन गर्न समेत असमर्थ हुन्छन्। आधा दशकदेखि संचालीत यो कार्यक्रम आर्थिक अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता भएका नागरिकहरुको लागि बरदान सावित भएको छ। त्यही भएर यो कार्यक्रम निर्विकल्प आवश्यकता हुनुको साथै स्वास्थ्य क्षेत्रमा सरकारद्वारा प्राप्त हुने आर्थिक सहयोगको अन्तिम बिन्दु समेत रहेको बुझिन्छ।
स्वास्थ्य बीमाको माध्यमबाट उपचार गराएबापत आर्थिक अनियमितता समेतलाई धेरै हदसम्म सरकारले नियन्त्रित गरेको देखिन्छ। तसर्थ स्वास्थ्य बीमाको नियमन, व्यवस्थापन तथा प्रबन्धनको पुर्ण जिम्मा सरकारको भएको हुनाले यस कार्यक्रमको स्थायित्व माध्यमबाट नेपाली नागरिकहरुको हकहितका लागि सरकारले स्वास्थ्य बीमाको दायरा अझै फराकिलो गर्नुपर्ने अवश्यकता देखिन्छ।
यो कार्यक्रम पुर्णरुपले सरकारद्वारा संचालित सरकारी स्वामित्वमा रहेकोले सरकार मातहतका सम्पूर्ण संघ, संस्था, प्रतिष्ठान, विभिन्न निकाय, उद्योग तथा गैरसरकारी संस्थालगायतका निकायहरुलाई अनिवार्य रुपमा यस कार्यक्रममा समावेश गर्नु नितान्त आवाश्यक रहेको छ।
यस कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड सरकारको एक प्रतिनिधिको रुपमा यस कार्यक्रमलाई मितव्ययी ढङ्गले व्यवस्थापन गरेको देखिन्छ। तसर्थ नेपाली नागरिकहरुको स्वास्थ्य क्षेत्र अन्तर्गतको सम्पुर्ण समस्या निराकरण गर्ने एक मात्र आधार स्वास्थ्य बीमा रहेको छ।
यस कार्यक्रममा समावेश नागरिकले सदस्यता लिइसकेपश्चात सचेत नागरिकको नैतिक तथा कानूनी कर्तव्य पुरागर्नु नितान्त आवश्यक रहेको छ। अर्थात् समयमा नविकरण गराउने, एकोहोरो सुविधा लिने लगायतका कार्यको जिम्मेवारी सरकार वा बीमा बोर्डको नभएर बीमितहरुको हो। स्वास्थ्य बीमा कार्यक्रम सवै नागरिकको साझा सम्पत्ति हो तसर्थ यस कार्यक्रमप्रति सद्भाव एवं निष्ठा नराखेसम्म नागरिकको कर्तव्य पुरा गरेको विषयमा आशंका गरिन्छ।
यस कार्यक्रमको प्रभावकारी संचालन एवं व्यवस्थापन नागरिकहरुको हकहितसँग सम्बन्धित भएकोले यस कार्यक्रमप्रति सम्पूर्ण सरोकारवालाको सहयोग एवं समन्वय अपरिहार्य रहेको छ। किनभने यस कार्यक्रमको प्रभावकारी व्यवस्थापनमा हरेक निकायको स्वास्थ्य बीमा बोर्ड जत्तिकै जिम्मेवारी रहेको छ।
(तिवारी स्वास्थ्य बीमा बोर्ड संखुवासभाका दर्ता अधिकारी हुन्।)