स्वास्थ्यखबर १५ वर्षमा प्रवेश गरेको छ । यो अवधिमा प्रविधि र पद्धतिका हिसाबले संसारले ठूलो फड्को मारेको छ । स्वास्थ्य क्षेत्र डिजिटल हेल्थको नयाँ दुनियाँमा प्रवेश गरेको छ । डिजिटल प्रविधि र पद्धति स्वास्थ्य सेवालाई सहज, सरल, पहुँचयोग्य र पारदर्शी बनाउन लाभदायी बनेको छ । जनस्वास्थ्यका विषय आमजनसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको छ ।
स्वास्थ्य क्षेत्रको डिजिटलाइजेसनबाट हुने लाभ अथाह देखिएका छन् । नेपालले पनि डिजिटल उन्मुख हुने नीति लिएको छ । डिजिटल नेपाल फ्रेमवर्क बनेको छ । त्यसमा ८ क्षेत्रमध्ये स्वास्थ्य एक छ र त्यसमा सहत पहल छन् । त्यस्तै ई–हेल्थ रणनीति र ई–हेल्थ मार्गचित्र बनाइएको छ । नेपालको १६औं आवधिक योजनाले स्वास्थ्य क्षेत्रको डिजटलाइजेसनमा जोड मात्रै दिएको छैन, कृत्रिम बौद्धिकताको प्रयोगको समेत परिकल्पना गरेको छ । सरकारले यही वर्षको नीति तथा कार्यक्रममा अस्पताललाई इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीमा लैजाने घोषणा गरेको छ ।
डिजिटलाइजेसन अब विकल्प होइन, अनिवार्य मार्ग बन्ने निश्चित छ । नेपाली स्वास्थ्य क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकता बढ्दो रहेको सरकार, अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीले समेत महसुस गरेका छन् । उपचार सेवा लिनका लागि होइन, आमजनलाई स्वस्थ जीवनशैलीतर्फ उन्मुख गराउनका लागि समेत डिजिटलाइजेसनको महत्वपूर्ण भूमिका हुन्छ । विकसित मुलुकहरुले त्यसको अभ्यास गरिरहेका छन् ।
नेपालमा भने डिजिटलाइजेसनको नीति संकुचित, गति सुस्त छ र अभ्यास असरल्ल छन् । डिजिटल हेल्थमा खुलेर काम गर्न मिल्ने नीति अझै निर्माण हुन सकेका छैनन् । भएका नीतिले प्रष्ट बाटो देखाउन सकेका छैनन् । नीतिमा भएका कुरा समेत आवश्यक जनशक्ति र स्रोत–साधनको अभावमा कार्यान्वयन हुन सकेका छैनन् । विश्वमा भइरहेको प्रगति पछ्याउन उपयुक्त नीति आवश्यक छ, त्यही नीतिमा रहेर गति बढाउन जरुरी छ । मौलिक कार्यान्वयनको मार्गचित्र बनाउनुपर्नेछ । त्यसका लागि यतिबेला प्रशस्त बहस जरुरी छ । डिजिटल हेल्थमा काम गरिरहेकाहरु, नीति निर्माताहरु, देश–विदेशमा रहेका विज्ञहरु र अभ्यासकर्ताहरु एक ठाउँमा उभिन ढिला भइसकेको छ ।
स्वास्थ्य खबरपत्रिकाले ‘वार्षिकोत्सवलाई यसपल्ट डिजिटल हेल्थ ‘मन्थन मञ्च’का रुपमा परिणत गरेको छ । वर्षभरि पत्रिका र अनलाइनमार्फत स्वास्थ्य क्षेत्रका समाचार पस्किरहेको हुन्छ । बहस गरिरहेको हुन्छ । वार्षिकोत्सवको दिन मञ्चमार्फत स्वास्थ्य क्षेत्रको उन्नयनमा योगदान गर्ने प्रयास १२ वर्षदेखि जारी छ । यसपल्ट हामीले विश्वले अपनाएको तर नेपाल अझै हिच्किचाइरहेको डिजिटल हेल्थमा बहसको प्रारम्भ गर्ने लक्ष्य लियौं । त्यहीअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा हाम्रो भगिनी संस्था स्वास्थ्यखबर फाउन्डेसनले ‘डिजिटल हेल्थ सिम्फोजिएम’ आयोजना ग¥यो । जहाँ यस क्षेत्रका विज्ञ, नीति÷निर्माता, प्रयोगकर्ता, अभियन्ता लगायतले महत्वपूर्ण मन्थन गरेका छन् । त्यसका निष्कर्षले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई डिजिटल हेल्थको आगामी मार्ग प्रशस्त गरेको हाम्रो विश्वास छ । त्यहाँ भएका छलफलका निष्कर्ष हामीले सरकारलाई हस्तान्तरण गरेका छौं । जसका आधारमा आगामी नीति निर्माण हुने विश्वास लिएका छौं ।
डिजिटल हेल्थमा प्रशस्त काम भइसकेका छैनन् । त्यसका लागि झक्झक्याउनु हाम्रो धर्म हो । तर केहीले त्यसमा प्रयास अवश्य गरेका छन् । उनीहरुलाई हौस्याउने दायित्व पनि हाम्रै रहेको महसुस गरेका छौं । डिजिटल हेल्थको विकासक्रमलाई सघाउन आफ्नो तर्फबाट लागिपरेकाहरुलाई हौस्याउन हामीले यसपल्टको ‘स्वास्थ्यखबर हेल्थ अवार्ड’का केही विधालाई समर्पित गरेका हौं । आफ्नो मन, वचन, लगन र कर्मले भ्याएसम्म स्वास्थ्य सेवामा कटिबद्ध भएकाहरु समेत यो मञ्चबाट सम्मानित हुँदैछन् ।
हामीले १५ वर्षको यात्रा एक्लै तय गरेका होइनौं । यो यात्रामा तपाईं पाठक, स्वास्थ्य क्षेत्रका विभिन्न ओहदा र क्षेत्रमा काम गरिरहेका सेवीहरु, विज्ञापनदाता र सरोकारवाहरुको साथ–सहयोग छ । त्यसका लागि हार्दिक आभार प्रकट गर्दै हाम्रो कर्ममा अझ कटिबद्ध भएर लाग्ने प्रण गर्दछौं ।