सुर्खेत- कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बाइ-प्लेन क्याथल्याब मेसिन स्थापना भएको छ। प्रदेश अस्पतालले आफ्नै श्रोतबाट उक्त मेसिन खरिद गरेको हो। कर्णालीका नागरिकलाई जटिल खालको उपचार सेवा प्रदान गर्न उक्त मेसिन खरिद गरिएको प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले जानकारी दिए। यसबाट हृदयघात तथा पक्षघातलगायतका जोखिमबाट व्यक्तिलाई बचाउन मद्धत गर्ने उनले बताए।
विशेष गरेर मुटुका बिरामीका लागि उक्त मेसिन प्रभावकारी हुने डा खड्काले जानकारी दिए। 'हृदयघातका बिरामीको उपचारमा यसको उपयोगिता रहनेगर्छ' डा खड्काले भने,' एन्जियोग्राफीको क्रममा पत्ता नलागेका समस्या यसबाट थाहा हुन्छ र उपचारमा सहज हुन्छ।'
११ करोड लागतमा उक्त मेसिन खरिद गरिएको डा खड्काले जानकारी दिए।
यसबाट रगतको नलीबाट क्याथेटर छिराएर मुटुसम्म पुगेर मुटुको नली ठीक भए/नभएको जाँच गर्ने, मुटुको विभिन्न अध्ययनहरु गर्ने, बन्द भएको रगतको नली खुलाउने जस्ता प्रोस्युडर गरिन्छ। विगतमा हृदयघात भएपछि हस्पिटलमा छाति चिरेर मुटुको बन्द भएको नलीलाई अरु नलीसँग जोडेर मुटुको रक्तनलीहरु सञ्चालन ल्याउनु पर्दथ्यो। यसबाट पोष्ट कम्प्लिकेसन आउनसक्ने सम्भावना हुन्थ्यो। अब केवल क्याथ ल्याबमा हात वा खुट्टाको रगतको नलीबाट क्याथेटर छिराएर बन्द भएको रगतको नली सफा गरेर जाली राखेपछि फेरि रगतको नली पुनस्र्थापना गरिन्छ।
जनशक्ति अभाव
मेसिन जडान भए पनि संचालनका लागि जनशक्ति अभाव हुन सक्ने डा खड्काले बताए। संघीय स्वास्थ्य मन्त्रालयले यसतर्फ ध्यान दिन नसकेको उनको भनाइ छ। अहिलेका जनशक्ति सरुवा भएको भन्दै यसबाट सेवा संचालनमा समस्या आउनसक्ने उनले बताए।
'कर्णाली नागरिकले पनि सेवा पाउनुपर्छ, यहाँका नागरिकलाई उपचारबाट बञ्चित गराउनु हुँदैन' डा खड्काले भने, ' गंगालाल अस्पतालबाट भएपनि चिकित्सक पठाउन हामीले आग्रह गरेका छौं अन्य अस्पतालबाट त्यसरी नै सेवा सञ्चालन भइरहेको छ।'
उक्त मेसिन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा भगवान कोइरालाद्वारा संयुक्त रुपमा उद्द्घाटन गरिएको हो। कार्यक्रममा प्राडा अर्जुन कार्की, अस्पताल विकास समितिका अध्यक्ष प्रेम बहादुर घले, डा सुरेश तिवारी, डा डम्बर खड्का, डा केशर ढकाल, डा गणेश थापा, डा विकास के.सी. लगायत अस्पताल विकास समितिका सदस्य र अस्पताल कर्मचारीहरुको उपस्थिति रहेको थियो।