एआईद्वारा निर्मित प्रतिकात्मक तस्विर
काठमाडौं - कुनै पनि रोगको निदानपछि चिकित्सकले बिरामीलाई निश्चित औषधि सिफारिस गर्छन्। चिकित्सकको प्रेसक्रिप्सनका आधारमा नै फर्मासिस्टले ती औषधि दिने गर्छन्।
फर्मासिस्टले दिएको जानकारीलाई राम्रोसँग बुझेर मात्र बिरामीले कुनै पनि औषधिको सेवन गर्नुपर्छ। सही बिरामी, सही औषधि, सही मात्रा, सही समय र सही जानकारीका साथ सेवन गरिने औषधिले नै प्रभावकारी काम गर्न सक्छ। र, यो नै प्रभावकारी उपचारको आधार पनि हो।
औषधिको विवेकपूर्ण प्रयोग गर्न सकिए मात्र त्यसले दिने असर पनि प्रभावकारी हुन्छ। औषधिको विवेकपूर्ण प्रयोग कसरी गर्न सकिन्छ ? औषधिको बिक्रि वितरण गर्ने मुख्य जिम्मेवारीमा रहेका फर्मासिस्ट र औषधि सेवन गर्ने बिरामीको भूमिका के हुन्छ ? जस्ता महत्वपूर्ण प्रश्नको उत्तर हामीले चितवनस्थित भरतपुर अस्पतालका डिस्पेन्सरी फार्मेसी इन्चार्ज जय पाठक (जिपी) सँग बुझ्ने प्रयास गरेका छौँ।

उनका अनुसार फर्मासिस्ट र फार्मेसी सहायकको मुख्य मर्म भनेकै बिरामीलाई औषधिको वैधानिक र सही प्रयोग सुनिश्चित गर्नु हो। यसका लागि औषधिको विवेकपूर्ण प्रयोगमा ध्यान दिनु अति आवश्यक छ। र, औषधिको यिनै विवेकपूर्ण प्रयोगका लागि ‘सेभेन आर’ को पालना अत्यावश्क छ। ती हुन् :
पहिलो, राइट पेसेन्ट
दोस्रो, राइट मेडिसिन
तेस्रो, राइट डोज
चौँथो, राइट डोजेज फर्म
पाँचौ, राइट रुट
छैँठौ, राइट ड्युरेशन
र, सातौँ, राइट एजुकेशन
यी सेभेन आरलाई मुख्य आधार बनाएर कुनै पनि फर्मासिस्टले काम गरे भने औषधिको विवेकपूर्ण प्रयोग बढाउने पाठक बताउँछन्। औषधिको विवेकपूर्ण प्रयोग भएको अवस्थामा मात्र औषधिबाट हुन सक्ने साइड इफेक्टहरु पनि कम हुने उनले बताए।
‘औषधि जुन बिरामीले पाउनुपर्ने हो, उसले सही तरिकाले पाउँछ। अर्थात् जुन बिरामीले जसरी, जुन डोज, जुन डोजेज फर्ममा पाउनुपर्ने हो, त्यसमा पाउँछ।’ उनले भने, ‘यसले औषधिले दिने प्रभावकारिता पनि बढेर जान्छ।’
उनका अनुसार एन्टीबायोटिक प्रतिरोध (एन्टीबायोटिक रेसिस्टेन्स) लाई पनि यसले कम गर्छ। र, यी सेभेन आर को पालनाले औषधिको विवेकपूर्ण प्रयोगलाई बढाउँछ। जसको अन्तिम लक्ष्य भनेको बिरामीको उपचारमा प्रभावकारी सहयोग पुर्याउनु हो।
१. राइट पेसेन्ट (सही बिरामी)
रोग पत्ता लागिसकेपछि सही बिरामीको निदान हुनुपर्छ। बिरामीको सही रोग पत्ता लागेपछि मात्र बिरामीको उपचार सुरु हुन्छ। कुन रोग हो भनेर पत्ता लागिसकेपछि मात्र त्यसको उपचारको प्रोटोकल सुरु हुन्छ। फर्मासिस्टले दिने औषधि उक्त बिरामीको रोग अनुसार ठिक छ छैन भनेर यसमा ध्यान दिनुपर्ने उनी बताउँछन्।
२. राइट मेडिसिन (सही औषधि)
जुन बिरामीको रोग निदान भएको छ, त्यस अनुसार फर्मासिस्टले सही औषधि दिनुपर्छ। बिरामीको रोगको लागि कुन औषधि सही हुन्छ भनेर यसमा हेरिन्छ।
३. राइट डोज (सही मात्रा)
यसमा बिरामीको अवस्था अनुसार दिइने औषधिको डोज अर्थात् मात्रा हो। बिरामी कुन अवस्था, कुन उमेर समूहको हो ? भन्ने पक्षमा फर्मासिस्टले विशेष ध्यान दिइनुपर्छ। सानो बच्चा या युवा हो ? उसको तौल उमेर सबै हेरिनुपर्छ। बिरामीको अवस्थाको आधारमा सही औषधिको डोज दिनुपर्ने उनले बताए।
४. राइट डोजेज फर्म (औषधिको सही रुप)
सही औषधि र सही मात्रा जस्तै औषधिको सही डोजेज फर्म हुनु पनि उत्तिकै आवश्यक छ। कुन बिरामीलाई कुन औषधिको रुप÷प्रकार उपयक्त हुन्छ भन्ने विषय यस अन्तर्गत पर्ने पाठक बताउँछन्। औषधिको डोजेज फर्म अन्तर्गत ट्याबलेट, इन्जेक्सन, ओइनमेन्ट, ससपेन्सन हो की भन्ने हेरिन्छ। सोलिड र सेमी सोलिड र लिक्युड डोजेज फर्म यसमा पर्छन्।
सोलिड फर्म (ठोस रुप) – ट्याबलेट, क्याप्सुल,
सेमी सोलिड फर्म (अर्धठोस) – ओइनमेन्ट, क्रिमहरु
लक्युड (तरल) – सिरप, ससपेन्सन।
५. राइट रुट (सही माध्यम)
यी औषधिहरु बिरामीको लागि सही रुट अर्थात् माध्यम कुन हो भन्ने पक्ष यस अन्तर्गत पर्दछ। राइट रुट भन्नाले शरीरमा औषधि पठाउने सही माध्यम हो। जस्तै, ओरल हो की भजाइनल हो की, इन्जेक्सनबाट औषधि दिनुपर्ने हो की या नाकबाट सुध्ने किसिमको हो भन्ने विषयमा फर्मासिस्टले ध्यान दिनुपर्छ।
६. राइट ड्युरेशन (सही समावधि)
औषधिमा लागो लगाएर खाना अघि र पछि खानु भन्नु मात्र फर्मासिस्टको काम होइन। औषधिको सही समावधि बुझाउनु पनि मुख्य जिम्मेवारी हो। बिरामीले पनि आफु खुशी औषधिको समय तोकेर खानु हुँदैन। फर्मासिस्टले दिएको निर्देशन अनुसार नै खानुपर्छ।
कुनै औषधि दिनमा चार पटक खाने भनिएको छ भने दिनमा ६/६ घण्टाको फरकमा खानुपर्ने पाठकले बताए।
उनले भने, ‘दिनमा चार पटक भनेको छ भने बिरामी आफैँले मनलाग्दी तरिकाले चार पटक खाने होइन। सही समयको ग्याप हुनुपर्छ।’
कुनै औषधि ८/८ घण्टाको फरकमा खान भनिएको छ भने बिरामीले आफ्नो अनुकुल हिसाबले दिनमा तीन पटक खाएमा त्यसले जुन प्रभावकारिताका साथ काम गनुपर्ने हो त्यो नगर्न सक्छ। उनका अनुसार दिनमा चार पटक भनिएको छ भने ६/६ घण्टामा र दिनमा तीन पटक भनिएको छ भने ८/८ घण्टाको फरक खानुपर्छ।
औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्यसले साइड इफेक्ट (नकारात्मक असर) पनि निम्त्याउन सक्छ। त्यसैले परामर्श गर्नेले पनि बिहान, दिउँसो, बेलुका भनेर मात्र नभई समयको सही ज्ञानबारे सही परामर्श गर्न पनि उत्तिकै आवश्यक छ। त्यसैले फर्मासिस्ट आफैँले समय नै किटान गरेर लेखिदिए बिरामीले सोही समयमा आफैँ औषधि खान सक्ने उनले बताए।
उनले भने, ‘दिनमा चार पटक खानु भनेर मात्र हुँदैन। बिरामीले आफ्नो हिसाबले समय नमिलाएर खान सक्लान्। यस्तोमा फर्मासिस्ट आफैँमा यति यति घण्टाको फरकमा औषधि खानु भनेर प्रष्टसँग लेखिदियो भने बिरामीलाई सही समयमा औषधि खान सहज हुन्छ।’
७. राइट एजुकेशन (सही ज्ञान/परामर्श)
औषधि सम्बन्धी सही परामर्श अर्को महत्वपूर्ण पक्ष हो। पाठकका अनुसार कुनै पनि फर्मासिस्टले बिरामीलाई औषधिको बारेमा सही र राम्रोसँग ज्ञान दिएर मात्र पठाउन सक्नुपर्छ। बिरामीले खाने ती औषधिले के कस्ता साइड इफेक्ट गर्न सक्छन्, सही तरिकाले कसरी खाने, के कस्ता कुरामा ध्यान दिने ? के कस्ता खाने कुरा खान मिल्ने नमिल्ने ? लगायत कुराहरुको ज्ञान राम्रोसँग दिनुपर्छ।
यो सँगै फर्मासिस्टहरुले राइट डकुमेन्टेशन अर्थात् सही अभिलेखिकरण गर्नुपर्ने उनी बताउँछन्। कुन किसिमको बिरामीलाई कस्तो औषधि दिइएको छ, त्यसका साइड इफेक्टहरु के कस्ता देखिए लगायतका विषयहरु अभिलेखिकरण गरेर राख्नुपर्ने उनले बताए।यी सेभेन आर फर्मासिस्टले औषधि बिक्रि वितरणका क्रममा पालना त गर्नुपर्छ नै। बिरामी पनि यसप्रति चनाखो हुनुपर्ने उनी बताउँछन्।
उनी भन्छन्, ‘फर्मासिस्टले मात्र नभई बिरामी आफैँले पनि चनाखो भएर फर्मासिस्टसँग प्रश्न गर्नुपर्छ। खाना अगाडी र पछाडी भनिएको छ भने कति समय अगाडी हो त ? भनेर बिरामी पनि सोध्नुपर्छ।’