काठमाडौं- नेपाल फिजियोथेरापी संघको आयोजनामा ११औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन शनिबार चितवनमा सम्पन्न भएकोछ। करिब ४०० जानाको उपस्थिति रहेको उक्त सम्मेलनमा फिजियोथेरापी अध्ययनरत् विधार्थी, फिजियोथेरापिष्ट, पुनर्स्थापना सम्बन्धित पेशाकर्मी, सरोकारवाला लगाएतको सहभागिता रहेको थियो।
नेपाल फिजियोथेरापी संघ केन्द्रीय समिति र नेपाल फिजियोथेरापी संघ बागमती प्रदेशको संयुक्त आयोजनामा उक्त सम्मेलनमा काठमाडौं बाहिर पहिलो पटक आयोजना गरिएको संघको महासचिव तथा उक्त कार्यक्रमको मुख्य आयोजक कमिटिका सचिव विनय कंडेले बताए।
कार्यक्रमको प्रमुख आतिथी बागमती प्रदेशको स्वास्थ्यमन्त्री उत्तम जोशीले फिजियोथेरापी सेवा अस्पतालमा मात्र नभई समुदायमा समेत हुनुपर्ने बताए। साथै बागमती प्रदेशको अस्पतालमा दरबन्दी थप भएको र आयुर्वेद अस्पतालमा निःशुल्क फिजियोथेरापी सेवा सुरू गरेको उनले जानकारी दिए।
जनशक्ति व्यवस्थापन र बढ्दो विदेशिने क्रमलाई रोक्न अध्ययन अध्यापनको वातावरण बनाउनु पर्नेमा उनले जोड दिए। विशिष्ट अतिथि भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी थिए भने अतिथिहरुमा कलेज अफ मेडिकल साइन्सका निर्देशक, चितवन मेडिकल कलेजका निर्देशक साथै नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ चितवन, नेपाल अर्थोपेडिक संघ, ह्यान्डिक्याप इन्टरनेशनल लगायत थिए।
सबैको लागि फिजियोथेरापी नेपालको समग्र स्वास्थ्य प्रणाली प्रवद्धनको लागि आयामहरुको खोजी भन्ने मुल नाराका साथ सम्पन्न भएको उक्त सम्मेलनमा युनिभर्सिटी अफ मेलबर्न कि प्रोफेसर डा जिलिएन ओएबले नेपालमा फिजियोथेरापी सेवा र शिक्षा अझ प्रभावकारी बनाउदै अगाडि बढाउने विषयमा कि नोट मन्तव्य राखेकी थिइन्। नेपालमा फिजियोथेरापी सेवा स्तरिय बनाउन फिजियोथेरापीको अध्यापन र नेपाल फिजियोथेरापी संघ जस्तो संस्थाको महत्वपूर्ण भुमिका रहने उनले बताइन्। कार्यक्रमबाट फिजियोथेरापी क्षेत्रमा गुणस्तरीय रिसर्च गर्न अझै प्रोत्साहन हुने र फिजियोथेरापी अभ्यास अझै प्रमाणमा आधारित रहने महासचिव कंडेलले जानकारी दिए।
यसैबीच नेपाल फिजियोथेरापी संघ र फिजियोथेरापी विधामा दिएका खड्ग सिंह गुरुङलाई नेपाल फिजियोथेरापी संघले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मानित गरेको छ। गुरूङ ३० वर्ष भन्दा बढी हरियो खर्क अस्पताल पोखरामा कार्यरत रहि हालसालै सेवा निवृत्त भएका छन्। साइन्टिफिक सेसनबाहेक नेपाली संस्कृति झल्काउने विभिन्न प्रस्तुतिहरू कलेज अफ मेडिकल साइन्स, काठमाडौं स्कुल अफ मेडिकल साइन्स, पोखरा विश्वविद्यालयमा अध्ययनरत फिजियोथेरापी विद्यार्थीहरूले प्रस्तुती राखेका थिए। नेपालमा पुनर्स्थापना क्षेत्रमा सक्षम जनशक्तिको माग, उत्पादन र सहि व्यवस्थापन विषयमा केन्द्रित रहि प्यानल डिस्कसन समेत भएको थियो।