काठमाडौं– नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले नेपालमा अझै पाँच वर्ष गुणस्तरहिन डाक्टर भित्रिने अवस्था रहेको बताएका छन्। स्वास्थ्य खबरको नियमित कार्यक्रम ‘25’मा कुराकानीका क्रममा अध्यक्ष डा बास्कोटाले सन् २०२२ सम्म विदेशका कमसल कलेजमा पढ्न गएका अदक्ष विद्यार्थी डाक्टर बनेर फर्कने अवस्था रहेको बताएका हुन्।
‘दालल र पैसाका भरमा विदेशका कमसल कलेजमा एमबिबिएस र बिडिएस अध्ययनका लागि गएका नेपाली विद्यार्थी सन् २०२२ सम्म नेपाल फर्कने छन्,’ उनले भने, ‘डाक्टर बन्नका लागि योग्य नै नभएका यस्ता विद्यार्थीले कस्तो डिग्री बोकेर आउँलान ? त्यसकारण नेपालमा अझै पाँच वर्ष गुणस्तरहिन डाक्टर भित्रिने खतरा छ ।’ उनले विदेशमा पढेर फर्केका धेरै डाक्टरी विद्यार्थी लाइसेन्सिङ परीक्षामा फेल हुनुको कारण पनि कमजोर विद्यार्थी र कमसल कलेज नै भएको बताए ।
डा बास्कोटाले गुणस्तरहिन र अदक्ष डाक्टरलाई नियमन गर्न काउन्सिलले नियमनलाई कडाई गर्दै लगेको समेत बताए । ‘हामी गुणस्तरमा कुनै कम्प्रमाइज हुन दिँदैनौं,’ उनले भने, ‘त्यसकारण विदेशमा कमजोर विद्यार्थी पढ्न नजाउन भनेर प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्था गरेका छौं भने लाइसेन्सिङ परीक्षामा नक्कली विद्यार्थी आउन नदिन कानुन संशोधन गरिरहेका छौं ।’
अध्यक्ष डा बास्कोटाका अनुसार काउन्सिलले सुरुमै कमजोर विद्यार्थीलाई रोक्ने तर्फ ध्यान नदिँदा काउन्सिलको लाइसेन्सिङ परीक्षामा ७० प्रतिशत भन्दा बढी विद्यार्थी फेल हुने र नक्कली परीक्षार्थीले परीक्षा दिने अवस्था आएको हो । उनले समयमा नै मुहानलाई नरोक्दा नेपाल बाहिरको कुनै एक देशमा पढेर फर्केका दुई सय ९० जना विद्यार्थीले परीक्षा दिँदा २२ जना मात्र पास हुने अवस्था आएको बताए ।
‘त्यो देशको शिक्षा प्रणाली खत्तम भएर त्यस्तो भएको होइन,’ उनले भने, ‘यहाँबाट जाने विद्यार्थी नै कमजोर र कमसल कलेजमा पढ्न गएका कारण समस्या आएको हो ।’
25मा डा बास्कोटालाई नेपालका मेडिकल कलेजको अवस्था, काउन्सिलमा आउने गरेका दबाब तथा निर्देशन, चिकित्सा शिक्षा अध्यादेश जारी भएपछि काउन्सिलको भूमिका, डाक्टरहरुले गर्ने लापरबाही र गलत अभ्यास लगायत विषयमा पनि प्रश्न गरिएको छ । यिनै विषयमा डा बास्कोटासँग स्वास्थ्य खबरका मेडिकल इडिटर डा सुवास प्याकुरेलले गरेको कुराकानी :