काठमाडौं– फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर स्वास्थ्य अवस्था गम्भीर भएका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ।
आइतबार राति अक्सिजन सपोर्टमै एम्बुलेन्स मार्फत नर्भिकको आकस्मिक कक्षमा ल्याइएका बारा, कलैयाका ७ वर्षीय बालकको सफल उपचार गरिएको हो। अस्पतालमा गम्भीर अवस्थामा आइपुगेका बालकलाई आइतबार राति नै आकस्मिक कक्षबाट आइसीयुमा लगेर उपचार प्रक्रिया सुरु गरिएको थियो।
नर्भिकका सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिष्ट एण्ड क्रिटिकल केयर स्पेसलिस्ट डा. अच्युतभक्त आचार्य नेतृत्वको चिकित्सक टोलीले सोमबार बिहान ब्रोङ्कोस्कोपी मार्फत श्वासनलीमा अड्किएको इमलीको दाना निकालेको हो।
उपचारमा संलग्न डा. आचार्यका अनुसार बालकको फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर श्वासनली नै बन्द भएको थियो। इमलीको दाना निकालेपछि बालकको स्वास्थ्यमा सुधार हुँदै गएको डा. आचार्यले जानकारी दिए।
‘इमलीको दानाले श्वासनली बन्द हुँदा फोक्सोको देब्रेभागले काम गर्नै छाडेको र सेतो भइसकेको थियो। बालकलाई हाइफ्लो अक्सिजन सपोर्ट दिइएको थियो,’ डा. आचार्यले भने, ‘सोमबार बिहान अड्किएको इमलीको दाना निकालेपछि बालकको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। संक्रमण भएर सेतो भइसकेको फोक्सोको देब्रेभाग ठिक हुँदै गएको छ।’
अन्य ३ अस्पताल धाएपछि आइपुगे नर्भिक
बालकका बुबा (बिरामीको गोपनीयतालाई ध्यानमा राख्दै नाम उल्लेख नगरिएको) का अनुसार शुक्रबार साँझ ७ बजे बालकले राम्रैसँग खाना खाएका थिए। सुत्ने समयमा बुबाआमासँग राम्रोसँग कुराकानी पनि गरेका थिए। तर, रातको साढे १० बजेतिर बालकलाई अत्यधिक खोकी लाग्यो। तीन पटकसम्म खोकेपछि बालकले सास फेर्न गाह्रो माने, आँखा पल्टाए र एकैछिनमा अर्धबेहोश अवस्थामा पुगे। बालकलाई तुरुन्तै बाराको कलैयामा रहेको सरकारी अस्पतालमा लगियो। तत्काल अक्सिजन दिइयो, तर अक्सिजन लेभल ४०/५० मात्र देखियो। उक्त अस्पतालले बालकलाई भेन्टिलेटरमा राख्नुपर्ने र भेन्टिलेटरको सुविधा नभएको भन्दै शुक्रबार राति ११ बजे अर्को अस्पतालमा रेफर गर्यो। त्यतिबेलासम्म बालक बोल्नै छाडिसकेका थिए।
बालकलाई कलैयाकै अर्को निजी अस्पतालमा सारियो र भेन्टिलेटरमा राखियो। तर बालकको स्वास्थ्यमा सुधार नभएको देखेपछि बालकका बुबाले अर्को अस्पताल लैजाने निर्णय गरे। रेफर गर्नुअघि उक्त अस्पतालले छातीको एक्सरे गर्यो। रिपोर्टमा बालकको फोक्सोको देब्रेभाग सेतो भइसकेको थियो। त्यहाँका चिकित्सकले कडा निमोनिया भएको बताए।
शनिबार बेलुका वीरगञ्जको तेस्रो अस्पतालमा पुर्याए। त्यहाँ बालकलाई आइसियुमा राखियो। बालक केही बोल्न सक्ने भए, तर आइतबार दिउँसोसम्म बालकको फोक्सोमा समस्या देखिनुको कारण पत्ता लागिसकेको थिएन। एक्सरे रिपोर्टमा फोक्सोको देब्रेभाग निमोनिया भएर ड्यामेज हुँदै गएको देखिएको चिकित्सकहरूले बताए।
निमोनियाको कारण पत्ता लगाउन आइतबार बेलुका सिटीस्क्यान गर्दा बल्ल समस्या पत्ता लाग्यो। सिटीस्क्यानमा फोक्सोको देब्रेभागको श्वासनलीमा दानाजस्तो वस्तु देखियो। चिकित्सकहरूले श्वासनलीमा बाह्य वस्तु अड्किएको देखेपछि थप उपचारका लागि वीरगञ्जबाट काठमाडौं रेफर गरेका थिए।
बालकलाई वीरगञ्जदेखि अक्सिजन सपोर्टमै राखेर ४ घण्टामा काठमाडौं ल्याइयो र आइतबार राति नर्भिकमा भर्ना गरियो। ‘आफन्तहरूसँग सल्लाह गर्दा नर्भिकमा उपचार हुन्छ भनेपछि आइतबार राति नर्भिकको आकस्मिक कक्षमा लिएर आयौँ,’ बालकका बुबाले भने।
बिरामी कुरुवा क्षेत्रमा बसिरहेका बालकका बाबुले अब भने छोरालाई निको हुने आशा जागेको बताए। ‘शुक्रबारदेखि ३ वटा अस्पताल धायौँ, बल्ल उपचार गरेर अहिले बाबु होसमा आइसक्यो,’ उनले भने, ‘अहिले बोल्न सक्ने भयो, अब त ठिक हुन्छ, बल्ल ढुक्क भएका छौँ।’
उपचारपछि बोल्न थालेका बालकले बल्ल आफ्नो बुबालाई आफूले शुक्रबार दिउँसो नै इमली खाएको बताएका छन्। साथै उनले आफ्ना बुबालाई ‘छिट्टै घर लैजानु’ भनेको बालकका बुबाले जानकारी दिए।