काठमाडौं- दक्षिणी पाकिस्तानमा गर्मी बढ्दा गर्मीका कारण मृत्यु हुने मानिसको सङ्ख्या पनि बढेको छ।
एम्बुलेन्स सेवा दिने 'इधी'का अनुसार कराचीका शवगृहमा प्राय: दैनिक ३० देखि ४० मृतकलाई पुर्याउने गरेको थियो।
यद्यपि विगत छ दिनमा इधीले ५६८ वटा शव सङ्कलन गरेको छ र तीमध्ये मङ्गलवार सङ्कलन गरिएका शवको सङ्ख्या १४१ थियो।
प्रत्येक घटनामा मृत्युको कारण के थियो भनेर भनिहाल्न मिल्ने अवस्था छैन।यद्यपि कराचीमा सहरको तापक्रम ४०°C भन्दा माथि पुगेपछि मृतकको सङ्ख्या वृद्धि भएको छ। सापेक्षित आर्द्रता उच्च रहेकाले प्राय: ४९°C सम्ममा हुने जस्तै गर्मी महसुस गरिएको विवरणहरू आएका छन्।
गर्मीबाट आक्रान्त धेरै मानिस सहयोग खोज्दै अस्पताल पुगेका छन्।
कराचीस्थित सिभिल अस्पतालमा मात्र आइतवारदेखि बुधवारसम्ममा "हीटस्ट्रोक" भएका २६७ जनालाई भर्ना गरिएको उक्त अस्पतालको आपत्कालीन विभागका प्रमुख डा इमरान सरवर शेखले बताए। तीमध्ये १२ जनाको मृत्यु भयो।
शेखले बीबीसीसँग भने, "अस्पतालमा आएका अधिकांश मानिसहरू ६० देखि ७० वर्षका छन्। केही ४५ वर्षसम्मका र दुई जना त २० वर्षका समेत थिए।"
उनका अनुसार अस्पताल आएका मानिसहरूमा बान्ता आउने, पखाला लाग्ने र उच्च जरो आउने जस्ता लक्षणहरू देखिएका थिए।
उनले भने, “हामीले जाँच गरेका अधिकांश मानिसहरू घरबाहिर काम गर्थे। हामीले उनीहरूलाई उच्च तापक्रममा काम गर्दा प्रशस्त पानी पिउन र हल्का लुगा लगाउन भनेका छौँ।”
'आंशिक उष्णलहर'
पाकिस्तानको त्यो क्षेत्रमा बढेको तापक्रमलाई एक मौसमविद्ले "आंशिक उष्णलहर" भनेका छन्। त्यो गत सप्ताहान्तमा सुरु भएको थियो।
प्रभावित क्षेत्रहरूमा सर्वसाधारण मानिसलाई राहत प्रदान गर्ने उद्देश्यले उष्णलहर केन्द्र र शिविरहरू स्थापना गरिएको छ।
तस्बिरहरूमा बालबालिकाले पानीका फोहोरामा खेल्दै गर्मीबाट प्रयास गरेको देखिन्छ।
"मलाई हेर्नुहोस् त! मेरो सबै लुगा पसिनाले पूरै भिजेको छ," मोहम्मद इमरानले रोएटर्स समाचारसंस्थालाई सोमवार भनेका थिए।
चरम गर्मीबाट प्रभावित सबै मानिस अस्पताल पुग्न सकेका छैनन्। वसीम अहमदलाई आफू घर पुग्दा स्वस्थ नरहेको थाहा थियो।
उनी ५६ वर्षका थिए र सुरक्षा गार्डका रूपमा काम गर्थे। उनले रातभरि १२ घण्टा काम गरेर फर्किएका थिए। उनी घर फर्कँदा चौपट्ट गर्मी थियो।
"उनले घरमा आएर ढोकैबाट म यो गर्मी खप्न सक्दिनँ भन्दै एक गिलास पानी मागे। पानी पिउनेबित्तिकै उनी ढले," वसीमका एक भाइ अदनान जफरले बीबीसीसँग भने।
वसीमको परिवारले उनलाई अस्पताल पुर्याए। चिकित्सक उनलाई मृत घोषित गरे। उनको हृदयाघातका कारण मृत्यु भएको बताइयो।
अदनानका अनुसार उनलाई मुटुको समस्या थियो। तर यसअघि कहिल्यै पनि गर्मीले उनलाई त्यसरी सताएको थिएन।
बिजुली नहुँदा झन् सास्ती
उच्च तापक्रमबाट जोगिन कराचीमा मानिसहरूले ठूलो सङ्घर्ष गर्नुपरेको छ। शीतल बनाउन प्रयोग हुने पङ्खा र एअरकन्डिशनरजस्ता उपकरणका लागि विद्युत् आवश्यक पर्छ। तर त्यहाँ प्रायः बिजुली काटिन्छ। त्यसले मानिसहरूमा एक खालको डर देखिन्छ।
मोहम्मद अमीनले पनि लोडशेडिङका कारण सास्ती खेप्नुपर्यो। उनका आफन्तले उनको फ्ल्याटमा लगातार विद्युत् कटौती हुने गरेको बताएका छन्।
उनको परिवार सदस्यहरूका अनुसार ४० वर्षका मोहम्मद अचानक बिरामी परे र आकस्मिक रूपमा उनको निधन भयो।
उनको मृत्युको कारण खुल्न सकेको छैन। परिवारका सदस्यहरू भने गर्मीकै कारण उनको मृत्यु भएको शङ्का गरेका छन्।
'डन' पत्रिकाका अनुसार सहरका सडकहरूमा आपत्कालीन सेवा दिनेहरूले झन्डै ३० जनालाई मृत फेला पारेका छन्।
त्यसरी मृत्यु हुने अधिकांश व्यक्तिहरू लागुऔषधका दुर्व्यसनी भएको शङ्का गरिएको प्रहरी सेवामा रहेकी चिकित्सक सुमैया सैयदले उक्त पत्रिकालाई बताएकी छन्। यद्यपि उनीहरूलाई चोटपटक लागेको देखिएको छैन।
सिन्ध प्रान्तमा सर्वाधिक गर्मी
समाचारसंस्था रोएटर्सका अनुसार गत महिना सिन्ध प्रान्तमा अहिलेसम्मकै उच्च ५२°C तापक्रम मापन गरिएको थियो। उक्त प्रान्तको राजधानी कराची हो।
पाकिस्तानका छिमेकी देशहरूमा पनि हालैका साताहरूमा चरम र घातक गर्मी भएको छ।
भारतको राजधानी दिल्लीमा पनि मे महिनादेखि तापक्रम ४०°Cभन्दा माथि पुगेको छ। त्यहाँ तापक्रम उच्च भएका बेलामा झन्डै ५०°C नजिक पुगेको थियो।
कराचीका चिकित्सकहरूले उक्त सहरमा यस्तो अवस्था यसअघि कहिल्यै नदेखेको बताएका छन्।
कराचीका मोहम्मद जेशनले रोएटर्ससँग भनेका छन्, "यो जलवायु परिवर्तनका कारण भएको हो।"
"यो संसारभरि भइरहेको छ। यस्तो युरोपमा पनि भइरहेको छ। उनीहरूले पनि उच्च गर्मी खेप्नुपरेको छ तर उनीहरूले त्यसबाट जोगिन कदम चालेका छन्।"
"तर यहाँ सरकारले केही पनि कदम नचालेको भन्ने गरिन्छ।"
विज्ञहरू यस्ता खालका चरम मौसमी गतिविधि जलवायु परिवर्तनका कारण भएको हो भन्नेमा सहमत छन्।
आगामी सातादेखि तापक्रममा केही कमी आउने पूर्वानुमान गरिएकाको छ। त्यसपछि कराचीमा "उष्णलहर" हट्न सक्ने ठानिएको छ।
मौसमविद्हरू पनि मनसुनमा पर्ने पानीले तापक्रम कम गरेर अहिलेको अवस्था अन्त्य हुने आशामा बसेका छन्। बीबीसीबाट