जनस्वास्थ्य जीवन जिउने पद्धति ‘वे अफ लिभिङ’ हो। जनस्वास्थ्यले हामीलाई कसरी बाँच्ने, अझ भनौँ कसरी शारीरिक, मानसिक, सामाजिक, मनोवैज्ञानिक तथा आध्यात्मिक रुपमा स्वस्थ भई बाँच्ने भनेर सिकाउँछ।
जनस्वास्थ्य हाम्रो वरिपरि व्याप्त छ। हामीभित्रै व्याप्त छ। बिहान उठिसकेपछि र राति सुत्नु अगाडिसम्म हामी जेजे गर्छौं, ती सबै जनस्वास्थ्यको परिधि भित्र पर्छन्।
उठिसकेपछि गरिने व्यक्तिगत सरसफाइ, घर-आँगनको सरसफाइ, ध्यान तथा योग, परिवारसँगको समय, ब्रेकफास्ट, अध्ययन आदि सबै जनस्वास्थ्यसँग सम्बन्धित छन्। दिवाकालमा गरिने काम-कर्तव्य, सामाजिक अन्तर्क्रिया, परोपकार, खानपान, ज्ञानार्जन आदि सबै जनस्वास्थ्यसँग सम्बन्धित छन्।
त्यसैगरी, रात्रिकालीन समयमा गरिने आराम लगायतका सम्पूर्ण कर्म जनस्वास्थ्यसँगै सम्बन्धित छन्। यतिसम्म कि, हामीले के सोच्छौँ र हामीले कसरी काम गर्छौं पनि जनस्वास्थ्यको दायरा भित्र पर्छन्।
जनस्वास्थ्यले ‘म’, ‘हामी’, ‘समाज’ अनि ‘वातावरण’ सबैलाई एकै सञ्जालमा बाँधेको हुन्छ। कुनै एक तत्वको अस्तित्व अर्को कुनै एक बिना सम्भव हुँदैन। जनस्वास्थ्यले समाजलाई विशेष ठाउँ दिन्छ। समाज जनस्वास्थ्यको ‘कार्यालय’ हो। अनि म र हामी त्यही कार्यालयमा सम्बन्धित कर्मचारीहरु।
वातावारण हाम्रो कार्यालय भएको ‘स्थान’ हो। जनस्वास्थ्यले के सिकाउँछ भने, हरेक मान्छे अथवा हरेक म र हामी मिलेर समाज बनाउने हो। हामी सबै मिलेर बनाएको समाज दिगो समाज हुन्छ। दिगो समाजले वातावरणको जगेर्ना गर्छ, किनकि त्यो उसको बासस्थान हो, घर हो।
जनस्वास्थ्य अदृश्य हुन्छ, किनकि यो अब्सट्रयाक्ट संरचना हो। जनस्वास्थ्य अन्धो पनि हुन्छ। भन्दा हाँसो लाग्ला अनि एउटा सोच आउला, ‘अदृश्य कुरा अन्धो हुन्छ भनेर कसरी भन्न सकिन्छ?’ तर यो सत्य हो, किनकि जनस्वास्थ्यले कसैको अनुहार चिन्दैन। पत्यार लाग्दैन भने, चिकित्सा विज्ञान र जनस्वास्थ्यलाई एकै ठाउँमा राखेर एउटा प्रश्न गरौँ, ‘तिमी कसलाई स्वस्थ बनाउन खोज्दैछौ?’
चिकित्सा विज्ञानले बिरामीको अनुहार स्पष्टसँग सम्झिन्छ र ‘यो वा यो-यो व्यक्तिको’ भनेर उत्तर दिइहाल्छ तर जनस्वास्थ्यले कसैको नाम लिँदैन। जनस्वास्थ्यले न बिरामीको अनुहार देख्छ न स्वस्थहरुको। उसले त समाज देख्छ, जुन आफूजस्तै अब्सट्रयाक्ट संरचना हो।
चिकित्सा विज्ञानले बिरामीलाई माया गर्छ तर स्वस्थहरुको कुनै वास्ता गर्दैन। तर जनस्वास्थ्यले बिरामी र स्वस्थ दुवैलाई उत्तिकै माया गर्छ। जनस्वास्थ्यले कसैलाई काखा कसैलाई पाखा गर्न जान्दैन।
जनस्वास्थ्य बाँच्नका लागि चाहिने अतिअवाश्यक दर्शन पनि हो। जनस्वास्थ्य भित्र सत्यता छ, सत्यता चिन्न चाहिने ज्ञान छ अनि ज्ञान आर्जन तथा उपयोग गर्न आवश्यक कला पनि छ।
मान्छे सामाजिक प्राणी हो र ऊ समाजमा शारीरिक, मानसिक, सामाजिक, मनोवैज्ञानिक तथा आध्यात्मिक तरिकाले स्वस्थ भई बाँच्न चाहन्छ। यो सत्य हो। सो अवस्थामा बाँच्न समाज दिगो बनाउन जरुरी छ जुन म अनि हामी सबै मिलेर बनाउन सकिन्छ। यो ज्ञान हो। हामी सम्पूर्ण प्राणी प्रकृतिको एउटा विशाल सञ्जालमा छौँ। त्यसैले प्रकृतिको तालमेललाई कसैले ठेस नपुर्याउने गरी, नैतिकताको घेराभित्र रहेर दिगो शैलीमा विकासको काम गर्न सकिन्छ। यो कला हो।
म, हामी, समाज अनि वातावारण एकै सञ्जालमा सुन्दर त देखिन्छौँ, तर सह-अस्तित्व तबसम्म सुन्दर हुन्छ जबसम्म कसैले कसैलाई ठेस पुर्याउने काम गर्दैन। यदि म, हामी, समाज अनि वातावारणमध्ये कुनै एकले पनि नियमविपरीत काम गर्ने हो भने, त्यसको असर हरेकले भोग्नु पर्छ। त्यसैले, ज्ञान प्राप्त गर्न पढिने विषय मात्र जनस्वास्थ्य होइन, जनस्वास्थ्य एउटा चेतना हो। के गर्नु सही हो, के गलत हो छुट्याउन मद्दत गर्ने ज्ञान तत्व हो। अबेरसम्म निदाएको समाजको आँखा उघारिदिने किरण हो। समानता र समताको अधिवक्ता हो। समग्र जनसंख्या, समाज, वातावरण र प्रकृतिको हितमा बोल्ने वकिल हो।
जनस्वास्थ्य हचुवाको भरमा होइन, तथ्यमा आधारित भएर बोल्छ। यसले अध्ययन र अध्ययनबाट आएको ज्ञानको प्रयोगमाथि जोड दिन्छ। त्यसैले जनस्वास्थ्य अध्ययन, अनुसन्धान तथा नवीनतम खोज गर्नेहरुका लागि प्रयोगशाला हो, नीति निर्माताहरुको लागि नीति तर्जुमा गर्ने साध्य हो अनि स्वस्थ समाज निर्माणको लागि जनसंख्याको स्वास्थ्य प्रवर्द्धन गर्ने, रोगहरुको रोकथाम गर्ने, रोगहरुको समयमै पहिचान गरेर उपचार गर्ने तथा रोग/महामारीहरु फैलिनबाट रोक्ने प्रयास गरिरहने महत्वपूर्ण संस्था हो।
जनस्वास्थ्य के हो? भन्दा पनि जनस्वास्थ्य के हैन? जटिल प्रश्न हुन सक्छ। जनस्वास्थ्यले साबुन-पानीले हात धुने, सरसफाइ गर्ने, खोप लगाउने, स्तनपान गराउने, परिवार नियोजन गर्ने, व्यायाम गर्ने, कुलत छोड्ने, स्वस्थ जीवनशैलीको अनुशरण गर्ने, सरुवा तथा नसर्ने रोगविरुद्ध सावधानी अपनाउने, स्वास्थ्य संस्था गएर स्वास्थ्य जाँच गर्ने, रोगको उपचार गर्ने, तनाव नलिने, जोखिममा रहेकाहरुको स्वास्थ्यमा विशेष ख्याल पुर्याउने, स्वास्थ्य क्षेत्रमा आर्टिफिसिअल इन्टेलिजेन्स प्रयोग गर्ने, आफ्नो तथा परिवारको स्वास्थ्य बीमा गर्ने आदि सबै कुराहरुलाई समेट्छ।
त्यसैले त म भन्छु- जनस्वास्थ्य हामीले खाने खाना हो। हामीले लगाउने लुगा हो। हामीले हिँड्ने बाटो हो। हामीले फेर्ने श्वास हो। हामीले गाउने गीत हो। हामीले हाँस्ने हाँसो हो। हामीले रुने आँसु हो। हामीले गर्ने संगत हो। हामीले सोच्ने सोच हो। समस्याहरुको दिगो समाधान हो अनि नवीन ज्ञानको खोज गर्ने विज्ञान पनि हो।
मेरो बुझाइमा जनस्वास्थ्य जीवन जिउन सिकाउने एउटा कला हो।
(जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका आचार्य ‘सस्टेनेबल पब्लिक हेल्थ’ का संस्थापक हुन्।)