एआईद्वारा निर्मित प्रतिकात्मक तस्विर
काठमाडौं - काठमाडौं थलीकी एन्जिला कार्की कक्षा पाँचमा पढ्दै गर्दा पहिलो पटक महिनावारी भइन्। उनी ९ वर्षको मात्र छिन्। खेल्ने कुद्ने उमेरमा आफु महिनावारी भएको उनले पत्तो नै पाइनन्।
महिनावारी बारे त उनी अनभिज्ञ थिइन् नै आमालाई पनि सुरुमा पत्याउनै कठिन भयो। लगातार तीन चार दिनसम्म रक्तस्राव नरोकिएपछि मात्र एन्जिलाकी आमालाई छोरी महिनावारी भएको विश्वास गरिन्।
सिन्धुपाल्चोककी खुश्बु खतिवडा सधैझैँ विद्यालय गइन्। घर आएपछि उनी खेल्न थालिन्। तर उनलाई एक्कासी असहज महसुस हुन थाल्यो। उनी शौचालय गइन्। भित्रि वस्त्रमा उनले रगत देखिन्।
१० वर्षकी उनी आत्तिएर आफ्नी आमालाई बोलाइन्। आमाले उनलाई शान्त भएर सम्झाइन्। र, छोरीलाई नआत्तिन सुझाव दिइन्। आमाले उनलाई महिनावारी बारे सबै कुरा बताइन्। त्यसपछि मात्र खुश्बुले महिनावारी बारे बुझ्न थालिन्।
निवासी १० वर्षीया खुश्बु खतिवडा विद्यालयबाट घर आएपछि असहज महसुस भएकोले शौचालय गईन्। उनले भित्री वस्त्रमा रक्तस्राव भएको थाहा पाउनासाथ आत्तिएर आफ्नी आमालाई बोलाईन्।आमाले उनी महिनावारी भएको र नआतिन सुल्झाएपछि विस्तारै उनी सामान्य अवस्थामा आईन्। एन्जिला र खुश्बु जस्तै धेरै बालिकाहरु आजभोली उमेर नपुग्दै महिनावारी हुने क्रम बढेको छ।
....
किशोर अवस्थामा पुगेपछि मात्रै हुने महिनावारी अहिले सानै उमेरमा हुन थालेका छन्। यो राम्रो संकेत नभएको र यसले नकारात्मक असर गर्न सक्ने चिकित्सकहरु बताउँछन्।
उनीहरुका अनुसार १२ वर्षको उमेरपछि हुने महिनावारी सामान्य हो। तर अहिले बालिकाहरु छिट्टै महिनावारी हुन थालेका छन्। १० वर्ष वा ९ वर्षकै उमेरमा पनि महिनावारी भइरहेका छन्।
स्त्री तथा प्रसूती रोग विशेषज्ञ प्राडा गणेश दंगाल पछिल्लो समय किशोरीहरु कम उमेरमा नै महिनावारी हुन थालेको र यसबारेमा अध्ययन अनुसन्धान नभइसकेको बताउँछन्। यद्यपि खानपान, शहरीकरण, पोषणयुक्त खानाको सेवनले उमेर नपुग्दै किशोरीहरु महिनावारी हुने गरेको उनले जानकारी दिए।
महिनावारी चाँडो हुने तथा ढिलो रोकिने भएमा एस्ट्रोजेन हर्माेन बढी हुने भएकोले उमेर ढल्कदैं जाँदा पाठेघरभित्र वा बाहिरको ट्युमर बढ्न सक्ने प्राडा दंगाल बताउँछन्। यसरी बाल्य अवस्थामा नै महिनावारी हुँदा शारीरिक सरसफाईको पाटो समेत कमजोर बन्न सक्ने उनको दाबी छ।
यसले बालिकाहरुमा डर र भयको वातावरण समेत सृजना गर्न सक्ने भएको यसबारेमा विद्यालयस्तरमा विभिन्न प्रकारका जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने प्राडा दंगालको धारणा छ। चिकित्सकीय हिसाबले बालिकाहरुमा हुने महिनावारीमा अण्डा उत्पादन हुन थालेमा त्यो पीडादायी हुनसक्ने उनले जानकारी दिए।
विगतको तुलनामा बालिकाहरुको शरीरको तौल बढ्नु तथा जीवनशैलीमा आएको परिवर्तनका कारण अहिले ८/९ वर्षको उमेरमा पनि महिनावारी हुने बालिकाको संख्या बढेको स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारी बताउँछन्। शारीरिक व्यायाम कम तथा पौष्टिक तत्वको मात्रा शरीरमा बढी भएका कारण पनि यो क्रम बढेको उनी बताउँछन्।
मोटोपनाले एस्ट्रोजेन हर्माेनको मात्रा शरीरमा बढ्दै गएपछि ओभुलेसन बिना पाठेघर बाक्लो हुने तथा महिनावारी हुनसक्ने डा अधिकारी बताउँछन्। सानै उमेरमा महिनावारीको हुँदा शरीरमा रगतको कमी हुने तथा कमजोरीको समस्या हुन सक्ने उनले जानकारी दिए। सानो उमेरमा महिनावारी सुरु भएकाहरुमा अनियमित महिनावारी हुन सक्ने उनी बताउँछन्।
यसरी अपरिपक्व उमेर महिनावारी भएका बालिकाहरुलाई त्यसबारे सचेतना बढाउनका लागि परिवारका सदस्यहरुको भूमिका महत्वपूर्ण हुने डा अधिकारी बताउँछन्। यस्तो अवस्थामा बालिकाहरु तनावमा पनि हुन सक्ने भएकोले बुबा आमाले यसबारे बालिकाहरुलाई परामर्श दिने तथा उनीहरुको सरसफाईमा पनि विशेष ख्याल गर्नुपर्ने उनको धारणा छ। यसका लागि विद्यालयले पनि विभिन्न प्रकारका परामर्श दिएर त्यस समयमा बालिकाहरुलाई पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सक्नेछ।
महिनावारीको समयमा शरीरमा आउने परिवर्तनहरु, सरसफाइका लागि ख्याल गर्नुपर्ने पक्षहरु, विद्यालय तथा घरपरिवारलाई जानकारी गराउनुपर्ने अवस्था लगायतका विषयमा ४ ५ कक्षादेखि नै बालिकाहरुलाई जानकारी गराउनुपर्ने डा अधिकारी बताउँछन्।
यस्ता पक्षहरुमा ध्यान दिएर उमेर नपुग्दै महिनावारी भएका बालिकाहरुलाई पर्न सक्ने मानसिक असरलाई कम गर्न सकिने डा अधिकारी बताउँछन्। जसको पाठेघरको मांसपेशीहरू बाक्लो हुनेहरुमा महिनावारीमा एकदमै पीडादायी हुने गर्छ। यस्तो पीडाबाट छुटकारा पाउन हल्का व्यायाम गर्ने, प्रशस्त मात्रामा पानी पिउने र हट वाटर ब्यागले पेट सेक्नका लागि अभिभावकहरुले सहयोग गर्न सक्ने डा अधिकारी बताउँछन्। पीडा अत्यधिक भएमा चिकित्सकको सल्लाहमा पीडा कम गराउने औषधि दिन उनको सुझाव छ।