काठमाडौं- आगामी संयुक्त राष्ट्रसंघको ३०औँ जलवायु सम्मेलन, विश्व स्वास्थ्य संगठनको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी फ्रेमवर्क कन्भेन्सन अन्तर्गतको ११औँ पक्षहरूको सम्मेलन र सुर्तीजन्य पदार्थको अवैध व्यापार अन्त्य गर्ने प्रोटोकल अन्तर्गतको चौथो बैठक पूर्व एक मिडिया प्रशिक्षण सत्र अक्टोबर २८,२०२५ मा भर्चुअल माध्यमबाट सम्पन्न भयो।
‘सरकारहरूले जलवायु र सुर्तीजन्य पदार्थ नियन्त्रण सन्धिहरूमा जवाफदेहिता र तत्काल कार्यहरूलाई प्राथमिकता दिनुपर्छ, भन्ने शीर्षकमा आयोजित उक्त कार्यक्रम अन्तर्राष्ट्रिय संस्थाहरूको सुर्तीजन्य पदार्थ प्रति जवाफदेहिताको लागि सञ्जाल (एन.ए.टी.टी), कर्पोरेट जवाफदेहिता, कर्पोरेट जवाफदेहिता र सार्वजनिक सहभागिता अफ्रिका (सी.ए.पि.पि.ए), ए.पि.क्याट, ए.पि.क्याट मिडिया, द युनियन, भाइटल स्ट्राजेजीज, र सी.एन.एसको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।
पहिलो प्रस्तुति एशियन कन्सल्टेन्सी अन टोब्याको कन्ट्रो (हङकङ)की प्रा.डा.जुडिथ म्याकके, विश्व स्वास्थ्य संगठनकी वरिष्ठ नीति सल्लाहकार तथा ग्लोबल सेन्टर फर गुड गभर्नेन्स इन टोब्याको कन्ट्रोलकी विशेष सल्लाहकारले प्रस्तुत गरे उहाँको प्रस्तुति ‘बहुपक्षीय संकटमा विश्व स्वास्थ्य संगठनको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी फ्रेमवर्क कन्भेन्सनका भूमिका: यसको २० औं वार्षिकोत्सवको सम्झना’ शीर्षकमा रहेको थियो। उनले विश्व स्वास्थ्य संगठनको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी फ्रेमवर्क कन्भेन्सनका प्रमुख प्रावधानहरू  (अनुच्छेद ५.३ (धुम्रपान उद्योगलाई नीति निर्माणबाट टाढा राख्ने, (अनुच्छेद १८ (सुर्ती खेति लाभदायक नगद बाली होइन, र (अनुच्छेद १९ (दायित्व) माथि प्रकाश पारिन्। 
डा. म्याककेले अष्ट्रेलियाले सादा प्याकेजिङ सम्बन्धी कानुनमा धुम्रपान उद्योगले दायर गरेका कानुनी चुनौतीहरू सफलतापूर्वक जितेको उदाहरण दिए। उनले प्रस्तुति अन्त्य गर्दै भने, ‘भविष्यका लागि राजनीतिक इच्छाशक्ति अत्यावश्यक छ।'
विश्व स्वास्थ्य संगठन सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी फ्रेमवर्क कन्भेन्सनको सचिवालयका रैयन साबेत–प्यारीले सबै सहभागीहरूलाई धन्यवाद दिँदै विश्वव्यापी रूपमा धुम्रपान नियन्त्रणका प्रयास बारे जानकारी दिए। साथै उनले आगामी नोभेम्बर २२, २०२५ (शनिबार) मा हुने हाइब्रिड प्रेस सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरे।
त्यसपछि, डा.तारा सिंह बम, एशिया–प्रशान्त निर्देशक (धुम्रपान नियन्त्रण), भाइटल स्ट्राटेजिज, उपाध्यक्ष द युनियनको धुम्रपान नियन्त्रण विभाग र एशिया–प्रशान्त सिटिज अलायन्स फर हेल्थ एन्ड डेभलपमेन्ट(नेपाल/सिंगापुर)का बोर्ड सदस्य ले ‘नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण: नेतृत्व, जवाफदेहिता र दिगोपना’ शीर्षकमा आफ्नो प्रस्तुति दिए।
उनले नेपालमा धुम्रपानको अवस्थाबारे तथ्यांक प्रस्तुत गर्दै भन्नुभयो कि २८ प्रतिशत पुरुष र ५ प्रतिशत महिला धुम्रपान गर्छन् भने ४.५ प्रतिशत बालक र २.१ प्रतिशत बालिकाले पनि सुर्तीजन्य पदार्थको प्रयोग गर्छन्। धुम्रपानका कारण हरेक वर्ष २४,८०० नेपालीको मृत्यु हुने र यसले देशलाई प्रत्येक वर्ष करिब ४७ अर्ब रुपैयाँ आर्थिक हानी पुर्याउने पनि उनले बताए।
डा. बमले धुम्रपान नियन्त्रणको लागी नेतृत्व, जवाफदेहिता र दिगोपन आवश्यक रहेको बताए। उनले नेपालले हालै ल्याएको नीति ( १०० प्रतिशत चित्रयुक्त स्वास्थ्य चेतावनी) जुन फेब्रुअरी ३, २०२५ मा स्वीकृत भई अगस्ट १, २०२५ देखि कार्यान्वयनमा आएउने भनिएको थियो-लाई उनले ऐतिहासिक कदमका रूपमा उल्लेख गरे। हाल यसविरुद्ध धुम्रपान उद्योगले सर्वोच्च अदालतमा मुद्दा चलाइरहे पनि उनले नेपालको दृढ र साहसिक  कदमप्रति सम्मान व्यक्त गर्दै यसलाई ‘साहसिक र परम्परागत सोच भन्दा बाहिरको दृष्टिकोण’का रुपमा बताए।
नेपालले २०२५ सम्म धुम्रपान प्रयोगमा ४१.७ प्रतिशत सापेक्षिक कमी ल्याउने लक्ष्य हासिल गर्ने प्रक्षेपण गरिएको छ, जुन डब्ल्यूएचओको ३० प्रतिशत कमीको लक्ष्यभन्दा बढी हो।
अन्य वक्ताहरूमा ब्लाङ्का ल्लोरेन्ते (कोलम्बिया), डानियल दोरादो टोरेस (कोलम्बिया/इक्वेडर), मोनीका अन्द्रेइस (ब्राजिल), आकिङबोडे म्याथ्यु ओलुवाफेमी (नाइजेरिया) र रेचल रोज ज्याक्सन (संयुक्त राज्य अमेरिका) लगायत विभिन्न देशका प्रतिनिधिहरूले आफ्ना दृष्टिकोण प्रस्तुत गरे।
यस्ता मिडिया प्रशिक्षणहरूले पत्रकारहरूलाई जनस्वास्थ्यका मुद्दा र वकालतका लागि प्रभावकारी रूपमा लेख्न प्रेरित गर्दछ, जसले अन्ततः जीवन बचाउन मद्दत पुर्याउँछ। स्वास्थ्य र सामाजिक जवाफदेहिताका लागि बलियो आवाज निर्माण गर्न यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गरिनु आवश्यक छ।