यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्यकर्मी विधामा उत्कृष्ट स्वास्थ्यकर्मीको अवार्ड कालिकोटका जनस्वास्थ्य निरीक्षक विनोदकुमार न्यौपानेले पाएका छन्।
००
कर्णाली प्रदेशको नाम सुन्नासाथ धेरैलाई उकालो–ओरालो मात्र होइन, कठिन जीवनशैली र अभाव पनि सम्झना आउँछ। स्वास्थ्य सेवाको अवस्था झन् नाजुक। सुत्केरी समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने, सामान्य रोगले पनि जटिलता निम्त्याउने र सानो चोटपटकले समेत ठूलो जोखिम सिर्जना गर्ने अवस्था यहाँ सामान्य छ।
यस्तो विकट ठाउँमा सेवा गर्दै आएका मध्य एउटा हुन् विनोद कुमार न्यौपाने। उनी स्वास्थ्यकर्मीका रुपमा सेवा दिइरहेका छन् र स्थानीय कलाकार रुपमा समेत उनलाई चिन्छन्। धेरैले उनलाई ‘कलाकार डाक्टर’ भनेर सम्बोधन गर्छन्।

न्यौपानेको बुझाइ छ, ‘औषधि खुवाएर मात्र समाजलाई स्वस्थ बनाउन सकिन्न। सोच र व्यवहार बदल्नुपर्छ। त्यसका लागि उनले आफ्नो कलाकारितालाई प्रयोग गरेर गीतहरु ल्याएका छन्। उनका स्वास्थ्य सन्देश गीतहरू गाउँ–गाउँमा गुन्जिन्छन्। ‘कुपोषण घटाऔँ’, ‘सुत्केरी’, ‘मेरो वर्ष’लगायत गीतहरु अहिले तालिम, गोष्ठी र विभिन्न कार्यक्रममा पनि देखाउने र सुनाउने गरिन्छन्। गीतमार्फत सन्देश दिन सक्दा आम मानिसले सजिलै बुझ्छन् र प्रभावकारी हुने गर्दछ
उनले स्वास्थ्य सन्देश बाहेक २० वटा गीत बजारमा ल्याएका छन्। उनका केही स्थानीय देउडा भाकाका चर्चित गीतहरूमा ‘घाम गयो मालिका’,’ बाजकलीको माया’, ‘सुदूरकी सुन्दरी’, ‘आमा–बुवाको सम्झना’, ‘पानी बिनाको माछी’ आदि हुन्।
२०५२ बैशाख ४ गते कालिकोट जिल्लाको पलाँता गाउँपालिका–२ मा जन्मिएका विनोद कुमार न्यौपाने पिता जयप्रसाद जैसी र माता रामरुपा जैसीका चार छोरामध्ये कान्छा हुन्। सानैदेखि उनी असाधारण थिए। गाई–गोरु चराउन जाँदा साथीहरूसँग ‘डाक्टर र बिरामी’ बनेर खेल्ने उनको बानी थियो। अरू साथी बिरामी बनेर लड्थे, उनी भने डाक्टर भएर ‘नक्कली उपचार’ गर्थे। त्यही खेल पछि उनको जीवनको बाटो बन्न पुग्यो। त्यति मात्र होइन, उनी कलामा पनि रुचि राख्थे। गाउँका कार्यक्रममा गीत गाउँथे, अभिनय गर्थे। कलात्मक प्रतिभा र स्वास्थ्यप्रतिको रुचि सँगै हुर्कँदै गयो।
राडुनेटास्थित सरस्वती मा.वि. मा १० कक्षा पढेपछि उनले एसएलसी दिए। पछि अध्ययनका लागि नेपालगञ्ज पुगे। त्यहाँ उनले जनरल मेडिसिन (एच.ए) पढ्न थाले।
पढाइसँगै उनी संगीतमा पनि सक्रिय भए। २०६९ सालदेखि आधिकारिक रूपमा कलाकारितामा होमिए। उनले निकालेको ‘सम्झना आउँछ’ र ‘घरि घरि’ जस्ता एल्बमले उनलाई कलाकारको पहिचान दियो। यता स्वास्थ्यतर्फ उनले छात्रवृत्तिमा तीन वर्षे एच.ए. अध्ययन पूरा गरे। स्नातकसम्मको अध्ययन पूरा गर्दै उनले २०७४ जेठ १० गते लोक सेवा आयोगमार्फत नियुक्ति पाए—थिर्पु स्वास्थ्य चौकी, कालिकोटमा प्रमुखको रूपमा।
न्यौपानेका लागि यो सजिलो यात्रा थिएन। दुर्गममा स्वास्थ्य सेवा दिनु भनेको जीवनसँगै संघर्ष गर्नु हो। उनले भने, ‘स्वास्थ्य चौकीमा पानी, बिजुली छैन, औषधि हरेक कुराको अभाव हुन्छ। स्वास्थ्य चौकीमा चाहिने पर्याप्त जनशक्तस हुँदैननन्। बिरामीलाई ठूलो अस्पतालमा रिफर गर्दा सडकको अभावले नै जीवन जोखिममा पर्छ। कहिलेकाहीँ बिरामीलाई काँधमा बोकेर घण्टौँ हिँड्नुपर्ने हुन्छ।‘
त्यसैमाथि थपिन्छ सामाजिक चुनौती । जहाँ परम्परागत सोच, अन्धविश्वास र अशिक्षाका कारण धेरैले स्वास्थ्यकर्मीको सल्लाहलाई गम्भीरतापूर्वक लिन चाहँदैनन्। तर यी सबै चुनौतीबीच उनले स्वास्थ्य सेवा मात्र दिएनन्, चेतना पनि फैलाए।
स्वास्थ्य व्यवस्थापनमा योगदान
सह–संयोजकको हैसियतमा उनले चार वर्ष गाउँपालिकाको स्वास्थ्य शाखा सम्हाले। त्यस अवधिमा उनले संस्थागत सुधार गरे, चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरे। एक वर्ष पलाँता अस्पताल प्रमुख भएर काम गर्दा अस्पताल व्यवस्थापन सुधार्न विशेष योगदान दिए।
हाल उनी धौलागोह स्वास्थ्य चौकी, पलाँता–२ मा जनस्वास्थ्य निरीक्षक छन्। उनको नेतृत्वमा यो चौकीले न्यूनतम सेवा मापदण्डमा ३५ प्रतिशतबाट ८४ प्रतिशत अंक ल्याई जिल्लामै पहिलो भएको छ।
समुदायसँगको आत्मीयता
न्यौपाने बिरामीसँग मात्र होइन, समुदायसँग पनि आत्मीय हुन्छन्। उनी घर–घर पुगेर सल्लाह दिन्छन्। गाउँमै हुने सानोठूलो कार्यक्रममा स्वास्थ्य सम्बन्धी सचेतनामूलक गीत गाएर बुझाउछन्।
उपचार सम्भव नभएमा सही सल्लाह दिएर उपयुक्त सेन्टरमा रिफर गर्ने गरेका छन्। त्यस्तै गाउँमा सरसफाइ, पोषण र रोग रोकथामका कार्यक्रम सञ्चालन गर्ने उनको कर्तव्यमै पर्छ। यिनै न्यौपानेको सक्रियताले गाउँ–गाउँमा स्वास्थ्य चेतना जगाएको छ, स्वास्थ्य संस्थालाई सक्षम बनाएको छ, र अरुलाई प्रेरणा दिएको छ। कालिकोटका उकालो–ओरालो, पाखा–पखेरामा अझै पनि धेरै चुनौती छन्। तर त्यहीँभित्र आशाको दीप भर्न न्यौपानेजस्ता स्वास्थ्यकर्मीहरु सक्रिय छन्।