ललितपुर- नियमित रक्तदान गरेर धेरैको ज्यान बचाएका स्वयंसेवी रक्तदाताको सेवा र भावनाको मूल्यांकन हुन सकेको छैन।
कसले कति पटक रक्तदान गर्यो भन्ने स्पष्ट तथ्यांक नहुँदा आफ्नो सहयोगको मूल्यांकन नभएको अधिकांश रक्तदाताले महसुस गरेका छन्।
पचास वा सोभन्दा बढी पटक रक्तदान गरिसकेका अधिकांश रक्तदाताले भने, 'आफू कति पटकसम्म रक्तदान गर्यो, त्यसको यकिन तथ्यांक कुनै निकायसंग छैन्, त्यसमा पनि आफूले दान गरेको रगतमध्ये कति प्रयोगमा आउन सकेको हो, त्यो कुराको जानकारी आफूले पाउनुपर्छ।'
व्यवस्थित तथ्यांक नहुँदा आफैँंले नै मैले यति पटक रक्तदान गरें भन्नुपर्ने अवस्था छ, एक सय १९ पटक रक्तदान गरिसकेका चन्द्र पराजुलीले भने, 'कसले कति पटक रक्तदान गर्यो भन्ने तथ्यांक हुनुपर्छ।'
स्वयंसेवी रक्तदाताको आधिकारिक तथ्यांक सम्बन्धीत निकायसंग हुनुपर्ने उनको भनाइ छ।
नेपालमा माग भन्दा धेरै कम रगत संकलन हुँदा रगतको अभाव सधैंँ कायम छ । रक्तदान धेरै पटक गरेका व्यक्तिलाई परिचालन गरेर रक्तदाता बढाउन सकिनेमा उनले जोड दिए।
'पहिलो पटक रक्तदान गर्न आउनेलाई अलिकति गाहे छ, तर एक पटक रक्तदान गरिसकेपछि उनले पटक/पटक गर्छन्,' रक्तदाता चन्द्र पराजुलीले भने।
अर्का स्वयंसेवी रक्तदाता भानु रोशन राजभण्डारीले रक्तदाता भन्दा पनि संकलन गर्ने संस्थाले जस लिने गरेको बताए। उनले भने, 'नियमित रक्तदातालाई हौसला प्रदान गर्दा नै नयाँ/नयाँ रक्तदाता बढ्दै जान्छ।'
रक्तदान कार्यक्रम आयोजना गर्ने कतिपय संस्थाले रक्तदान सम्बन्धी न्यूनतम मापदण्डसमेत पालना गरेको पाइदैन्। चाबहिल वा कलंकीको फोहरमा समेत रक्तदान भइरहेकाले त्यो रोक्नुपर्नेमा भनाइ उनको छ । उनी भन्छन्, 'फोहर ठाउँमा रक्तदान गर्दा रगत फोहर हुने सम्भावना बढ्छ भने अर्कातिर रक्तदाताको स्वास्थ्यमा पनि असर गर्छ।'
रक्तदाताले कति पटक रक्तदान गरे भन्ने तथ्यांक नेपाल रेडक्रस सोसाइटीसंग पनि छैन् । त्यो नहुँदा अहिले व्यक्ति आफैंले यति गरें भन्दै दाबी गर्नुपर्ने अवस्था रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।
रक्तदातालाई रगतका विभिन्न जाँचमा केही सहुलियत दिनसके रक्तदाता अझै बढ्नसक्ने दाबी रक्तदाता वसन्त श्रेष्ठको छ । 'रक्तदान गर्नुपर्छ भन्ने भावना बढाउन सकिएन भने रगतको अभाव कहिल्यै हटाउन सकिँदैन,' उनले भने।
अझै पनि धेरैमा रक्तदान गर्दा असर गर्छ भन्ने भ्रम छ, त्यसलाई हटाउन गाउँगाउँ र टोलटोलमा चेतनामूलक अभियान सञ्चालन गर्नुपर्छ।
'अहिलेसम्म आफूले ५३ पटकसम्म रक्तदान गरिसकेको छु, आफूले निःशुल्क रुपमा दिएको रगत बिरामीसम्म पुग्दा शुल्क लिने गरिएको छ,' रक्तदाता राजेन्द्र सुनुवारले भने, 'बिरामीले त्यही रगत पैसा तिरेर लिनुपर्दा हामी रक्तदातालाई प्रेरित गर्दैन।'
रगत लिनेले पैसा तिर्नुपर्दा आफूलाई कहिलेकाहीँ रगत बेचेको त होइन? भन्ने लाग्ने गरेको उनले बताए। आफ्नो ठाउँमा गएर रक्तदानका लागि प्रेरित गर्न चाहे पनि सरकारले उनी जस्तो रक्तदातालाई खटाउन कुनै चासो नदेखाएको उनको भनाइ छ।
अस्पताल र रक्तसञ्चार केन्द्रमा कति रगत प्रयोग भयो र कति फर्कियो भन्ने तथ्यांक हुनु आवश्यक छ, रक्तदाता भक्त भट्टराइले भने, 'हामीले दिएको रगत कसले र कति प्रयोग ग¥यो भन्ने रक्तदाताले जान्न पाउनुपर्छ।' उनले ४३ पटक रक्तदान गरिसकेका छन्।
रगतको गुणस्तरीय परीक्षण पछि मात्रै बिरामीसम्म पुग्नुपर्छ । नेपालमा रगतको अभाव कम गर्नका लागि १८ वर्ष पुग्नासाथ रक्तदान शुरु गर्नुपर्ने भन्ने भावनाको विकास गर्नुपर्ने भनाई रक्तदाताको छ।
एउटा स्वस्थ्य व्यक्तिले तीन–तीन महिनाको अन्तरालमा रक्तदान गर्न सक्छ । रगतको शतप्रतिशत प्रयोग गरेर एक थोपा समेत खेर जान नहुने रक्तदाता बताउँछन्। रासस