काठमाडौं- काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ । अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि ७ दिनका लागि बन्द गरिएको हो ।
हेल्दी बाइट्स सर्भिसेज् प्रालिद्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए। अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको हुँदा सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो।
अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच थान (५०० मिलिलिटर) दूध सञ्चालककै उपस्थितिमा नष्ट गरिएको थियो ।
ओम अस्पताल तथा रिसर्च सेन्टर प्रा.लि. प्रशासनका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले भने, 'हाल क्यान्टिन सञ्चालक परिवर्तन भइसकेको छ । हामी संरचना मर्मत, रंगरोगन र आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र पुनः सञ्चालनमा ल्याउनेछौँ।’