काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङ बीच आज शिष्टाचार भेट सम्पन्न भएको छ।
मन्त्रालयका अनुसार भेटवार्तामा दुई देशबीचको स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दीगो र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको हो। सो अवसरमा बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुर र सिभिल अस्पतालको सेवा सुधार तथा विस्तारका विषयमा विशेष रूपमा कुराकानी गरिएको थियो।
त्यसैगरी परम्परागत चिनियाँ औषधि र आयुर्वेद स्वास्थ्य सेवाबीचको सहकार्य, नेपालमा औषधीय जडीबुटीको उत्पादन तथा प्रशोधन, आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरण, र नेपालमै अत्याधुनिक जीन प्रयोगशाला स्थापना गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा मन्त्री गौतमले क्यान्सर उपचार, अस्पताल सेवा सुदृढीकरण र कोभिड–१९ महामारीका समयमा चीन सरकारले प्रदान आएको निरन्तर सहयोगप्रति हार्दिक आभार व्यक्त गरे।