काठमाडौं– स्वास्थ्य खबरपत्रिका १५ औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गर्ने स्वास्थ्य खबर हेल्थ अवार्ड यसपल्ट ‘डिजिटल हेल्थ’मा केन्द्रित भएर प्रदान गरिँदैछ । स्वास्थ्य क्षेत्रको डिजिटलाइजेसनमा जोड दिन ५ वटा विधा डिजिटल हेल्थमा समर्पित गरिएको हो । अन्य ४ गरी ९ जना चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सम्मानित हुँदैछन् ।
काठमाडौंमा आयोजना हुने एक समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यसअघि डिजिटल हेल्थ सिम्फोजिएम हुँदैछ । जहाँ विज्ञहरुले छलफल गर्नेछन् र निष्कर्ष प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
‘स्वास्थ्य सेवालाई सहज, सरल, पहुँचयोग्य र पारदर्शी बनाउन आधुनिक प्रणाली, प्रविधि र प्रद्धतिअनुसार अघि बढाउनुपर्छ । विश्वले स्वास्थ्य सेवाका विभिन्न पक्षलाई डिजिटल बनाइरहेको छ र बनाइसकेको छ । नेपालले पनि डिजिटल उन्मुख हुने नीति लिएको छ । तर, अझै गति पनि सुस्त देखिएको छ । विश्वमा भइरहेको प्रगति पछ्याउन नीति बनेपनि मौलिक कार्यान्वयनमा समस्या देखिएका छन्,’ आयोजक स्वास्थ्य खबर फाउन्डेसनका अध्यक्ष अनिल न्यौपानेले भनेका छन्।
डिजिटल हेल्थको विकासक्रमलाई सघाउन आफ्नो तर्फबाट लागिपरेकाहरुलाई हौस्याउने, नीति र गतिमा देखिएको समस्या उजागर गर्दै आगामी बाटो तय गर्ने अवसरको रुपमा समेत यसपल्ट ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’लाई हेरिएको छ।
छनोट प्रक्रिया
स्वास्थ्यखबर हेल्थ अवार्ड विभिन्न विधामा प्रदान गरिन्छ । यस संस्करणमा पनि हामीले यसअघिझैं विभिन्न विधा तय गरेका थियौं । अवार्ड प्रदान गर्नको लागि आवेदन, मनोनयन तथा सिफारिस खुला गरिएको थियो । अवार्डको मापदण्ड भित्र पर्ने व्यक्ति र संस्थालाई अवार्ड दाबी गर्न वा सिफारिस गर्न स्वास्थ्य खबरपत्रिकाले यसको अनलाइन संस्करणमा सूचना जारी गरेको थियो । अवार्डको लागि आवेदन, मनोनयन तथा सिफारिस खुला गरिएको सूचना स्वास्थ्यखबर डटकममा र नेपाल लाइभमा प्रकाशन गरिएको थियो । यस अतिरिक्त, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा अन्य स्वास्थ्यसँग सम्बन्धित संघ–संस्थाहरुबाट पनि अवार्डका लागि आवश्यक जानकारी प्रचार गरिएको थियो।
प्राप्त आवेदन, सिफारिस तथा मनोनयनहरुको मूल्यांकन स्वास्थ्य मन्त्रालयको सुपरिवेक्षणमा विज्ञहरु सम्मिलित स्वतन्त्र छनोट समितिमार्फत गरिएको थियो । स्वास्थ्य क्षेत्रका प्रबुद्ध व्यक्तित्वको सुझाव र सल्लाहलाई आत्मसात गर्दै अवार्डका लागि मापदण्ड बनाइएको थियो।
के थिए मापदण्ड ?
स्वास्थ्यखबर हेल्थ अवार्डको सबैभन्दा महत्वपूर्ण र पहिलो मापदण्ड नै यसमा सहभागिता जनाउनको लागि सामुदायिक, सरकारी र गैरनाफामुलक संस्थामा आवद्ध वा स्वयंसेवी रुपमा सेवा पुर्याएको हुनुपर्ने सर्त छ।
यस वर्षको अवार्डको मुल विषय ‘डिजिटल हेल्थ’ थियो । त्यसका विभिन्न विधाका साथै उत्कृष्ट चिकित्सक, नर्स र जनस्वास्थ्यकर्मी छनोट गरिएको थियो । अवार्डका विभिन्न क्याटेगोरीहरुमा सान्दर्भिक कार्यहरु, नवीन र उदाहरणीय कार्य, दुर्गम भेगमा कार्यसम्पादन, सीमान्तकृत वर्ग तथा समुदायको प्रतिनिधित्व गर्ने स्वास्थ्यकर्मी वा पैरवीकर्ता लगायतका पक्षहरु समेटिएको थियो।
कसरी छानियो ?
अवार्ड छनोटका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको अभिभावकत्वमा अवार्ड छनोट कमिटी गठन भएको थियो । कमिटीले प्रारम्भिक मापदण्ड तय गरेपछि अवार्डका लागि आवेदन, सिफारिस तथा मनोनयन खुला गरिएको थियो। प्राप्त आवेदन, मनोनयन र सिफारिसहरुको सूचीकरण गरी थप मूल्यांकनको सूचकांकहरु तय गरिएको थियो।
अवार्ड छनोट समिति
अवार्ड प्रक्रियाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको अभिभावकत्वमा छनोट समिति गठन भएको थियो।
समितिको संयोजकमा मन्त्रालयको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका प्रमुख कपिल तिमल्सेना, सदस्यमा मन्त्रालयका नीति योजना तथा वैदेशिक सहयोग महाशाखाका पूर्वप्रमुख भोगेन्द्र डोटेल र स्वास्थ्य खबरपत्रिकाका कार्यकारी सम्पादक डिबी खड्का थिए । स्वास्थ्य खबरपत्रिकाका सम्पादक प्रवीण ढकालले आमन्त्रित सदस्यको रुपमा छनोट प्रक्रियामा महत्वपूर्ण योगदान गरेका थिए । अवार्ड छनोटको सदस्य सचिवका रुपमा स्वास्थ्यखबर फाउन्डेसनकी कार्यक्रम संयोजक रोमिका न्यौपानेले भूमिका निर्वाह गरेकी थिइन् ।