काठमाडौं- नसर्ने रोग सम्बन्धी पहिलो क्षेत्रीय सम्मेलन आजबाट सुरु हुँदैछ । नसर्ने रोगबिरुद्ध दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुको गठबन्धन साउथ इस्ट एशिया रिजनल एनसीडीज एलायन्स (एसईएआर एनसीडीज एलायन्स)को आयोजनामा उक्त सम्मलेन हुँदैछ।
‘फर्स्ट साउथ इस्ट एशिया रिजनल एनसीडीज कन्फ्रेन्स -२०२४’ नाम दिइएको यो सम्मेलन ७ भदौसम्म जारी रहनेछ। ‘भर्चुअल’ माध्यममा हुने यो तीन दिने सम्मेलनको निशुल्क दर्ता खुल्ला रहेको आयोजकले जनाएको छ।
नेपाली समय अनुसार दिउसो १२ : ४५ सम्मेलन सुरु हुनेछ। पहिलो सत्रको सहजीकरण नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीले गर्नेछन्। उनले प्लेनरी सेसन १ मा प्राइमरी एण्ड इन्टीग्रेटेड क्लिनिकल केयर फर एनसीडीज म्यानेजमेन्ट विषयमा सहजीकरण गर्दैछन् । बुधबार नै हुने प्लेनरी सेसन २ मा हेल्थ केयर सिस्टम रेडिनेश च्यालेन्जेज एन्ड अपरच्युनिटीफ विषयमा इडिसीडीका एनसीडी एण्ड मेन्टल हेल्थ शाखा प्रमुख डा. पोमावती थापाको प्रस्तुति रहनेछ।
गरिबी, शिक्षा र शहरीकरणको राम्रो हस्तक्षेप गर्ने सामाजिक निर्धारक तत्वको बारेमा नेपाल एनसीडी एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले प्रस्तुति दिनेछन्। म्यानेजमेन्ट एन्ड मेटिगेशन अफ एनसीडीज एन्ड रिस्क फ्याक्टरको बारेमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा मेघनाथ धिमालको प्रस्तुति रहनेछ।
बुधबार बेलुका ५ : ५० पछि हुने उदघाटन सत्रमा नेपाल एनसीडी एलायन्सका उपाध्यक्ष डा अभिनव वैद्यले सम्मेलनको उदेश्यबारेमा प्रकाश पार्ने छन् भने अतिथिको रुपमा अध्यक्ष डा प्रकाशराज रेग्मीले बोल्ने कार्यक्रम रहेको छ।
दक्षिणपूर्वी एशिया क्षेत्रमा नसर्ने रोगको जोखिम, कारक तत्व, यसको नियन्त्रणका लागि बनेका नीतिहरु आदानप्रदान गर्ने, नसर्ने रोग रोकथाम, व्यवस्थापन र नियन्त्रणका लागि समग्र र एकीकृत दृष्टिकोण विकास गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगलाई सहज बनाउन तथा सम्वाद र साझेदारीलाई बढावा दिन कार्यक्रमले महत्वपूर्ओ भूमिका खेल्ने उपाध्यक्ष डा वैद्यले बताए।
सम्मेलनमा स्वास्थ्यकर्मीहरु, नीति निर्माताहरु, आम जनमानसमा नसर्ने रोगहरुको व्यापकता र प्रभावको बारेमा सचेतना बढाउन तथा क्षेत्रीय र सामुदायिक स्तरमा देखिएको जोखिम तथा कारकहरुलाई सम्बोधन गर्न र यसको रोकथाम र नियन्त्रण गर्नका लागि सहयोगी हुने बताइएको छ। सम्मेलनमा मुटुरोग, मधुमेह, सीओपीडी, क्यान्सर, मिर्गौला, मस्तिष्क घात, मानसिक स्वास्थ्य, चोटपटक, न्युरो डेभलपमेन्ट डिसअर्डर लगायतका रोगको विषयमा छलफल केन्द्रीत हुनेछ।