काठमाडौं- यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविका विधामा उत्कृष्ट स्वयंसेविकाको अवार्ड सर्लाहीको सोना महतोले पाएकी छिन्।
घुम्टोभित्र सीमित मानिएको मधेसी महिलाको जीवनयात्राबाट बाहिर निस्केर सामाजिक कार्यकर्ता र चेतनाको प्रतीक बनेकी महतोलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा अवार्ड प्रदान गरिएको हो।
00

मधेसका गाउँघरमा अझै पनि महिलाले घुम्टोभित्रै सीमित रहनुपर्ने संस्कार बलियो छ। तर सोही समाजमा ३२ वर्षीया सोना महतो महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा मात्र होइन, शिक्षादेखि सामाजिक चेतना फैलाउने अगुवा महिला बनेकी छन्। उनले ऊर्जावान स्वास्थ्य स्वयंसेविकाको रूपमा समेत पहिचान बनाएकी छन्।
हरिवन नगरपालिका–५ घुर्कौली माइत भएकी सोना १२ कक्षा पढ्दै गर्दा वैवाहिक बन्धनमा बाँधिइन्। सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाखोरका लालेन्द्र महतोसँग २०६८ सालमा विवाह गरेकी उनले २०७० सालमा १२ कक्षा पास गरिन्। त्यसलगत्तै उनले गाउँको निजी विद्यालय मम्स लाइफ एकेडेमीमा तीन वर्ष अध्यापन गरिन्। मधेसकी महिलाले घुम्टोभित्र बस्नुपर्ने स्थानमा महतोले निजी विद्यालयमा अध्यापन गराउँदा उनको परिवारका सदस्यले सहयोग पुर्याए।
शिक्षकदेखि सहजकर्ता, सहजकर्ताबाट स्वयंसेविका
विद्यालयमा अध्यापन गरिरहेका बेला तत्कालीन महिला स्वास्थ्य स्वयंसेविका तारा पोखरेल महिलाको स्वास्थ्य अवस्था बुझ्न उनका घर आउँथिन्। आवत–जावतकै क्रममा सोनाको ऊर्जा र क्षमता देखेर पोखरेल प्रभावित भइन्। मधेसी समुदायकी बुहारी भएर घुम्टोमा बस्नुपर्ने सोनाको सक्रियताले नै पोखरेलको ध्यान तानेको थियो। पोखरेलको आग्रहमा सोना गाउँमा सहजकर्ताका रूपमा सक्रिय भइन्।
सोना घर–घरमा पुगेर महिला तथा बालबालिकाको स्वास्थ्य अवस्थाको जानकारी लिई पोखरेललाई सुनाउँथिन् र समस्या परेमा दुबै जना मिलेर लामो समय सक्रिय रहिन्। पोखरेलले उमेरका कारण काम गर्न नसक्ने भएपछि गाउँले तथा जनप्रतिनिधिहरूले २०८१ मंसिरमा निःशुल्क रूपमा सहजकर्ताको रूपमा काम गरिरहेकी सोनालाई स्वास्थ्य स्वयंसेविकाको रूपमा नियुक्त गरे। त्यसपछि सोनाले निजी विद्यालयमा अध्यापनको काम छाडेर स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हालिन्।
स्वास्थ्यसँगै शिक्षा र सामाजिक चेतना
महिला स्वास्थ्य स्वयंसेविकाको दायरा आमा–बाल स्वास्थ्यमा सीमित भए पनि सोनाले आफ्नो भूमिका त्यसमै सीमित राखिनन्। विद्यालय नजाने बालबालिकाबारे खोजतलास गरेर विद्यालय पठाउने, महिलालाई बालविवाहको हानीबारे सचेत बनाउने, घरेलु हिंसाविरुद्ध जागरण फैलाउने काममा उनी निरन्तर लागिरहिन्।
सोना भन्छिन्, “ग्रामिण क्षेत्र भएकाले यहाँ महिला तथा बालबालिकाको स्वास्थ्य मात्र हैन, उनीहरूलाई शिक्षामा पनि जोड दिनुपर्छ। समाज सचेत नभएसम्म उत्थान सम्भव छैन।”
तीन दिनको पारिश्रमिक, महिना दिनको सेवा
सोनाले औपचारिक रूपमा हरेक महिनामा आमा समूह बैठक, खोप कार्यक्रम र वडाको रिपोर्टिङ गरेर तीन दिन मात्र काम गर्छिन्। त्यसबापत दिनको १ हजारका दरले पारिश्रमिक पाउँछिन्। तर बाँकी दिनहरूमा उनले आफ्नै गाउँमा महिलालाई हस्ताक्षर गर्न सिकाउने, सामाजिक कुरीति चिर्ने र बालअधिकारबारे छलफल गर्ने गर्छिन्।
नारी उत्थान संघसँग सहकार्य गर्दै उनी बालविवाह न्यूनीकरण, बालअधिकार र महिला हिंसा विरुद्ध सचेतना फैलाइरहेकी छन्।
आफ्नै गाउँको हितमा समर्पित
शिक्षकबाट सुरु भएको सोनाको यात्रा स्वास्थ्य स्वयंसेविकामा मात्र सीमित छैन। उनले आफ्नो ज्ञान र सीप आफ्नै समुदायलाई समर्पण गरेकी छन्। उनी भन्छिन्, “म धेरै खुशी छु, आफ्नै गाउँठाउँमा बसेर समुदायको हितका लागि सामाजिक काम गरिरहेको छु।”
सोनाले गरिरहेको कामलाई गाउँका महिलाहरूले पनि प्रशंसा गरेका छन्। स्थानीय सरिता कुमारी महतोले भनिन्, “सोनाजीले बालबालिकाका लागि खोप तथा पोषणबारे घर–घरमा जानकारी दिन्छिन्। उनीबाट बच्चाको हेरचाह कसरी गर्ने, विद्यालय पठाउनेबारे उपयोगी सुझाव पाउँछौं।”
त्यस्तै, स्थानीय चाँदनी सहनीले उनी भेदभाव विरुद्ध समेत अभियान चलाइरहेको बताइन्। “सोनाजीले छोरा–छोरी बराबरीको कुरा गर्दै सबै महिलालाई भेदभाव नगर्न आग्रह गर्छिन्। उनका कुरा महिलाहरूले व्यवहारमा पनि लागू गरेका छन्,” उनले भनिन्।
ईश्वरपुर नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र बहादुर कार्कीले सोनालाई “स्वास्थ्य स्वयंसेविका मात्र नभई सामाजिक क्षेत्रमा समेत उत्कृष्ट योगदान पुर्याउने महिला”का रुपमा प्रशंसा गरे। जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका तथ्यांक अधिकृत लालबाबु रायले पनि सोनाको काम सराहनीय रहेको भन्दै उच्च मूल्यांकन गरिरहेको बताए।
सोनाको संघर्ष र समर्पणले उनी घुम्टोभित्र सीमित मानिएको मधेसी महिलाको जीवनयात्राबाट बाहिर निस्केर सामाजिक कार्यकर्ता र चेतनाको प्रतीक बनेकी छन्।