काठमाडौं– धूमपान र सुर्तीसेवनलाई निरुत्साहित गर्न ‘ डाओम फाउन्डेसन’ले ‘विद्यालयस्तरमा स्वास्थ्य सचेतनामूलक कार्यक्रम ‘स्कुल हेल्थ प्रोग्राम’ सञ्चालन गर्ने भएको छ। सोही कार्यक्रमअन्तर्गत फाउन्डेसनले धूमपान र सुर्ती सेवनसम्बन्धी ‘विद्यालयस्तरीय खुला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको छ।
पछिल्ला दिनमा नेपालमा धूमपान र सुर्तीसेवन विद्यालयस्तरबाटै सुरू गर्ने घटना बढेको छ। अध्ययनअनुसार नेपालमा औसत १७ वर्षको उमेरमा धूमपान सुरू गरेको पाइन्छ। किशोरावस्थामै कुलतमा लाग्दा सानो उमेरमै जटिल स्वास्थ्य समस्याबाट गुज्रिनुपर्ने स्थिति रहेकाले विद्यार्थीलाई धूमपान र सुर्तीसेवन हानिकारक हो भन्ने कुराको बोध गराउनु अपरिहार्य रहेकाले यो अभियान सञ्चालन गरिएको बताइएको छ।
प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर ‘डा।ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा। ओम मूर्ति अनिलले धूमपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुईहप्ते सचेतनामूलक अभियान ‘धूमपान गर्ने स्वार्थी हुँदैनन्’ सञ्चालन गरिएको बताए।
विद्यालय, शिक्षक र अभिभावकले आफ्ना बालबालिकालाई यस अभियानमा सहभागी हुन प्रोत्साहित गर्न फाउन्डेसनले आग्रह गरेको छ। पुरस्कार र प्रतियोगिता एउटा माध्यम मात्रै हो विद्यार्थीलाई एक अभियानमा सहभागी गराउँदा उनीहरुले धूमपान तथा सुर्ती सेवनको असरका बारेमा जानकारी पाउने छन्। एउटा अवसरको सन्दर्भमा गरिएका क्रियाकलाप अविस्मरणीय पनि हुने भएकाले प्रणय दिवस तथा सरस्वती पूजालाई रोजिएको डा अनिलको भनाइ छ।
अभियानअन्र्तगत धूमपान र सुर्ती सेवनबाट सेवनकर्ता, सेवनकर्ताको परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने गरी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरीजवाफ प्रतियोगिता’ आयोजना गरेको डा अनिलले जानकारी दिए। १२ कक्षासम्मका विद्यार्थी सहभागी हुनसक्ने कविता प्रतियोगितामा पाँच छात्राछात्रलाई उत्कृष्ट रचनाकारका रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ।
बाल चित्रकला प्रतियोगितामा कक्षा ७ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन्। सहभागीमध्येबाट एक छात्रा र एक छात्रलाई उत्कृष्ट चित्रकारको रुपमा छनोट गरी जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी हुन सक्नेछन्। सहभागीमध्येबाट तीन समूहलाई प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट गरी क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार नगद, प्रमाणपत्र र पदक प्रदान गरिने फाउण्डेशनले जनाएको छ।