कोटेश्वरबाट १५ किलोमिटर टाढा भक्तपुर, ताथलीस्थित काठमाडौं क्यान्सर अस्पतालको पहिलो तल्लामा रहेको अफिसमा बसेर सोच्दा मलाई अचम्म लाग्छ, म विज्ञान संकायबाट आएको विद्यार्थी, कसरी अस्पताल व्यवस्थापनतिर आइपुगेछु भनेर।
म पनि मेरा भाइहरु जस्तै डाक्टर, इन्जिनियर बन्न सक्थें होला। तर मैले अस्पताल व्यवस्थापन विषय नै रोजें। विज्ञान विषय, त्यसमा पनि प्राविधिक विषय रोज्यो भने सजिलै जागिर पाइन्छ भन्ने परिवेशमा हुर्केकी म।
नेपालबाट उच्च शिक्षाको लागि सन् २००४/२००५ मा देहेरादुन पुगेर पारामेडिकल कलेजमा भर्ना भएँ। त्यहाँ मैले मेडिकल ल्याब टेक्नोलोजी विषयमा स्नातक तह पार गरें। त्यसपछि अस्पताल प्रशासन विषयमा स्नात्तकोत्तर तहमा शैक्षिक उत्कृष्टता पाएँ।
पढाइ सकिएर प्रशासनतर्फ काम गर्न थालेपछि कतिपय बिरामी मलाई 'डाक्टरसाप' भनेर बोलाउने गर्थे। म मनमनै हाँस्थें। हाम्रो देशमा सेता कोटधारी पुरुष जतिलाई डाक्टर अनि महिला जतिलाई सिस्टर भन्ने बुझाइ अझै पनि छ। तर सेतो कोट लगाउने म न डाक्टर थिएँ न त नर्स नै। तर ती बिरामीका आफन्तहरुको समस्यालाई समाधान गरिदिने म सेतुको रुपमा काम गरिरहन्थें प्रशासनको तर्फबाट।
बिरामीको उपचारका बारेमा जानकारी होस् या अन्य प्राविधिक कारणबाट अल्मलिएका बिरामीका आफन्तहरुलाई, डाक्टर र नर्ससम्म पुर्याउन, एउटा कुशल अस्पताल व्यवस्थापक हुन जरुरी रहेछ। यही पदमा काम गर्दा मलाई अहिले सही विषय रोजेछु भनेर गर्व लाग्छ।
कहिलेकाहीँ कुनै-कुनै कार्यालयमा काम परेर जाँदा प्रशासनमा काम गर्ने कर्मचारीहरु कोही हाई काढेर बस्ने, कोही जाडोमा घाम तापेर बसेको देखेको थिएँ। उनीहरुलाई देखेर मैले मनमनै आफू जहिले पनि प्रशासनको काममा तन-मन दिएर आफ्नो काम कर्तव्य पूरा गर्नेछु भनेर प्रण गरेकी थिएँ।
नेपालमा हाल विभिन्न प्रकारका क्यान्सर रोगीहरुको संख्या वर्षेनी बढिरहेको छ। आजभन्दा पाँच वर्षअघि नेपालमा क्यान्सर सम्बन्धी जनचेतना निकै कम थियो। बिरामीहरु क्यान्सरको अन्तिम अवस्थामा आउने गर्थे। अहिले म जस्तै प्रशासन तहमा बस्ने प्रतिनिधिहरुले गर्दा नै क्यान्सर रोग समयमै उपचार गरे निको हुन्छ भन्ने चेतना बढेको छ। त्यही भएर अहिले अस्पतालमा आउने बिरामीहरुको उपचार गर्न पनि सजिलो भएको छ। कतिपय बिरामी सतप्रतिशत निको भएर हाँस्दै घर फर्किएको पनि मैले देखेकी छु।
कतिपयलाई क्यान्सरको उपचार नेपालमा सम्भव भइसक्यो भन्ने पनि थाहा छैन। त्यही भएर क्यान्सर रोग लागेको थाहा पाउने बित्तिकै छिमेकी राष्ट्रतिर उपचारकै लागि जाने गरेका छन्। त्यही भएर अझै पनि हामीले बिरामीका आफन्त लगायतका व्यक्तिहरुलाई नेपालमा नै क्यान्सरको विभिन्न चरणको उपचार सम्भव छ भन्ने विश्वास दिलाउन बाँकी छ।
यसका लागि हामीले क्यान्सर सपोर्ट एण्ड अवेरनेस नेपाल नामक कार्यक्रममार्फत गोष्ठी, समारोह, जनचेतनाका कार्यक्रम पनि गरिरहेका छौं । विभिन्न कार्यक्रममा सर्वसाधारणलाई क्यान्सरबाट बच्ने उपायहरु पनि बताउँदै आएका छौं।
यसरी बिरामी र अस्पतालबीचको पुल बन्न प्रशासन व्यस्थापकको ठूलो भूमिका हुँदोरहेछ। आगामी दिनहरुमा पनि बिरामीको उपचार र उनीहरुका प्राविधिक समस्या समाधान गर्न म जस्तै प्रशासनमा काम गरिरहनुभएका सम्पूर्ण स्वास्थ्यकर्मीले हातेमालो गरे नेपालमा बढ्दै गएको क्यान्सर रोगीहरुको संख्या पक्कै घट्ने थियो।