काठमाडौं -आन्दोलनरत नर्सहरुका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा समस्या समाधानका लागि बनेको कार्यदलको बैठक सोमबार पनि बसेको छ। उक्त बैठकका नाममा झुक्याउन खोजिएको भन्दै कार्यदलकी सदस्य समेत रहेकी नर्सिङ संघर्ष समितिकी संयोजक ज्योति रानाभाट अनुपस्थित भएकी छिन्।
नर्सहरुका विभिन्न मागलाई लिएर सरकारसँग संवाद हुने ठानेर मन्त्रालय पुगेपनि कार्यदलको छलफल अल्झाउन खोसिएको महशुस भएको उनले बताइन्। केही दिनअघिको सहमतिमा असहमति रहेको र नेपाल नर्सिङ संघले ४८ घन्टे अल्टिमेटम दिइसकेकालर् कार्यदलको बैठकमा बस्नु औचित्यपूर्ण नठानेको उनले बताइन्।
सोमबार रानाभाटसहित अभियान्त जिता बराल, संघर्ष समितिका सहसंयोजकलगायत आन्दोलनरत नर्सका प्रतिनिधि मन्त्रालय पुगेका थिए।
आन्दोलनरत नर्सहरुको माग पूरा नहुँदै अधुरो सम्झौता गरेको भन्दै आन्दोलनरत नर्सहरुले आइतबार नर्सिङ संघको कार्यालय घेरेका थिए। त्यसपछि आन्दोलनरत नर्सका प्रतिनिधिहरु र संघका प्रतिनिधिहरुले आकस्मिक छलफल गरेका थिए। छलफल पश्चात् नेपाल नर्सिङ संघले आन्दोलनरत नर्सहरुकै माग अनुसार आन्दोलनका कार्यक्रम जारी राख्ने सहमति गरेको थियो।
सरकारले नर्सिङको समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ।