काठमाडौं- बालरोग विशेषज्ञ डा श्रीधर खनालको एआई र रोबोटिक्समा आधारित उपन्यास 'सावर्णि' सार्वजनिक भएको छ। डाक्टर खनालद्वारा लिखित साइन्स फिक्सन 'सावर्णि' कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
प्राध्यापक अभि सुवेदी, लेखक रवीन्द्र समीर, लेखक सगुना शाह र सावर्णिका लेखक स्वयम् डा श्रीधर खनालले सामुहिक रुपमा पुस्तकको लोकार्पण गरेका हुन्।
सावर्णि पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो।
सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको र सम्भवतः एआई र रोबोटिक्स युगकोबारे यसरी लेखिएको यो नेपालको पहिलो उपन्यास नै भएको उनले टिप्पणी गरे।
‘हाम्रा पौराणिक मान्यता, धर्म ग्रन्थहरुलाई समेत आधार बनाएर कल्पनशिलताको त्यो युग र हामी पछिको एआई नियन्त्रित युगको बर्णन सुन्दर ढंगले प्रस्तुत गर्न सफल भएको छ, लेखकलाई धेरै बधाई र धन्यवाद भन्न चाहन्छु,’ प्राध्यपक सुवेदीले भने।
कार्यक्रममा पुस्तकबारे समीक्षा गर्दै प्राध्यापक सुवेदीले मान्छेले सिर्जना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै यो उपन्यासले विनासको रौद्र रुपमा मात्र होइन् आशाको सुन्दर संकेत समेत गरेको बताए।
पुस्तक माथि विवेचना गर्दै लेखक समीरले अबको युग ‘सावर्णि’ युग भएको बताए।
‘अब हामी सावर्णि युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ। छोराछोरी, बाबुआमा, हजुरबाहजुरआमा मोबाइलविना खाना खानै नसक्ने अवस्था छ। कुनै लेख लेख्नुपरे च्याट जीपीटी छ। एआईको उच्चतम प्रयोगबाट मानिसमा भएको संवेदना, सृजना र आत्मियता हराउँदै जाने र एकदिन ‘हामीलाई एआईले नियन्त्रण गर्ने छ,’ भन्दै लेखक समीरले त्यो भयावह अवस्थाको सुन्दर चित्रण सावर्णि उपन्यासमा पढ्न सकिने बताए।
एक नव लेखक युवा चिकित्सकले यस्तो विषयमा यति गम्भिर ढंगले पुस्तक लेखेकोमा आफु अचिम्मत भएको उनले बताए।
उनले भने, ‘एआईले हामीलाई शासन गर्न सुरू गरिसकेको छ। यस आक्रमणबाट हामी र हाम्रा सन्ततीलाई बचाउने उपायहरु समेत यस पुस्तकले प्रदान गरेको रहेछ यसबाट मैले सन्तोषको सास फेरेको छु।’
लेखक सगुना शाहले ‘सावर्णि’मा डा. खनालको अध्ययन, प्रस्तुती र कल्पनशिलताको उच्चतम फैलावटबाट आफु रोमाञ्चित भएको बताइन्।
‘सावर्णि हामी लोप भइसकेपछिको कथा हो। यो किताब पढ्दै जाँदा हामी कैयौं पटक बाल्यकालमा पुग्छौं। त्यहि सुन्दर, उत्सुक र निस्फिक्रि संसारमा पुग्छौं। भविष्यको युगमा हाम्रा सन्ततीमाथी हुने नियन्त्रणको प्रभावमा मानिसले भोग्ने छट्पटाहटलाई यो पुस्तकले सुक्ष्म तहमा विवेचना गरेको छ,’ उनले भनिन्। शाहले अबको प्यारेन्टिङ कस्तो हुनपर्छ भनेर यस पुस्तकले सचेत गराएउँदा आफु एकहद सम्म ढुक्क भएको पनि बताइन्।
दैनिक जसो बालबालिकाको अनेकौं समस्यासँग जुध्दै, झेल्दै र समाधान गर्दै आएका बाल चिकित्सक डा श्रीधर खनालले पछिल्लो समयमा बालबालिकामा देखिएको मनोबैज्ञानिक समस्याहरुलाई सुक्ष्म रुपमा लिएको र त्यसबारे अध्ययन गरिरहेको बताए।विभिन्न क्षेत्रको अध्ययनको निष्कर्ष स्वरुप आम मानिसलाई मनोरञ्जनात्मक रुपमा भविष्यको दृष्य देखाउन आफुले सावर्णिलाई औपन्यासिक रुप दिएको लेखक डा. खनालले बताए।