काठमाडौं– मंगलबार कटारी अस्पतालमा २२ वर्षकी महिला सर्पले कोटेपछि उपचारका लागि आइन्। मकै छोडाइरहेको अवस्थामा हातमा सर्पले टोकेपछि उनी सर्पले टोकेको १० मिनेटमै कटारी अस्पताल पुगेकी थिइन्।
दुधौली–७ सुधारेबाट आएकी उनलाई अस्पताल आइपुग्दा सर्पदंशको लक्षण देखिन सुरु भएको थियो। सर्पले टोकेको ठाउँ प्रष्ट देखिने थियो भने टोकेको ठाउँमा सुन्निएको र रगत पनि बगेको थियो।
तर कुन सर्पले टोकेको हो भन्ने बिरामीलाई पनि थाहा थिएन। बिरामीलाई सर्पले कोटेको एकघण्टामा भने आँखा हेर्न गाह्रो हुने, आँखा धमिलो हुने, एउटा वस्तु दुईवटा देखिने वाकवाकी लाग्ने समस्या देखिन थाल्यो।
डा गौरव शाहको टिमले बिरामीको लक्षणको आधारमा कोब्रा सर्पले कोटेको हुनसक्ने भन्दै एन्टिस्नेक भेनम चलाए।
१० भाइल एन्टिस्नेक भेनमको प्रयोग गरेपछि ती बिरामीमा सर्पको टोकाइको असर कम हुँदै गयो। सर्पले कोटेको ठाउँमा नजिकको अस्पतालबाट सर्जन बोलाएर सर्जरी पनि गरियो। अहिले उनको अवस्था सामान्य भएको छ।
कटारी नगरपालिकाको क्षेत्र गर्मी तथा मनसुनको समयमा सर्प धेरै सक्रिय हुने क्षेत्र हो। मनसुनमा सर्पदंशका घटनाहरु धेरै हुने भएकाले नगरपालिकाले कटारी अस्पतालमा सर्पदंशको उपचार सेवा कटारी अस्पतालमै सुरु गरेको छ।
अस्पतालका चिकित्सक डा शाहका अनुसार पहिला काँडाघारीमा सञ्चालन हुने शिविरबाट मनसुनको समयमा सर्पदंशका बिरामीको उपचार हुने गथ्र्यो।
डेढ वर्ष अघि शिविर बन्द भएपछि कटारी नगरपालिकाले कटारी अस्पतालमै सर्पदंशको उपचार सुरु गरेको हो। गर्त वर्षदेखि सुरु भएको सेवामा पहिलो वर्ष १४५ जना सर्पदंशका बिरामीको उपचार गरिएको डा शाहले जानकारी दिए।
कटारीमा सबैभन्दा धेरै सर्पदंशका घटना चैत देखि मनसुनको अवधिभर बढी हुने गरेको छ।चालु आर्थिक वर्षको चैत, बैशाख र जेठमा मात्र६५ जना सर्पदंशका बिरामीको उपचार गरिएको डा शाहले जानकारी दिए।
उनले भने, ‘यो वर्ष चैत यता मात्र ६५ केस आइसकेको छ।’
समयमै उपचारका लागि अस्पतालमा आइपुगेका बिरामीलाई उपचार गरी बचाउँन सकिने डा शाहले बताए।
‘समयमै उपचारका लागि आइपुगेका बिरामीलाई पहिला एन्टिस्नेक भेनमको प्रयोगबाट बिरामीको उपचार सुरु गर्छौ,’ उनले भने, ‘बिरामीको अवस्था अनुसार प्रोटेवल भेन्टिलेटरको प्रयोग गरेर पनि उपचार गर्छौ। गम्भिर केस भएका प्राथमिक उपचार गरेर जिल्ला अस्पतालहरुमा पठाउँछौ।’
अस्पतालमा कोब्रा र करेत सर्पको टोकाइको उपचार गरिने गरेको उनले सुनाए।
कटारी अस्पताललाई प्रदेश सरकारले एन्टिस्नेक भेनम उपलब्ध गराउँदै आएको छ। सर्पदंशको उपचारका लागि प्रदेश आपुर्ति केन्द्रबाट गतवर्ष नै २०० भाइल एन्टिस्नेक भेनम उपलब्भ भएको थियो। जसमध्ये ३० भाइल प्रयोग भइसकेको छ।
कराटी अस्पतालमा सर्पदशंको उपचार सेवा सुरु भएपछि बिरामीहरुले सहज रुपमा सेवा पाउन थालेका छन्। आइसियू नै चाहिने अवस्थाका बिरामीलाई नजिकको अर्को अस्पतालमा रेफर गर्ने गरिएको छ।